२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जलवायु र मौसमी प्रकोपका कारण एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको छ।

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको भन्दै राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्नको सङ्केत गरेको छ।

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्युएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्ररूपमा तापक्रम बढिरहेको बताएको छ।

‘प्रतिवेदनको निष्कर्ष गम्भीर छ, यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्’,  डब्ल्युएमओका प्रमुख सेलेस्टे साउलोले एक विज्ञप्तिमा भनेका छन्, ‘जलवायु परिवर्तनले यस्ता घटनाहरूको आवृत्ति र गम्भीरतालाई बढाएको छ, यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्णरूपमा मानव जीवन र हामी बस्ने  वातावरणमाथि गहिरो प्रभाव पारेको छ।’

एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ।  

‘सन् २०२३ मा एसिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ’, डब्ल्युएमओले भनेको छ। सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो। यो सन् १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा एक दशमलव ८७ डिग्री सेल्सियसले अधिक थियो।

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वी चीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दू कुश पर्वत शृङ्खलामा वर्षा सामान्यभन्दा कम भएको थियो।

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदीहरू पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेको छ भन्दै डब्ल्युएमओले यस क्षेत्रका निरीक्षण गरिएका २२ वटा हिमनदीमध्ये २० वटामा गत वर्ष लगातार सामूहिकरूपमा क्षति भइरहेको जनाएको छ।

सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा बताइएको छ।

गत वर्ष एसियामा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन्। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए। यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन्। रासस

प्रकाशित: ११ वैशाख २०८१ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App