२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

शिशु जन्माएको साढे एक घन्टापछि आमाको मृत्यु

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका– ७ रोडिकोटमा शिशु जन्माएको केही समयपछि सुत्केरीको मृत्यु भएको छ।

स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रीता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।

देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घन्टापछि मृत्यु भएको हो। मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पु¥याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टीका बोहराले बताए।  

इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो। 

रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागिपरेपछि रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए। उनले भने, ‘बच्चा जन्माउनुअगाडि रगत बग्ने समस्या थियो। बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो।’

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ। गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा नउठेको उनको भनाइ छ।

यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए, दुर्भाग्यवस आमाको मृत्यु भयो। यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ।  

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी  छन्। दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ।

प्रकाशित: १० वैशाख २०८१ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App