२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अनुमति नपाएका पोलिक्लिनिकमा शल्यक्रिया,सुत्केरीकाे मृत्यु भए लेनदेनमै सामसुम

उजुरी फिर्ता गर्न लगाइयाे

अनुमति नै नपाई सुत्केरी महिलाहरुको शल्यक्रिया गर्दै आएको मलंगवा नगरपालिका–९ स्थित अमत्र्य पोलिक्लिनिक । तस्बिर : टंक/नागरिक

शल्यक्रियाको अनुमति नै नपाएको सर्लाही सदरमुकाम मलंगवास्थित अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउँदा यसअघि पनि दुईजना महिलाको मृत्यु भएको रहस्य खुलेको छ। उक्त पोलिक्लिनिकसहित अनुमति नै नपाएका जिल्लास्थित विभिन्न निजी स्वास्थ्य संस्थाहरुमा थुप्रै आमाले ज्यान गुमाएकाे हुनसक्ने जानकारहरू बताउँछन्।

मलंगवा नगरपालिका–९ स्थित डा. सुरेन्द्रकुमार यादवको उक्त पोलिक्लिनिकमा २०७६ बैशाख ६ गते शल्यक्रियामार्फत सुत्केरी गराउँदा सुगन्धी देवीको मृत्यु भएको हो। बरहथवा नगरपालिका–१८, श्रीपुर माईती भई कविलासी नगरपालिका–३, विनंग्रा घर भएकी सुगन्धी देवीको शल्यक्रिया मार्फत सुत्केरी गराउँदा छोरीको जन्म भयो, तर उनको प्राण भने बाँकी रहेन। सुगन्धी देवीकी डेढ वर्षीया छोरी करुणालाई विनंग्रास्थित घरमै हजुरआमा नगिना देवीले हुकाइरहेकी छिन्।  

‘सुत्केरी गराउने क्रममा सुरेन्द्र डाक्टरसाबकोमा अप्रेशन गर्दा बुहारीको मृत्यु भइहाल्यो, बढो गारोसँग नातिनीलाई हुकाईरहेकी छु’, नागरिकसँग नगिना देवीले भनिन्, ‘गलत ठाउँमा अप्रेशन गर्न लैजाँदा बुहारीको अकालमा मृत्यु भयो।’  

मुद्धा हाल्छु भनेपछि डा. सुरेन्द्रकुमार यादवले त्यतिखेरै पीडित परिवारलाई तीन लाख रुपैयाँ समेत दिएका थिए। हाल उक्त रकम डेढ वर्षीया करुणाको नाममा उनका बुबा संजिव यादव र मृतक सुगन्धीदेवीका बुबा भुपनारायण राय संरक्षक रहने गरी बैंक खातामा राखिएको छ। सुगन्धी देवीका बुबा भूपनारायण राय पनि उक्त पोलिक्लिकिका डा. सुरेन्द्रकुमार यादवको लापरबाहीले छोरीको मृत्यु भएको भन्दै आक्रोशित छन्।

शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएको केहीबेर पछि नै सुगन्धि देवीको मृत्यु भएको उनकी सासु नगिना देवीले जानकारी बताइन्। ‘अप्रेसन गरेको केही समयपछि नै उनको मृत्यु भएको हो, तर डा. साहेब लगायत त्यहाँका कर्मचारीले तुरुन्त वीरगंज लगिहाल्नोस् भन्दै एम्बुलेन्समा चढाईदिए’, नगिना देवीले भनिन्, ‘त्यहाँ पु-याउने वित्तिकै डाक्टरले मृत्यु भइसकेको भने।’

त्यस्तै बरहथवा नगरपालिका–१८, श्रीपुर नै घर र माईती भएकी करिब ३२ वर्षीया लालपरी देवीको पनि सोही पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा मृत्यु भएको उनकी आमा सुगावती देवीले गुनासो गरिन्। २०७५ साल भदौ २९ गते शल्यक्रिया मार्फत दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी लालपरी देवीको त्यसपछि पिसाब नै नरोकिएको उनकी आमा सुगावती देवीको कथन छ। सुगावती देवीले भनिन्, ‘काठमाडौंसम्म लगेर उपचार गराउँदा पनि ठीक भएन अन्तमा छोरीको मृत्यु भयो।’ सुत्केरी गराउने क्रममा शल्यक्रिया गर्दा लालपरी देवीको पिसाब नली काटिएको सुगावती देवीको दाबी छ।

