१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

६ महिना भित्रमा स्वास्थ्यमा दबरन्दी थप हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरी स्वास्थ्यकर्मी र डाक्टर अभाव अस्पतालमा हुन नदिने बताएका छन्।

शनिबार बागलुङ नगरपालिकाले आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान तथा धौलागिरि अस्पताल बागलुङलाई डायलाइसिस मेसिन हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी थप नभएका कारण देशैभरीका अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर र स्वास्थ्यकर्मीको अभाव रहेको बताए।

‘म २०५८ सालमा स्वास्थ्यमन्त्री बनेको थिएँ, त्यतिबेला ३१ हजार दरबन्दी थियो,’उनले भने,‘अहिले त झन् घटेर २९ हजार भएको रहेछ। दरबन्दी नहुँदा जनशक्ति अभावको समस्या सबैतिर अस्पताल र स्वास्थ्य संस्थाहरुमा छ। अब ६ महिना भित्र दरबन्दी थप गर्नका लागि आवश्यक पूर्व तयारी सक्छौं र जनशक्ति पूर्तिको काम गर्छौं।’ उनले अर्थमन्त्रालयबाट स्वीकृत लिएर अस्थायी दरबन्दी सिर्जना गर्ने काममा लागेको बताए। 

‘स्वास्थ्यको बजेट एकदमै कटौती गरेको छ, मैले बारम्बार अर्थमन्त्री, सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर स्वास्थ्य क्षेत्रमा दरबन्दी नहुँदा एकदमै बेहाल छ, यो दरबन्दी थप गर्नैपर्छ भनेपछि थप हुने प्रक्रियामा छ,’ उनले भने,‘हामीले त्यसबाट जनशक्ति अभाव भएका ठाउँहरुमा पठाउँछौं।’

उनले केही स्वास्थ्य सामग्री र उपकरणहरु खदिरको प्रक्रियामा गएकाले आवश्यकता हेरेर उपलब्ध गराउने बताए। ‘आवश्यकता त धेरै छन्, हामीले स्वास्थ्य सामग्री र उपकरणहरु खरिदका लागि टेन्डर प्रक्रियामा पनि गएको छ,’ उनले भने,‘मागे जति सबै त पु¥याउन सकिन्न। आवश्यकता हेरेर केही सामानहरु बागलुङमा पनि आउनेछ।’ अहिले स्वास्थ्य मन्त्रालयले ठूला उपकरणहरु किन्न भने रोकेको उनले बताए। ‘कमिसनका लागि ठूला उपकरणहरु किन्ने, नयाँ लैजाने पुरानो प्रयोग बिहीन बनाउने चलन बढेको छ,’उनले भने,‘अहिले त्यसलाई हामीले रोकेका छौं। माग र आवश्यकताको आधारमा खरिद हुन्छ।’

उनले धौलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेजको रुपमा अगाडि बढाउन सकिने भन्दै त्यस भन्दा अगाडि अस्पताल बलियो हुनुपर्नेमा जोड दिए। ‘धौलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज बनाउन सकिन्छ तर त्यो भन्दा अगाडि अस्पताल बलियो हुनुपर्छ,’मन्त्री बस्नेतलले भने,‘डाक्टरका लागि बिरामी र बिरामीका लागि डाक्टर हुनुपर्छ।’ उनले अहिलेको चिकित्सा शिक्षा ऐन पनि परिवर्तनका लागि मन्त्रालयले काम गरिरहेको बताए।

प्रकाशित: ४ कार्तिक २०८० ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App