२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको लर्को

११० जनाको सिटमा २४० भन्दा बढी विद्यार्थी

विद्यालय भर्नाका लागि प्रवेश परीक्षामा सहभागी विद्यार्थी। तस्बिर: हरिकृष्ण/नागरिक

बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेकी छोरी प्रपन्ना पौडेल बेनी सामुदायिक माविको प्रवेश परीक्षामा सहभागी भइन्। सदरमुकाम बेनीबजारकै निजी विद्यालयमा उत्कृष्ट विद्यार्थीभित्र पर्ने छोरीलाई कक्षा दुईमा भर्नाको प्रक्रियामा उपमेयर लामिछाने विद्यालयमा पुगिन्। उपमेयर लामिछानेजस्तै दुई सयभन्दा बढी अभिभावकले आफ्ना छोराछोरीलाई भर्ना गर्न आइतबार विद्यालयमा पुगेका थिए। बेनी नगरपालिका–७, बेनीबजारमा अवस्थित बेनी सामुदायिक विद्यालयमा हरेक वर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ। सहरदेखि गाउँमा रहेका सामुदायिक र निजी विद्यालय छोडेर आएका विद्यार्थीले आइतबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी भए।

एक सातासम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटासहितको विवरण बुझाएर प्रवेश परीक्षामा सहभागी भएका थिए। कक्षा कोठामा परीक्षा दिइरहेका विद्यार्थीका अभिभावकको विद्यालय परिसर तथा आसपासका क्षेत्रमा वार्षिक परीक्षाजस्तै गरी भिडभाड देखिन्छ।

भौतिक संरचना र मानवीय जनशक्तिको अभावले एकदेखि नौ कक्षासम्म क्षमताअनुसार एक सय १० विद्यार्थीलाई भर्ना लिन गरिएको परीक्षामा दुई सय ४० भन्दा बढी विद्यार्थीको सहभागिता रहेकोे थियो। ‘भौतिक पूर्वाधारको अभावका कारण सबै विद्यार्थीलाई भर्ना गर्न समस्या हुन्छ, प्रवेश परीक्षा रहर नभई बाध्यता हो,’ प्रधानाध्यापक दीपक श्रेष्ठले भने। विद्यालयमा म्याग्दी र पर्वत जिल्ला घर भएका विद्यार्थीहरूमध्ये अधिकांश संस्थागतबाट धेरै विद्यार्थी आउने गरेका छन्।

प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीका अभिभावकलाई समेत कमजोर पक्षबारे जानकारी गराउने र आवश्यक परेमा छोराछोरीको उत्तरपुस्तिकासमेत देखाएर सुधारका लागि अनुरोध गर्ने गरिएको छ।

भौतिक संरचना, शिक्षक दरबन्दीको अभावलगायतका कारण आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असमर्थ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाले बताए। ‘यो रहर नभई बाध्यता हो, ‘पर्याप्त संरचना र जनशक्ति भए ठुलो संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ,’ अध्यक्ष थापाले भने।

विगत डेढ दशकदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ। विद्यालयले अपांग, विपन्न परिवार, द्वन्द्वपीडितलाई कोटासमेत छुट्टाएको छ। विद्यालयको नाममा रहेका पाँच रोपनी जग्गामा करिब तीन रोपनी मात्रै प्रयोग भइरहेको छ।

सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाइ हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको अभिभावकको भनाइ छ। बेनी नगरपालिका–६ का दिनेश खत्रीले सामुदायिकभित्रको वातावरण देखेर छोरालाई भर्ना गर्न आएको बताए। उनले प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारीसमेत गरेर ल्याएको बताए।

नेपाल सरकार शिक्षा मन्त्रालयले २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषितसँगै आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले गरेको मूल्यांकनमा बेनी सामुदायिक देशभरका विद्यालयमध्ये सातौं उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको थियो।

विद्यालयमा हालसम्म देशभरबाट एक सय ६८ विद्यालयले अवलोकन भ्रमणसमेत गरेका छन्। जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुँदा गाभिने वा बन्द हुने अवस्थामा पुगेका छन्।

विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिने गरेको अवस्थामा भौतिक पूर्वाधार पर्याप्त भएमा बेनी सामुदायिकमा बर्सेनि तीन सयभन्दा बढी विद्यार्थी थपिन्छन्। बेनी सामुदायिकमा अंग्रेजी माध्यमबाट अध्ययन, अभिभावकको निगरानी, सिकाइ उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावकबीचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडानलगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुतिले समेत अभिभावकको ध्यान तान्ने गरेको छ।

प्रकाशित: १० वैशाख २०८१ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App