१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

गल्ती त्रिविको,हैरानी विद्यार्थीलाई

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराएर गरेको गल्तीको हैरानी भने विद्यार्थीलाई भोग्नुपर्ने भएको छ। त्रिविको लापारबाहीका कारण तीन सय ७९ विद्यार्थीको परीक्षण भइसकेको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुबाटै गायब भएको छ। एकातिर परीक्षा दिएको एक वर्ष बित्न लाग्दा पनि नतिजा प्रकाशन नहुँदा विद्यार्थीलाई मानसिक तनाव भएकै छ। अर्कातिर दिएकै परीक्षाको पुनः परीक्षा दिनुपर्ने भएकाले थप सास्ती खेप्नुपर्ने अवस्था आएकोमा विद्यार्थी चिन्तित बनेका छन्। ‘त्रिविको गल्तीको हैरानी विद्यार्थीले किन खेप्नुपर्ने?,’ विद्यार्थीको प्रश्न छ।

गत वर्षको वैशाखमा दिएको परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दासमेत प्रकाशित हुन नसक्नु त्रिवि विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको छ भने अर्कातिर दिएको परीक्षाको उत्तरपुस्तिका हराउने त्रिविले अनि हैरानी विद्यार्थीलाई भएको छ। पनिकाबाट हराएको तीन सय ७९ विद्यार्थीको पुनः परीक्षा सञ्चालन गर्न पनिकाले कलेजहरूलाई पत्रचार गरेको छ। त्रिविले चैत्र २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गर्न बिहीबार पत्राचार गरेको हो।

गत वैशाखमा सञ्चालन भएको मानविकि तर्फको स्नातक प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य विषयका एक सय ८३ र शिक्षाशास्त्र संकायको फाउन्डेसन अफ इजुकेसन विषयको स्नातक प्रथम वर्षकै एक सय ९६ गरी कुल तीन सय ७९ विद्यार्थीको परीक्षण गरिसकेको उत्तरपुस्तिका पनिका केन्द्रीय कार्यालय बल्खुबाटै हराएको सहनियन्त्रक पवन बरालले बताए।

मुलुकको उच्च शिक्षाको ८० प्रतिशत हिस्सा ओगटेको नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयको यो पहिलो त्रुटि भने होइन। विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाएर विश्वविद्यालयप्रति आमनागरिकको विश्वास जित्नुभन्दा पनि कहिले प्रश्नपत्र निर्माणमा त्रुटि, कहिले पाठ्यक्रमसँग असम्बन्धित प्रश्नपत्र निर्माण गरेर त कहिले अघिल्लो वर्षको प्रश्नपत्र हुबहु प्रकाशन गरेर विश्वास गुमाउँदै गएको छ।

 यसैगरी, उत्तरपुस्तिका समेत साटफेर, उत्तरपुस्तिका परीक्षणमा लापारबाही, नतिजा प्रकाशन र लब्धांकपत्र दिन ढिलासुस्ती गरी लापारबाही गर्दै आएको छ। विश्वविद्यालय सुधारको संकल्प लिएर नियुक्ति पाएका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पनि त्रिविको सुधारतर्फ खासै ध्यान दिएको नदेखिएको त्रिविका प्राध्यापकहरूले नै उनको आलोचना गर्न थालेका छन्।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शोर्पाले त्रिविको लापारबाहीको सास्ती विद्यार्थीले खेप्नुपर्ने विषय नेवि संघलाई सह्य नहुने प्रतिक्रिय दिए। उनले त्रिविका पदाधिकारीले विद्यार्थीको भविष्यसँग जोडिएको उत्तरपुस्तिका हाराएर गैरजिम्मेवार काम गर्नेलाई कारबाहीको माग नेवि संघले गरेको बताए।

‘त्रिविले पटकपटक परीक्षासम्बन्धी लापरबाही गरी गैरजिम्मेवार काम गर्ने अनि त्रिविका पदाधिकारीले एउटा छानबिन समिति बनाएर झारा टार्ने काम अब नेवि संघले सहँदैन,’ अध्यक्ष शेर्पाले भने, ‘कहिले उत्तरपुस्तिका हराइदिने, कहिले प्रश्नपत्र निर्माणमा त्रुटि गर्ने कहिले उत्तरपुस्तिका साटासाटसम्मको अनैतिक काम समेत त्रिविबाटै हुँदै आएको छ। अब विद्यार्थीहरू चुप लागेर बस्नेवाला छैन। गल्ती पनिकाले गर्ने अनि एक वर्षपछि विद्यार्थीले पुनः परीक्षा दिने कुरा गलत हो। नेवि संघ यसविरुद्ध कडा आन्दोलन थाल्छ।’

परीक्षा नियन्त्रण कार्यालयबाट पटकपटक भइरहेको चरम लापारबाही, परीक्षा समीतिका  अध्यक्ष (रजिष्ट्रार) तथा परीक्षा नियन्त्रक एवं कार्यरत कर्मचारीहरूको गैरजिम्मेवारीपना, उदासीनता र ढिलासुस्ती गर्ने प्रवृत्ति तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समीरराज विष्टले माग गरेका छन्।

पनिका सह नियन्त्रक पवन बरालका अनुसार विद्यार्थीको परीक्षा सकिएपछि देशभरिकै परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलनदेखि परीक्षण सम्मको कार्यमा धेरैपटक ओसारपसार गरिने भएको र पनिकाको कार्यालय समेत साँगुरो भएकोले उत्तरपुस्तिका भण्डारण सुरक्षित हुन नसकेको हो।

 ‘उत्तरपुस्तिका परीक्षण गरी केन्द्रमा आइसकेपछि दुईवटा पोका मिसप्लेस भएको हो,’ बरालले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका संकलन र परीक्षण सम्मको काममा धेरैपटक ओसारपसार हुने गर्छ। पनिका कार्यालय पनि साँगुरो छ। पनिका अव्यवस्थित भएको कारण पनि उत्तरपुस्तिका हराएको हुनसक्छ।’

प्रकाशित: १६ चैत्र २०८० ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App