६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

आर्थिक विकासका धरोहर

विनोद चौधरी
चौधरी समूहका अध्यक्ष विनोद चौधरी फोर्ब्स पत्रिकाका अनुसार नेपालका एकमात्र अर्बपति हुन्। चौधरी समूहले आफ्नो सबैभन्दा प्रख्यात वाइवाई ब्रान्डको चाउचाउबाहेक पर्यटन, बैंक तथा वित्तीय संस्थालगायत विवधि क्षेत्रमा लगानी गरेको छ। विनोदले पिता स्वर्गीय लुनकरणदास चौधरीले जग हालेको चौधरी समूहलाई नेपालभित्र मात्र सीमित नराखेर भारतलगायत विभिन्न देशमा त्यसमार्फत व्यवसाय विस्तार गरिरहेका छन्। पछिल्लो समयमा उनी भारत, मालदिभ्सलगायत विभिन्न एसियाली र अफ्रिकी मुलुकमा होटलमा लगानी विस्तार गर्दैछन्। युगान्डाको मुक्वानो समूहसँगको साझेदारीमा विनोदले युगान्डा, रुवान्डा र बुरुन्डीमा होटल सञ्चलान गरिरहेको पनि फोर्ब्स म्यागेजिनले जनाएको छ।

पशुपति मुरारका

पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्। उनी मुरारका समूहका पनि अध्यक्ष हुन्। उनको समूहको लगानीमा सिमेन्ट कारखाना, पेन्टस्लगायत विविध उद्योग सञ्चालनमा छन्। लगानी, उत्पादन र पूर्वाधार विकासमा निजीक्षेत्रको भूमिका बढाउनुपर्ने र निजीक्षेत्र तथा सरकार सँगसँगै हिँडेमात्र नेपालको आर्थिक विकास हुने पक्षमा छन् मुरारका। उनी सरकारले निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण बनाइदिएर कानुनसम्मत कर लिने र शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्छन्।

शेष घले

शेष घले गैरनेपाली आवासीय महासंघ (एनआरएनए) अध्यक्ष हुन्। महासंघको आठौं सम्मेलनबाट दोस्रोपटक अध्यक्ष चुनिएका उनी छैटौं सम्मेलनदेखि निकै चर्चामा छन्। लमजुङको दुर्गम घनपोखरा गाविसमा जन्मिएका घले आफ्नो मेहनत र लगनका कारण अष्ट्रेलियाका ९९ औं धनी व्याक्ति बन्न सफल भएका छन्। घलेले नेपालमा होटलमा लगानी गरिरहेका छन्। गत वर्ष नेपालमा भूकम्प गएपछि पनि उनी उत्तिकै चर्चामा रहे। सन् २०१५ का सबैभन्दा धनी दुई सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औं स्थानमा परेका छन्। घले मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) अस्ट्रेलियाका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन्। जहाँ यस संस्थाका सहायक संस्थापक उनकी पत्नी जमुना गुरुङ निर्देशक छिन्।

भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा पर्यटन उद्योगबाहेक पनि आधा दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध छन्। तारागाउँ विकास समिति अध्यक्ष, स्नेह ट्राभल एन्ड टुर्स प्रबन्ध निर्देशक, महिला उद्यमी महासंघ उपाध्यक्ष, उद्योग वाणिज्य महासंघअन्तर्गत महिला उद्यमी समिति सभापति तथा पर्यटन वर्ष–२०११ को सदस्यको जिम्मेवारी सम्हाल्दै अघि बढेकी राणा राजनीतिक पृष्ठभूमिमा हुर्के पनि सानैदेखि व्यवसायी बन्ने सपना देख्थिन्। २०५१ सालमा पर्यटन व्यवसायी असित शमशेर जबरासँग वैवाहिक जीवनमा बाँधिएपछि पूर्णरूपमा व्यवसायमा प्रवेश गरेकी हुन् उनी। असित पनि व्यावसायिक क्षेत्रमा भएकाले उनी पारिवारिक र व्यावसायिक जीवनलाई सन्तुलनमा राखेर अघि बढिरहेकी छन्।

सुरज वैद्य

वैद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य सार्क चेम्बर अफ कमर्सका पनि अध्यक्ष हुन्। हालैमात्र सार्क चेम्बर अफ कमर्सका अध्यक्ष भएका वैद्य नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष हुन्। नेपालमा टोयोटा गाडीको एकछत्र व्यापार गर्दै आएका वैद्यले पछिल्लो समयमा कृषिसँग सम्बन्धित र पर्यटन क्षेत्रमा पनि लगानी बढाएका छन्। उनले काठमाडौं, पोखरा, लुम्बिनी र रारामा तारे होटल निर्माण गरी पर्यटनमा लगानी विस्तार गरिरहेका छन्।

प्रकाशित: ११ वैशाख २०७३ ००:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App