आगामी भदौ २९ गते दुई वर्ष पुग्ने लालपरी देवीकी छोरी नन्दनीलाई मावली हजुरआमा सुगावती देवीले नै हुकाईरहेकी छिन्। लालपरीका जेठो सन्तान एक छोरा भने उनका श्रीमान रामविनय यादवसँगै छन्। काठमाडौंमा लामो समयसम्म उपचार गराउने लगायतमा फसेका कारण आफूहरुले क्षतिपूर्तिका बारेमा सोच्नै नपाएको सुगावती देवीले बताइन्।

उक्त पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा पछिल्लो पटक मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीकोे मृत्यु भएको छ। २०७६ भदौ १२ गते शुक्रबार शल्यक्रिया मार्फत सुत्केरी गराउँदा पहिलो सन्तानको रुपमा छोरा जन्माएकी सविताको भदौ १६ गते मंगलबार बिहान मृत्यु भएको हो। बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र आफन्तहरु टाठाबाठा नभएकाले पीडित परिवारले मृतकको दाहसंस्कार गरिसकेपछि मात्र घटनाबारे ढिलागरी जानकारी भएको थियो।  

उक्त पोलिक्लिनकले भने रगत अभावमा बिरामीको अवस्था जटिल बन्दै गएपछि जनकपुर रेफर गरिएको र सबिताको बाटैमा मृत्यु भएको दाबी गरेको छ। यता प्रमोदकी दिदी दुलारी देवी भने शल्यक्रिया गरेकै अस्पतालमा सबिताको मृत्यु भएको दाबी गर्छिन्। ‘मंगलबार बिहान ३ बजेतिर लौ तत्काल जनकपुर लैजानोस् भन्दै उनीहरुले नै एम्बुलेन्स खोजेर ठिक पारिसकेका रहेछन्, एम्बुलेन्स चालक र अस्पतालका कर्मचारी मिलेर सबितालाई एम्बुलेन्समा राख्दा नै उनको मृत्यु भईसकेको थियो’, दुलारी देवीले भनिन्, ‘चाँडो लेर गईहाल्नोस् भन्दै जबर्जस्ती पठाए, एम्बुलेन्समा हामी तीनजना थियौँं, लक्ष्मिपुर पुग्दा नपुग्दै एम्बुलेन्सका चालकले सबिताको मृत्यु भईसकेको भन्दै घर फर्काउन पो भने, अनि हामीले डाक्टरलाई नदेखाई त घर फर्कदैंनौ भनेपछि एम्बुलेन्स चालकले नै त्यतैतिरको डाक्टरसाबलाई देखाउन लगाउँदा मृत्यु भईसकेको भनियो।’ 

सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा १७ किलोमिटर उत्तर लक्ष्मिपुर पुग्दा नपुग्दै एम्बुलेन्स चालकले नै ‘बिरामीको मृत्यु भईसक्यो, अब घर फर्कौं’ भन्नुले सबिताको पोलिक्लिनिकमै मृत्यु भईसकेको भन्ने आफन्तको भनाईमा सत्यता देखिन्छ। पोलिक्लिनिकमै मृत्यु भएको देखाउँदा समस्या आईपर्ने देखेर हतार हतार सबितालाई जनकपुर रेफर गरिएको आफन्तको आरोप छ।

रगत अभावका कारण बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबार बिहान आफूले जनकपुर रेफर गरेको सो पोलिक्लिनिकका सञ्चालक समेत रहेका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. सुरेन्द्र यादवले जानकारी दिए। ‘म गरिब मान्छे बाहिर लान सक्दिन भनेर सविताका श्रीमान तथा आफन्तले रोईकराई गरेपछि मैले बिरामीमा रगतको कमी देखिन्छ त्यसैले रगतको व्यवस्था गर्न सक्नुहुन्छ भने मात्र शल्यक्रिया गर्छु भन्दा उहाँहरुले जसरी पनि गर्छौं भनेर प्रतिबद्धता जनाएकाले मात्र भर्ना गरेको थिएँ’, डा. यादवले भने, ‘शल्यक्रिया गरेको चार दिनसम्म पनि सविताका आफन्तले रगतको व्यवस्था गर्न नसक्दा बिरामीको अवस्था नाजुक हुँदै गएकाले मैले तत्काल जनकपुर लैजानु भनेर मंगलबार बिहान रेफर गरेको थिएँ, एम्बुलेन्समा लैजाँदै गर्दा बाटैमा मृत्यु भएछ।’  

