२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद सकियो, काम आधा मात्रै

पश्चिम खण्डको अझै चारमहिना बाँकी, काम जम्मा २० प्रतिशत

बिस्तार भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डमा गुडिरहेका सवारी। तस्बिर: सन्तोष पोखरेल/नागरिक

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमी) सडक अहिले बिस्तार भइरहेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भइरहेको हाे।

निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो।

पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णु पाण्डेका अनुसार पूर्वी खण्डको २०२४ अप्रिल १४ मा म्याद सकिएको छ।

‘ठेकेदारले पाएको तीन वर्षे म्याद सकिएको छ। अब ६ महिना थप्नका लागि प्रक्रिया अघि बढिसकेको छ,’ पाण्डेले भने, ‘६ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ।’

कोरोना भाइरस सङ्क्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए।

पहिलो पटकका लागि समय थप हुन थालेको उनले बताए। ‘अब थपिएको समयमा काम सक्नुपर्ने हुन्छ। त्यो दबाबमा निर्माणको जिम्मा पाएको कम्पनी रहेको छ,’ उनले भने।

उनका अनुसार अहिलेसम्म जिम्मा पाएको सडकमध्ये १८ किलोमिटर चारलेन (दुई तर्फी) र ९ किलोमिटर दुई लेन (एकतर्फी) सडक कालोपत्रे भइसकेको छ। एकतर्फी तर दुई लेनको सडकमा पनि दोहोरो सवारी चल्ने उनले बताए।

अहिलेसम्मको अवस्थामा पूर्वी खण्डमा २७ किलोमिटरमा कालोपत्रे भएर सडक संचालनमा रहेको उनले बताए। ‘दुई तर्फ कालोपत्रे भएको ठाउँमा त आफ्नो लेन अनुसार सवारी गुड्छन्। एकतर्फी तर दुई लेन सडकमा पनि दोहोरो गाडी गुड्न सक्छन्,’ उनले भने। 

उनका अनुसार सबैभन्दा बढी तनहुँ सदरमुकाम दमौली आसपासको क्षेत्रमा सडक कालोपत्रे हुन बाँकी छ। त्यसपछि डुम्रे क्षेत्रमा बाँकी उनले बताए। ‘जनतालाई यात्रामा सहज हुनेरि कालोपत्रेको खण्ड बढाउने प्रयास छ। बाँकी नाला, ढल, लगायतको व्यवस्थापन पनि भइरहेको छ,’ उनले भने।

‘ठेकेदारले पाएको तीन वर्षे म्याद सकिएको छ। अब ६ महिना थप्नका लागि प्रक्रिया अघि बढिसकेको छ,’ पाण्डेले भने, ‘६ महिना समय थप्नका लागि सडक विभागमा प्रस्ताव पुगिसकेको छ।’ कोरोना भाइरस सङ्क्रमणले गर्दा तोकिएको समयमा काम नसकिएको भन्दै ठेकेदारले ६ महिना म्याद थप्नका लागि प्रस्ताव गरेको उनले बताए।

पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) का इन्जिनियर तथा सूचना अधिकारी नारायण पौडेलका अनुसार एकतर्फी (दुई लेन) को करिब ९ किलोमिटर खण्ड मात्र कालोपत्रे भएको छ। दुई लेन फराकिलो भएकोले एकतर्फी सडक भएपनि दोहोरो सवारी गुडाउन सकिने उनले बताए। ‘अहिलेसम्म एकतर्फी ९ किलोमिटरमा कालोपत्रे भएको छ। कालोपत्रेको दूरी बढाउने प्रयत्न भइरहेको छ,’ उनले भने।

उनका अनुसार २०२४ अगष्टसम्म ठेकेदारको नियमित समय बाँकी छ। त्यो भनेको अझै चार महिना समय बाँकी छ। तर, चार महिनामा बाँकी रहेको ८० प्रतिशत काम नसकिने भएपछि ठेकेदार कम्पनीले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ।

‘अहिले बाँकी रहेको नियमित चार महिना र म्याद थपिने १६ गरि २० महिना बाँकी हुनेछ। त्यही अनुसार ठेकेदार कम्पनीले निवेदन दिइसकेको छ,’ उनले भने, ‘१६ महिना म्याद थपिएको अवस्थामा ठेकेदारसँग २० महिना समय बाँकी रहनेछ।’ काम सकिन समय लाग्ने भएपछि अहिले कास्कीको लेखनाथ खण्ड समेत नभत्काएको उनले बताए।

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। तर पूर्वी खण्डको अधिकांश काम सकिएकोले यात्रा केही सहज भएको पनि सर्वसाधारणले बताउने गरेका छन्।

राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ। प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकि यो खण्डमा विद्युत् पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो।

१३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ। आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो।

त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेती नदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।

प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइर पनि यसैमा बनाइने आयोजनाले बताएका छन्। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।

आयोजनाका अनुसार आँबुखैरेनी–जामुने खण्डमा चारवटा ठुला र १४ वटा साना पुल निर्माण हुनेछन्। यही बजेटभित्र रहेर पुलको आकार पनि बिस्तार हुनेछ। ती पुल पनि सडकको आकार जत्तिकै फराकिला हुनेछन्।

पश्चिम खण्डमा पनि चारवटा ठुला र आठ वटा अरु साना पुल पर्नेछन्। विजयपुर, कोत्रे, कुम्ले र म्याग्देका पुल ठुला आकारका छन्। अरु साना पुल छन्। पोखरा–आँबुखैरेनी खण्डमा पर्ने ठुला आकारका दुई वटा पुल छन्। पोखरामा सेती नदीमाथि र दमौलीमा मादीनदी माथिको पुल ठुला आकारका पुल हुन्। यी पुल भने यो आयोजनाभित्र पर्दैनन्। त्यसैले सडक बिस्तारसँगै ती पुलका लागि अतिरिक्त रकम खर्च हुँदैछ।

अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जीर्ण भएको थियो। राजमार्गका ठाउँ ठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।

प्रकाशित: ११ वैशाख २०८१ १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App