१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

लगानीको लय

काठमाडौंमा आइतबारबाट सुरु द्विदिवसीय नेपाल लगानी सम्मेलनमा देखिएको सहभागिता उत्साहप्रद छ। सम्भावित विदेशी लगानीकर्ता मात्र होइन पर्यवेक्षकहरूको उत्साहलाई नेपाली राजनीतिक नेतृत्वले प्रस्तुत गरेको सुझबुझले थप उत्साहित तुल्याएको महसुस गरिएको छ। ५५ भन्दा बढी देशका दुई हजारभन्दा बढी सहभागी लगानी सम्मेलनको तत्कालीन फाइदा मात्र छैन। यसले नेपालभित्रै पनि लगानीको आवश्यकताबोध गराएको छ भने विदेशी पाहुनालाई यहाँको वातावरण भरलाग्दो रहेको सन्देश पनि गएको छ। यसकारण पनि यस्ता सम्मेलनको आयोजना बेलाबेलामा भइरहनु पर्छ। यस्ता सम्मेलनले लगानीको आवश्यकता वोध मात्र गर्दैन संसारभरि भइरहेका प्रविधि र ज्ञानका बारेमा समेत छलफल हुन्छ। यसले केही वर्षयता देश विकासका निम्ति देखिएको छटपटीमा समेत योगदान गर्छ। यसले आगामी बाटो पहिल्याउने मार्ग प्रशस्त गर्छ।

नेपालमा लगानी सम्मेलनको यो तेस्रो शृंखला हो। यसअघि २०७३ फागुन १९–२० र २०७५ चैत १५–१६ मा लगानी सम्मेलन भइसकेको छ। विगतका लगानी सम्मेलनबाट के कस्ता उपलब्धि भए भन्ने लेखाजोखा हुनुपर्छ। ती सम्मेलनले केही प्रभाव पारेनन् भन्ने होइन। वास्तवमा यसपटक देखिएको सहभागिता पछाडि ती सम्मेलनको योगदान उत्तिकै छ। पछिल्ला वर्षमा सिमेन्टलगायतका केही क्षेत्रमा आएका लगानीले त्यसको उपलब्धि मापन गर्न सजिलो भएको छ। यसै पनि प्रत्येक दुई वर्षमा लगानी सम्मेलन आयोजना गर्ने नेपालको योजना छ। बीचमा कोभिड– १९ का कारण सम्मेलनको निरन्तरतामा अवरोध भएको हो। अहिले आएर फेरि यसको सफल आयोजना भएको छ।

यसपटकको सम्मेलनमा विभिन्न आयोजना देखाउने काम मात्र भएको छैन, राजनीतिक नेतृत्वले मुलुकमा लगानीका निम्ति एउटै भाषा बोलेका छन्। लगानी बोर्डको अध्यक्षका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले सम्मेलनको अध्यक्षता गरेका छन्। सरकार मात्र होइन प्रमुख विपक्षी नेता एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समेत लगानीका निम्ति नेपाल सुरक्षित भएको सन्देश दिएका छन्। जुन मुलुकमा सत्ता र प्रतिपक्षले एकै ठाउँमा बसेर लगानीका निम्ति आव्हान गर्छन्, त्यहाँ स्वाभाविकरूपमा सकारात्मक वातावरण हुन्छ। मुलुकमा यस्तो ठूलो अभियान सञ्चालन गर्दा सबै एक ठाउँमा हुनु र लगानीका निम्ति आव्हान गर्नु निःसन्देह सुखद सन्देश हो। यसले नेपालमा लगानी र विकासका निम्ति सकारात्मक वातावरण बन्न थालेको सन्देश दिएको छ।

देशमा राजनीतिक परिवर्तन भएर मात्र पुग्दैन। त्यस्तो परिवर्तनलाई सार्थक तुल्याउन आम नागरिकको आर्थिक हैसियत बढाउनु पर्ने हुन्छ। त्यसका निम्ति लगानी ल्याउनु र विकास निर्माणका काममा सबैको एउटै धारणा हुनु उत्तिकै आवश्यक छ। त्यसैले राजनीतिक सिद्धान्तबारे जेजस्ता विमति भए पनि आर्थिक पक्षमा सबैको एउटै धारणा भयो भने स्वाभाविकरूपमा त्यसको सकारात्मक प्रभाव हुन्छ। वास्तवमा आर्थिक पक्षमा यतिबेला प्रमुख दलबीच विमति छैन। उदारवादी अर्थनीतिलाई सबैले अवलम्बन गरेका छन्। देशका निम्ति लगानी आवश्यक हुन्छ र त्यस्तो लगानी आयो भने देशमा भएको सस्तो र युवा श्रमशक्तिका कारण आर्थिक गतिविधि अगाडि बढ्छ भन्ने सबैलाई महसुस भएको छ। लगानी सम्मेलनको मुखमा सरकार परिवर्तन भए पनि यसको निर्धारित कार्यतालिका यथावत् अघि बढ्नु पनि आफैंमा यो सबैको अजेन्डा बनेको सन्देश हो।

यसै पनि दक्षिण एसियाका निम्ति आर्थिक विकासको लहर आइपुगेको छ। भारत र चीनजस्ता ठूला मुलुकले आर्थिक गतिविधिमा आफूलाई अग्रणी बनाइरहेका छन्। यी दुई मुलुकको अग्रगामी आर्थिक वृद्धिले स्वाभाविक रूपमा अन्य पश्चिमा मुलुकलाई पनि उत्साहित तुल्याएको छ। अमेरिकालगायतका मुलुकले पनि यो लगानी सम्मेलनमा उत्तिकै उत्साहपूर्वक सहभागिता जनाएका छन्। नेपालमा आफ्नो उपस्थिति यहाँको आर्थिक गतिविधिमा सरिक भएर पनि सशक्त तुल्याउन सकिन्छ भन्ने लाग्नु नै आफैंमा हाम्रा निम्ति महत्तवपूर्ण अवसर हो। आफ्नो मुलुकको हितमा सबै विदेशी शक्तिलाई ल्याउने र देशमा लगानीको वातावरण सशक्त तुल्याउने इच्छाशक्ति अहिलेको निम्ति अपरिहार्य भइसकेको छ। नेपालले समयानुकल कानुनमा परिवर्तन गर्ने र लगानी गर्ने कम्पनीलाई सहजीकरण गर्ने काम थालेको छ। मुलुकको कर्मचारीतन्त्र यस्ता कामका निम्ति अझै सकारात्मक हुन सकेको छैन। त्यसलाई अभिमुखीकरण गर्ने र लगानीको वातावरण बनाउने काम अत्यावश्यक भइसकेको छ। सरकारले त्यसतर्फ ध्यान दिनु आवश्यक छ। सबैभन्दा महत्त्वपूर्ण भनेकै नेपाल लगानीका निम्ति सहज भएको सन्देश दिनु हो। त्यस्तो वातावरण बनाउन यो सम्मेलन सफल हुनुपर्छ। 

प्रकाशित: १७ वैशाख २०८१ ०५:५७ सोमबार

Download Nagarik App
Download Nagarik App