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत मुमताज मिकरानीले अमत्र्य पोलिक्लिनिकलाई शल्यक्रिया गर्ने अनुमति नरहेकोले गैरकानूनी कार्य भएको बताए। हाल नयाँ कानून अनुसार पोलिक्लिनिकको अनुगमन, नियमन लगायत कार्य स्थानीय सरकारको मातहतमा गएकाले पछिल्लो समय आफूहरुलाई केही थाहा नभएको जानकारी दिए। ‘पहिला त मैले पटक–पटक त्यो पोलिक्लिनिकका सञ्चालक डाक्टर साहेबलाई शल्यक्रिया गर्ने गरेको भन्ने सुनिएको छ, त्यस्तो गर्न पाईंदैन है भनेको थिएँ’, मिकरानीले भने, ‘तरपनि सुनेको नसुन्यै शल्यक्रिया भईरहेको रहेछ।’

यता डा. यादवले पनि आफूले शल्यक्रिया गरेर गल्ती गरेको स्वीकार गरेका छन्। ‘प्रचलित कानून अनुसार त पोलिक्लिनिकमा शल्यक्रिया गर्न पाईँदैन’, डा. यादवले भने, ‘म आफू स्किल म्यानपावर भएको र एनेस्थिया सहायक समेत राखेकाले बिरामीका आफन्तले हारगुहार गरेपछि बाध्य भएर अप्रेशन गर्दै आएको छु।’

मंगलबार दिउँसो आफन्तले सबिताको दाहसंस्कार समेत गरिसकेका छन्। हाल श्रीमान प्रमोद परम्परा अनुसार पत्नीको काजकिरियामा बसिरहेका छन्। नवजात शिशुलाई दुलारी देवी लगायत आफन्तले किनेको दूध खुवाएर हुकाईरहेका छन्।

दुई लाखमा घटना सामसुम पार्ने कसरत

मृतक सविताका श्रीमान प्रमोदकी दिदी दुलारी देवीले गत शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समक्ष अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया गर्दा बुहारीको मृत्यु भएकाले घटनाबारे छानविन तथा उचित क्षतिपूर्ति मागसहित ठाडो उजुरी दिएकी छिन्। पहुँच र आर्थिक अवस्थाका हिसाबले अत्यन्त कमजोर रहेकाले पीडित पक्षले डराई डराई उजुरी दिएको थियो। तर आइतबार दिउँसो उक्त उजुरी फिर्ता लिन लगाइएको छ।  

प्रजिअ पौडेलले उक्त पोलिक्लिनिकविरुद्ध क्षतिपूर्ति माग्दै शुक्रबार मृतकका श्रीमानकी दिदीबाट ठाडो उजुरी परेको र फेरि आइतबार उक्त उजुरी फिर्ता लिइएको जानकारी दिए। ‘शुक्रबार घटनाबारे छानविन र क्षतिपूर्ति माग सहित ठाडो उजुरी परेको थियो’, प्रजिअ पौडेलले भने, ‘तर आइतबार दिउँसो पीडित पक्षले आवेशमा आएर उक्त उजुरी दिएको भन्दै फिर्ता लिएको छ।’ प्रजिअ पौडेलले उक्त पोलिक्लिनिकसहित अन्य स्वास्थ्य संस्थाहरुको समेत अनुगमन निरीक्षण गर्दै मापदण्ड विपरित देखिए कानूनी कारबाही गरिने जानकारी दिए।  

तर डा. सुरेन्द्र यादवलाई कानूनी कार्बाहीबाट जोगाउनका लागि जिल्लास्थित विभिन्न राजनैतिक दलका नेताहरु लागि परेका छन्। पीडित पक्षलाई दुई दिनअघिदेखि नै उजुरी फिर्ता लिन र घटनाबारे कुनै उजुरबाजुर नगर्न दबाव दिँदै आएको स्थानीयले बताएका छन्। अन्ततः पीडित पक्षले उजुरी फिर्ता लिएको छ।  

