७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

विदेशी पाठ्यक्रम पढाउने दुई विद्यालयलाई सोधियो स्पष्टीकरण

पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयहरूको अनुगमन गरेको छ।

समितिले भक्तपुर, ललितपुर र काठमाडौंका २० निजी विद्यालयहरूमा विद्यालयले लिने गरेको शुल्क, उपलब्ध गराउने छात्रवृत्ति ,पढाउने पाठ्यक्रम, कक्षाकोठामा प्रयोग गरिएका सामग्री लगायतका विषयमा अनुगमन गरेको थियो।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा निजी विद्यालयहरूले विना स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरिरहेको गुनासोको आधारमा समितिले अनुगमन गरेको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले जनाएको छ।

अनुगमन गरिएकामध्ये दुई स्कुललाई तत्कालै स्पष्टीकरण सोध्नु पर्ने देखिएकोले स्पष्टीकरण सोधिएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए।

उनले अनुगमनका क्रममा ललितपुरमा रहेको रातोबंगला र भक्तपुरमा रहेको काठमाडौं वर्ल्ड स्कुलले नेपाल सरकारको स्वीकृति विना नै विद्यालय तहमै बालबालिकालाई क्यम्ब्रिज र आइबी फ्रेमवर्कमा पाठ्यपुस्तक प्रयोग गरेको पाइएकोले ती दुवै स्कुललाई स्पष्टीकरण सोधिएको जनाए।

‘स्पष्टीकरण सोधिएको रातोबंगला र काठमाडौं वर्ल्ड स्कुलले विदेशी पाठ्यक्रम पढाउने अनुमति नलिएर विद्यालय तहमा पठनपाठन गराइरहेको अनुगमनमा पाइयो,’ महानिर्देशक अर्यालले नागरिक न्युजसँग भने, ‘पाठ्यक्रमले ती स्कुलहरुलाई के कारण र कसको स्वीकृतिमा विदेशी पाठ्यक्रम पढाइरहेकोबारे तीन दिनभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो। नेपालमा सञ्चालित विद्यालयहरूले पाठ्यक्रमको आधारमा स्वीकृति लिएर मात्र कक्षाकोठामा पठनपाठन गराउनु पर्ने कानुनी व्यवस्था छ। यति मात्र होइन, कतिपय स्कुलमा सरकारी स्वीकृति वेगरको पाठ्यपुस्तक समेत पढाउने गरेको पाइएको छ।’

पाठ्यक्रमका निर्देशक एवं अनुगमनमा संलग्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी निर्देशक सविता दंगालका अनुसार कतिपय निजी विद्यालयहरूले सरकारले स्वीकृत नगरेको पाठ्यपुस्तक समेत पढाउने गरेको पाइएको बताइन्।

निजी विद्यालयहरूले सन्दर्भ सामग्रीको रुपमा सरकारले स्वीकृत नगरेको पुस्तक समेत प्रयोग गरेको पाइएकोले समितिले प्रतिवेदन तयार गरि कारबाहीको लागि सिफारिस गर्ने तयारी गरेको उनको भनाइ छ।

‘धेरै निजी विद्यालयहरूले अङ्ग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिज र अक्सफोर्डका सरकारले स्वीकृति नै नदिएको प्रकाशनहरुको पुस्तकहरु नै पाठ्यपुस्तकको रुपमा समेत कक्षाकोठामा पढाइरहेको पाइयो, ’निर्देशक दंगालले अनुगमनमा देखिएको विषयवस्तु बताइन्,‘स्थानीय पालिकाले पनि यता तिर ध्यान नदिएको देखिन्छ। विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पढाउनु पर्छ। तर निजी विद्यालय मनोमानी रुपमा पाठ्यपुस्तक पढाउँदै आएको देखिन्छ।’

उनले थपिन्,‘तीन वर्षको स्वीकृति लिएर समयावधि सकिएका प्रकाशन गृहहरूको समेत पुस्तकहरू विद्यालयले सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरेको पाइएको छ। समितिले गलत पाइएका विद्यालयहरूको कारबाहीको सिफारिस सहितको प्रतिवेदन तयार गरिरहेको छ। कसुरको मात्रा अनुसार कारबाही हुन्छ।’

उनका अनुसार निजी विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति समेत समस्या देखिएको छ। लक्षित विद्यार्थी भन्दा पनि भनसुनकै आधारमा अधिकांश निजी विद्यालयले छात्रवृत्ति उपलब्ध गराउने गरेको देखिएको छ।‘

अनुगमनमा पाइएको निजी विद्यालयहरूले गर्ने गरेका विभिन्न किसिमको बदमासीबारे समितिले सूचना संकलन गरिसकेको छ,’ निर्देशक दंगालले नागरिक न्युजसँग भनिन् ‘कक्षा ११ र १२ को लागि विदेशी पाठ्यक्रम सञ्चालनको स्वीकृति लिने तर कक्षा १ देखि १० सम्ममै विना स्वीकृति पठनपाठन गराइरहेको बदमासी फेला पर्‍यो।‘

रातोबंगला स्कुलकी संस्थापक शान्ता दीक्षितले स्कुलले विद्यालय तहमा सन्दर्भ सामग्रीको रुपमा क्याम्ब्रिजको पाठ्यपुस्तक पढाउँदै आएको तर स्वीकृति लिनु पर्ने थाहा नभएकोले हालसम्म नलिएको स्पष्ट पारिन्।

‘स्कुलले विद्यालय तहमा नेपाल सरकारकै पाठ्यक्रम चलाएको छ। तर स्कुललले भाषा सिकाउने उद्देश्यले सन्दर्भ सामग्रीको रुपमा क्याम्ब्रिजको पाठ्यपुस्तक चलाउँदै आएको हाे,’ संस्थापक दिक्षितले नागरिक न्युजसँग भनिन् ‘सन्दर्भ सामग्रीको अनुमति लिनु पर्ने रहेछ। थाह थिएन। अबदेखि अनुमति लिएर चलाउने छौं भन्ने स्पष्टीकरणको जवाफ पाठ्यक्रमलाई लेखि पठायौं।’

स्कुलले अनुमति लिने प्रक्रिया सुरु गरेको उनकाे भनाइ छ।

प्रकाशित: २७ वैशाख २०८१ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App