४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पतालभर प्रदूषणका बिरामी

श्वासप्रश्वास, छाला, आँखाका बिरामी ह्वात्तै बढे

फाइल तस्वीर

करिब तीन सातायता फैलिएको प्रदूषणका कारण श्वासप्रश्वास प्रणाली, आँखा तथा छालामा एलर्जीको समस्या बढेको पाइएको छ। प्रदूषण्का कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि धेरै बिरामी उपचारका लागि पुगेको अस्पतालहरूले जानकारी दिएका छन्। उनीहरूमा ज्वरो आउने, श्वास फेर्न गाह्राे हुने, घाँटी चिलाउने, छालामा एलर्जी हुने, आँखा पिरो हुने, चिलाउने र पोल्नेलगायत समस्या देखिएको अस्पतालहरूले जनाएका छन्।

वीर अस्पतालको मेडिसिन विभागका अनुसार प्रदूषणसँगै बनेको दूषित वातवरणका कारण पेटमा अप्रत्यक्ष असर परेको छ। भोजभतेरमा खुला राखिएको खाना खाएर बिरामी परेकाहरू पनि अस्पताल आइरहेका छन्। उनीहरूमा बान्ता हुने, अपच हुने, पखाला लाग्ने समस्या भएर पनि बिरामी आएका छन्।

‘खुला राखिएका खानामा धुलो र फोहोर परेर पनि बिरामी भइरहेको देखिन्छ,’ वीर अस्पताल मेडिसिन विभागका प्रमुख डा. धु्रव गैरेले भने। उनका अनुसार दुई सातायता प्रदूषणले प्रभावित बिरामी आउने क्रम बढेको छ। हाल यो अस्पतालमा दैनिक आउने बिरामीमध्ये प्रदूषणले प्रभावितहरू  १२ प्रतिशत रहेको उनको भनाइ छ।

टिचिङ अस्पताल महाराजगन्जका अनुसार मेडिकल वार्डमा १५ प्रतिशत प्रदूषणले प्रभावित बिरामी मात्र भर्ना भएका छन्। बहिरंग विभागमा उपचार गराएर फर्किनेको संख्या पनि उत्तिकै संख्यामा रहेको अस्पतालका मेडिसिन विभागका डा. सन्तकुमार दासले बताए। यो विभागमा दैनिक ३५० जना बिरामी उपचारका लागि पुग्छन्।

‘दमका बिरामीलाई औषधि बढाउनुपर्ने भएको छ। ब्रोङ्केल आज्माका बिरामीको रोग पनि बल्झेको छ। यसको मुख्य कारण प्रदूषण नै हो,’ डा. दासले भने।

सिभिल अस्पतालका छातीरोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार केही सातायता श्वासप्रश्वासका धेरै बिरामी उपचारका लागि अस्पताल पुगेका छन्। यकिन तथ्यांक नभए पनि उनीहरू प्रद्षणले असर पारेकाहरू रहेको उनको भनाइ छ।

चिकित्सकका अनुसार प्रदुूषणले तत्काल र दीर्घकालीन असर पर्छ। प्रदूषणको सम्पर्कमा लामो समय रहने व्यक्तिमा पछि गएर धूमपानले जत्तिकै फोक्सोमा कडा असर हु्न्छ। ‘चुरोट नपिए पनि दम हुन्छ, धेरै भए क्यान्सर पनि हुन्छ,’ डा. विष्टले भने।

डा. दासका अनुसार अहिले उपत्यकालगायत देशका अन्य भागमा देखिएको प्रदूषण विश्वमै बढी तहको छ। यो प्रदूषण धेरै दिनदेखि रहेकाले तत्काल र कालान्तरमा स्वास्थ्यमा जटिल समस्या उत्पन्न गर्ने स्तरको रहेको उनी बताउँछन्।

सुक्खा याममा देशका विभिन्न भागमा लागेको डढेलो, कृषिजन्य आगो, इँटाभट्टा र यातायातबाट निस्केको धुवाँका कण ससाना छन् भने निर्माण कार्यबाट निस्केको धुलोका कणहरू केही ठुला छन्। अहिलेको प्रदूषणबाट निस्केका धुलोका कण हावामा तैरिने साना र ठुला आकारका छन्। त्यस्ता कण २.५ पिएम र २.८ पिएमका छन्।

यी दुईमध्ये २.५ पिएमको प्रदूषणको कण सिधै फोक्सोमा पुग्छ भने २.८ पिएमको कण नाकबाट भित्र पुग्न सक्दैन। यसबाट नाक पोल्ने र चिलाउने समस्या हुन्छ। तर सबैभन्दा सानो २.५ पिएमको कण फोक्सोमा पुगेपछि श्वासप्रश्वासमा असर गरी दम, ब्रोंकेल आज्माका बिरामीमा जटिलता ल्याउँछ।

यसबाहेक छालामा एलर्जी हुने तथा आँखा पोल्ने, चिलाउने, रातो हुने, सुक्खा हुनेजस्ता समस्या देखिएका छन्। मेडिसिन विभागमा पुगेका यस्ता बिरामीलाई भने आँखा अस्पताल रेफर गर्ने गरेको चिकित्सकले जानकारी दिए। ‘अरू उपचार सबै गर्छौं। आँखामा समस्या छ भने आँखा विभागमै रेफर गर्छौं,’ वीर अस्पतालका डा. गैरेले भने।

बिपी कोइराला नेत्र विज्ञान प्रतिष्ठानकी नेत्र विशेषज्ञ डा. रञ्जु सिटौलाका अनुसार केही सातादेखि यो अस्पतालमा आँखाका एलर्जीका बिरामी ह्वात्तै बढेका छन्। प्रदूषण बढेसँगै यो अस्पतालमा ३० प्रतिशत प्रदूषणसँग सम्बन्धित बिरामी छन्।

यो अस्पतालमा दैनिक चार सय जना बिरामी उपचारका लागि पुग्छन्। दैनिक औसत ७० देखि ८० जना प्रदूषणसँग सम्बन्धित आँखाका बिरामी उपचारमा आउने गरेको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले जनाएको छ।

अस्पतालका निर्देशक डा. कमलबहादुर खड्काले कतिपयमा आँखा खोल्नै मन नलाग्ने समस्या देखिएका बिरामी दिनहुँ बढिरहेको बताए। आँखामा कुनै पनि समस्या आए आफूखुसी औषधि प्रयोग नगरी चिकित्सकको सल्लाह लिन उनले सुझाए।

उच्च तहको प्रदूषण भएकाले यसको असरबाट बच्न नसकिने भए पनि कम गर्न सकिने चिकित्सकहरू बताउँछन्। यसका लागि विभिन्न उपाय अनपाउन चिकित्सकहरू सुझाउँछन्।

प्रकाशित: १८ वैशाख २०८१ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App