गत बिहीबार साँझ पनि डा. यादव पक्षका केही व्यक्तिहरु मृतकका श्रीमान प्रमोद साहलाई कागज नै गराउने उद्देश्यले लेखन्दास नै लिएर गएका थिए। मेरो श्रीमती आफ्नै कालगतिले मरेको हो र डाक्टरको कुनै दोष छैन भन्ने कागज गराउँदै ६६ हजार रुपैयाँ दिने गरी उक्त टोली पुगेको स्थानीयले बताए। तर स्थानीय एकदुई जना गएपछि उनीहरु कागज नै नगराई त्यसै फर्किएका थिए।

अहिले पनि क्षतिपूर्तिका नाममा ‘खसीबाख्रा किनबेच गरेजस्तो’ मोलमोलाई गरेर पीडित पक्षलाई फकाउने प्रयास भईरहेको छ। जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले पोलिक्लिनिकको तर्फबाट पीडित परिवारलाई दुई लाख एक हजार रुपैयाँ दिलाउने गरी कुरा भएको जानकारी दिए। ‘उक्त पोलिक्लिनिकबाट गलत काम भएको छ, त्यसैले पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख एक हजार रुपैयाँ दिलाउनका लागि पहल भईरहेको छ’, आइतबार पीडित परिवारलाई राहत स्वरुप नगद र खाद्यान्न दिने क्रममा बोल्दै चौधरीले भने, ‘प्रदेश, स्थानीय सरकार लगायतबाट पनि थप राहतका लागि पहल गर्दैछु।’

यता सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल अभियान्ता भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतो भने अनुमति नै नभएको पोलिक्लिनिकमा शल्यक्रिया गर्दा ज्यान गुमाएकी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र पीडकलाई कानून अनुसार कडा कार्बाही गर्नुपर्ने बताउँछन्। ‘यहाँ त घटनाबारे छानविन गर्न समिति बनाउने रे भन्ने सुनेको छु, अनुमति नै नपाएको पोलिक्लिनिकमा शल्यक्रिया गर्दा एक महिलाको अनाहकमा ज्यान गएको छ, नवजात शिशु टुहुरो बनेका छन्, यस्तो घटनामा के को छानविन सिधै कानूनी कारबाही गर्नुपर्छ’, आइतबार महिना दिनका लागि पुग्ने खाद्यान्न राहत दिन पीडितको घरमा पुगेका महतोले भने, ‘दुर्घटनामा मृत्यु हुँदा त पीडित परिवारले पाँच लाख रुपैयाँ पाउँछन्, यो त अनुमति नै नपाएको स्वास्थ्य संस्थाले शल्यक्रिया गर्दा एक महिलाको मृत्यु भएको छ भने परिवारको विचल्ली भएको छ, त्यसैले पीडित परिवारले उचित क्षतिपूर्ति पाउनु पर्ने कुरामा कुनै सम्झौतै हुन सक्दैन।’

नेपाल मानव अधिकार संगठन सर्लाहीका अध्यक्ष रजनिकान्त झा पनि शल्यक्रियाको अनुमति नै नपाएको उक्त अमत्र्य पोलिक्लििनकका सञ्चालकलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताउँछन्। ‘अनुमति नै नपाएको पोलिक्लिनिकमा अप्रेसन मार्फत सुत्केरी गराईनु सरासर कानूनको बर्खिलाप हो, त्यसमाथि महिलाहरुको अनाहकमा ज्यान समेत गईरहेको छ, यो मात्र हैन जिल्लाभरका अनुमति नलिई चलिरहेका स्वास्थ्य संस्था र उपचारमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याउनु जरुरी छ’, पूर्व प्रअ समेत रहेका अध्यक्ष झाले भने, ‘पीडित परिवारलाई पीडकको तर्फबाट उचित क्षतिपूर्ति भराउनु पर्छ।’

सरकारी अस्पतालले सेवा नदिने अनि यस्ताखाले पोलिक्लिनिक लगायत अनुमति नै नपाएका जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरुमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा अनाहकमा दर्जनौं आमाहरुले ज्यान गुमाईरहेका त छन् नै धर्तीमा पाईला टेक्ने वितिकै नवजात शिशुहरुले टुहुरो बनिरहनु परेको छ।

प्रकाशित: २३ भाद्र २०७७ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App