२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

भारतबाट आउनेले फैलाए औलो

धेरैको मनमा नेपालबाट औलो उन्मुलन भइसक्यो, अब औलो लाग्दैन भन्ने सोच छ। यही सोचका कारण न हामी सधैं झुल प्रयोग गर्छौं न अस्पतालले औलो परीक्षण नै गर्छन्। यी दुवै काम रोकिएपछि पछिल्लो समय मुलुकका औलोको जोखिम बढ्दै गएको विज्ञहरूले बताएका छन्। बिहीबार विश्व औलो दिवसका अवसरमा उनीहरूले सबै नेपाली अहिले पनि औलोको जोखिममा रहेको बताए।

विशेषगरी खुला सिमानाका कारण दैनिक भारत आवात–जावात गर्नेहरू औलो संक्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा संक्रमण फैलिने जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताए।

 उनका अनुसार भारतको महाराष्ट्र र गुजरातबाट नेपाल आउनेहरूमा बढी मात्रामा औलो संक्रमण पाइएकोे छ। आर्थिक वर्ष २०८०/८१ मा पहिचान भएका पाँच सय ७४ जना संक्रमितमध्ये पाँच सय ५६ जना अन्य मुलुकबाट आउनेमा संक्रमण छ। बाँकी १८ जना स्थानीय औलाका बिरामी छन्।

सन् २०२३ को तथ्यांकअनुसार नेपालमा ६ सय ६५ जना औलो संक्रमितमध्ये पाँच सय १९ जना भारतबाट मात्र आएका थिए। महाराष्ट्रबाट आउनेमा दुई सय ८८ जना, गुजरातबाट आउने एक सय ३८ जना र उत्तर प्रदेशबाट आउने ३८ जनामा औलो संक्रमण पाइएको छ। २०७९/८० मा पाँच सय आयतित र २३ जना स्थानीय संक्रमित थिए।

पछिल्लो वर्षको तथ्यांकअनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा औलो संक्रमित देखिएका छन्। आर्थिक वर्ष २०७९/८१ मा यस प्रदेशमा दुई सय ३०, सुदूरपश्चिममा एक सय ७१, मधेसमा ७२, बागमतीमा ४१ कर्णालीमा २८ र गण्डकीमा १९ जनामा संक्रमण पुष्टि भएको छ।

खुला सीमानाको कारण भारतबाट आउने–जाने क्रममा संक्रमित हुने र संक्रमित व्यक्ति विभिन्न जिल्लामा पुगेपछि मात्र लक्षण देखापर्ने कारण स्थानीय तहमा अरू संक्रमित हुने गरेको चिकित्सकहरूको दाबी छ।

कसरी सर्छ औलो?

एनोफिलिज नामको पोथी लामखुट्टेले संंक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोकेमा औलो सर्छ। औलो संक्रमण भएपछि दिन बिराएर या दैनिक काम ज्वरो आउने, पसिना आउने, वान्ता आउने, कडा टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। यसको समयमै उपचार नभएमा बिरामीको मृत्युसमेत हुन्छ।

२० वर्ष पहिला बर्सेनि हजारौंको संख्यामा नेपालमा औलोको कारणले मृत्यु हुन्थ्यो भने पछिल्लो समय मृत्यु हुने क्रम कम भइसकेको छ। समयमै उपचार हुन नसकेपछि सन्  २०२१ मा कञ्चपुरमा र सन् २०२३ मा स्याङ्जामा आयतित औलोको कारण मृत्यु  भएको थियो।

नेपालका सबै जिल्लामा औलो सार्ने लामखुट्टेको प्र्रजाति रहेकाले सबैजसो जिल्ला जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

‘धेरैजसो जिल्लामा यो लामखुट्टेको प्रजाति छ, बाहिर गएर आउने संक्रमितलाई यो लामखुट्टेले टोक्यो भने स्वतः औलो फैलिन्छ,’ उनले भने। आयातित औलोकै कारणले नेपालमा औलो निवारण हुन नसकेकेको चिकित्सकहरूले बताए। ‘सन् २०२५ भित्रै नेपालमा स्थानीय औलो संक्रमण शून्य र औलोले हुने मृत्यु शून्य बनाउने योजना हो सफल भएनौं,’ महाशाखाका निर्देशक डा. मरासिनीले भने।

अर्को वर्षको लक्ष्य पूरा नभएपछि नेपालले सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ। भारतमा निवारण भएमा मात्र नेपालमा यसको निवारण सम्भव देखिएको चिकित्सकहरूले बताएका छन्। तर, स्थानीय औलोलाई शून्यमा पुर्‍याउने लक्ष्य भने सम्भव भएको डा. दाहाल बताउँछन्।

खुला सिमानाबाट नेपाल आउने सबैको परीक्षण हुन नसक्नु, स्वास्थ्यकर्मीले औलो परीक्षणको सट्टा अन्य उपचारतिर लाग्नु र निजी स्वास्थ्य संस्थाबाट संक्रमितको रिपोर्टिङ प्रक्रियामा नहुने, प्रभावित क्षेत्रमा झुल वितरण अपुग हुनु जस्ता कारण औलो निवारण अहिले पनि चुनौतीको विषय बनेको महाशाखाले जनाएको छ।

सरकारले भारतसँगको १६ वटा सीमानाकामा परीक्षण गर्ने, प्रभावित ठाउँमा औषधि छर्किने तथा झुल वितरण गर्ने र जनचेतनामूलक अभियान जारी राखेको भए पनि त्यो पनि बजेटको कमीले अपर्याप्त भएको महाशाखाले जनाएको छ।

लामखुट्टको टोकाइबाट सर्ने भएकोले हरेक व्यक्ति लामखुट्टेको टोकाइबाट बच्ने, सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर सफा राख्ने, लामखुट्टेविरुद्धको मलम शरीरमा दल्ने जस्ता उपाय अपाउन चिकित्सकले सुझाएका छन्।

प्रकाशित: १४ वैशाख २०८१ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App