२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सिंजाका चार विद्यालयको नतिजा शून्य

जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा यहाँका चार विद्यालयबाट एक जना पनि विद्यार्थीमा उत्तीर्ण हुन सकेनन्।

गाउँपालिकाभित्रका १२ वटा सामुदायिक विद्यालयबाट २७४ विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका थिए, जसमा जम्मा ४६ विद्यार्थी मात्र उत्तीर्ण भए। चारवटा विद्यालयका कुनै पनि विद्यार्थी उत्तीर्ण नभएको सिंजा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शंकर धितालले जानकारी दिए।

नतिजा शून्य हुनेमा जनज्योति आधारभूत विद्यालय रुगा, कालिका आधारभूत विद्यालय गोरा, देउती आधारभूत विद्यालय भाडगाउँ र महादेव मावि गोठिपिँगी रहेका छन्।

दुई विषयमा अनुत्तीर्ण हुने ४७ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धिको परीक्षासमेत दिन नपाउने गरी एक विद्यालयको नतिजा शून्य भएको उनले बताए।

प्रायः जसो अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन्। गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गरेको सिंजाका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले जानकारी दिइन्।

उत्तर पुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको उनले सुनाइन्। परीक्षा चैत देखि ९ गतेसम्म सञचालन गरिएको थियो।

‘शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठुलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिंगो सामुदायिक विद्यालयको अवस्था छर्लंग पारेको छ,’ शिक्षा शाखा अधिकृत धितालले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षा प्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ।’

यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०८० ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App