२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

दुईजना नक्कली परीक्षार्थी पक्राउ

परीक्षार्थी निरीक्षण गर्दै। तस्बिर : नागरिक

कालीकोटको पञ्चदेव परीक्षा केन्द्रबाट दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आजबाट सुरु भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिइरहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले कक्षा ९ र १० मा अध्ययन गर्ने तर अर्काको सट्टा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको बताए। उनले भने, ‘नाबालक भएकाले नाम भन्न मिल्दैन, तर राम्रै नेताका नातेदार हुन्’, केसी भने।

जनजीवन माध्यमिक विद्यालयबाट फाराम भरेका वर्ष ४१ का भानुप्रसाद पाण्डेको सट्टामा कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिँदै गरेका एक नाबालक र वर्ष २० का किसान शाहीको सट्टामा परीक्षा दिँदै गरेका अर्का नाबालक गरी दुईजना सट्टाका परीक्षार्थीलाई समातिएको हो।

उनीहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले शिक्षा ऐन २०२८ मा एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेकाले सोहीअनुसार हुने बताए।

अनुगमनका क्रममा केन्द्राध्यक्ष र निरीक्षकले सट्टाका परीक्षार्थी रहेकोे सूचना प्रहरीलाई गराएपछि सट्टाका परीक्षार्थी प्रहरी फन्दामा परेका हुन्।

पहिलो दिन भएकाले प्रमुख जिल्ला अधिकारी गणेश नेपाली प्रहरी प्रमुखसहित सुरक्षा निकायका सबै अनुगमनमा गएका बेला सट्टाका परीक्षार्थी फेला परेको कार्यालय प्रमुख धितालले बताए।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नाबालकलाई सट्टा परीक्षा दिन लगाउनेलाई पनि कानुनअनुसार कारबाही हुने बताए।

सुरुमा मन्त्रीका छोरा भन्ने जानकारी पाएका प्रजिअ नेपालीले पक्राउ गर्न आनाकानी गरेको आरोप छ, तर प्रहरी प्रमुखले यस्ता विषयमा गम्भीर हुनुपर्ने भनेपछि सबै सुरक्षा निकायका प्रमुख एकमत भएपछि सट्टाका परीक्षार्थी पक्राउ परेको प्रत्यक्षदर्शीले बताए। मन्त्री को हुन् भन्ने यकिन भने भएको छैन।

परीक्षा केन्द्र पञ्चदेव माध्यमिक विद्यालयका केन्द्राध्यक्ष चन्द्रप्रसाद कोइरालाले प्रवेशपत्रमा समेत सट्टाको विद्यार्थीको तस्बिर टाँस गरेको र प्रअले नै फोटोमा हस्ताक्षर गरेको हुँदा निगरानी गर्न समस्या भएको बताए। लाइनमा निगरानी गर्दा ६० थान मोबाइल खोसिएको बताए।

जनजीवन माध्यमिक विद्यालयका प्रअ तेजबहादुर शाहीले तस्बिरमा हस्ताक्षर हुने र तपार्इं पत्रकारसँग के प्रमाण छ भनेर जवाफ माग गरे। तर पछि आफूले नक्कली परीक्षार्थीको तस्बिरमा हस्ताक्षर नगरेको दाबी गरे।

आफ्नो कसैले हस्ताक्षर गरिदिएको हुन सक्ने उनको भनाइ छ। यसअघि सम्पन्न भएको एसईई परीक्षामा पनि दुईजना सट्टाका विद्यार्थी पक्राउ परेका थिए। परीक्षा केन्द्रमा मोबाइलको धेरै प्रयोग भएको पाइएको छ।

अहिले पनि कालीकोटको परीक्षा प्रणालीमा सुधार हुन सकेको छैन। शैक्षिक क्षेत्र सुधारका लागि सबैभन्दा अभिभावकले सोच्नुपर्ने स्थानीयको भनाइ छ।

प्रकाशित: १४ वैशाख २०८१ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App