४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमन उकासिँदै, अप्रिलमा १ लाख ११ हजार पाहुना भित्रिए

सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।

नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको वर्ष २०१९ को अप्रिलको तुलनामा यो पटक झन्डै २ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले बताएको छ। पर्यटकीय सिजन चलिरहँदा नेपालमा विदेशी पर्यटक आगमन पनि उत्साहजनक देखिएको बोर्डको भनाई छ। पछिल्लो समयमा नेपालका विदेशी पाहुनाको आगमन सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष (२०१९) को महिनालाई पनि उछिन्न थालेको बोर्डको भनाई छ।

पर्यटन बोर्डका अनुसार २०२३ को अप्रिलको आगमन संख्या ९८ हजार ७ सय ७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो अप्रिलको तुलनामा यो पटक (२०२४ अप्रिल) झन्डै १३ प्रतिशत बढी विदेशी पाहुना नेपाल भित्रिएका छन। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार २०२४ लागेदेखिका हरेक महिना नेपालमा विदेशी पर्यटक आगमन उकालो लागिरहेको छ।  

‘अहिलेको आगमन निकै नै राम्रो हो। आक्रामक रुपमा बजारीकरण गर्ने हो भने आगामि दिनमा यो संख्या निकै नै माथि पुग्नेछ,’ उनले भने, ‘पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रले पनि राहतको सास फेर्न पाएको छ।’

बोर्डका अनुसार सन् २०२२ को अप्रिलको आगमन ६१ हजार ५ सय ८९ थियो। त्यो आगमन २०२१ के अप्रिलमा २२ हजार ७ सय ३२ थियो। कोरोना भाइरस संक्रमणले थला पारेको वर्ष सन् २०२० को अप्रिलमा सबैभन्दा कम जम्मा १४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यो संख्या २०१९ को अप्रिलमा भने १ लाख ९ हजार ३ सय ९९ थियो।  

लामिछानेका अनुसार अहिले पनि नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रिय बजारमा आक्रामक बजारीकरण भएको छैन। अहिलेसम्म सामाजिक सञ्जाल र निजी क्षेत्रको पहलको भरमा आगमन भईरहेको उनले बताए। ‘सामाजिक सञ्जाल र निजी क्षेत्रको भरमा भएको आगमन पनि उत्साहजनक छ। नेपालले आक्रमक रुपमा बजारीकरण गर्ने हो भने यो संख्या ह्वात्तै माथि उक्लिन्थ्यो,’ उनले भने।  

उनका अनुसार अहिले पनि अमेरिका र भारतको बजारले नेपाली पर्यटन क्षेत्रलाई ठूलो साथ दिएको छ। कोरोना भाइरस संक्रमण सुरु भएदेखि नै भारतीय र अमेरिकी बजारले नेपाली पर्यटन क्षेत्रलाई साथ दिएको उनले बताए। ‘चिनियाँ बजार पनि उकालो त लागेको छ। चीनको अर्थतन्त्रका कारण चिनियाँ पर्यटन उत्तिसारो सोचेजति हुन सकेन,’ उनले भने।

नेपालमा सन् २०२४ को जनवरी महिनामा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संखया फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या भने १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिल महिनामा सबैभन्दा बढी विदेशी पाहुना भारतबाट आएका छन। अप्रिलमा भित्रिएका भारतीय पाहुनाको संख्या ३० हजार १ सय ५८ रहेको छ। त्यस्तै अमेरिकी पर्यटकको संख्या ९ हजार ९ सय ४७ रहेको छ।  

तेश्रो नम्बरमा रहेको चिनियाँका संख्या ९ हजार ७ सय ५० रहेको छ। अप्रिलमा नेपाल भित्रिने चौथो नम्बरमा बेलायती पर्यटकको संख्या ५ हजार ३ सय ९१ रहेको छ। पाँचौ नम्बरमा अस्ट्रेलियाका संख्या ४ हजार १ सय १० रहेको छ। अप्रिलमा नेपाल भित्रिने बंगलादेशका पाहुनाको संख्या ४ हजार ३ रहेको छ। त्यस्तै फ्रान्स, जर्मनी, रसिया मलेसियाका पर्यटकको संख्या नेपाल भित्रिने उत्कृष्ट दश मुलुकभित्र पर्ने बोर्डको भनाई छ।  

प्रकाशित: २० वैशाख २०८१ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App