१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सोसल मिडियामा झुटा समाचार

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनताका चर्चित सामाजिक संजाल फेसबुकमा सबैभन्दा चर्चित समाचार 'पोप फ्रान्सिसले विश्वलाई चकित बनाए, ट्रम्पलाई समर्थन गरेर वक्तव्य निकाले' भन्ने शीर्षकको थियो। झण्डै १० लाख जनाले सो समाचारलाई सेयर गरेका वा प्रतिक्रिया व्यक्त गरेका वा लाइक गरेका थिए। त्यस्तै ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले चर्चित आतंककारी संस्था आइएसआइएसलाई हतियार बेचेको समाचारले पनि फेसबुकमा भाइरल भएर लगभग ८ लाख मानिसको ध्यान तानेको थियो। क्लिन्टनको इमेलका बारेमा अनुसन्धान गरिरहेका सरकारी अधिकारी शंकास्पद अवस्थामा मृत भेटिए भन्ने समाचारले पनि फेसबुकमा साढे ५ लाख मानिस आकर्षित भए। चर्चित बन्न सफल यी सबै समाचारमा कुनै सत्यता थिएन। ती प्रकाशित भएका साइटहरु भर्खरै खोलिएका र विश्वसनीय समाचार स्रोत थिएनन्। यद्यपि अहिले ती समाचारलाई ट्रम्पको अप्रत्याशित विजयको एउटा कारकका रूपमा हेर्न थालिएको छ। प्रायः सबै मूलधारका पत्रपत्रिकाले समर्थन गरेका क्लिन्टनको हारपछि सोसल मिडियाहरुका चर्चित बनेका झुटा सूचनाहरुका प्रभावबारेका अध्ययन र विश्लेषण भइरहेका छन्। त्यस्तै एक अध्ययनले सोसल मिडियामा यस्ता झुटा समाचारहरुले न्युयोर्क टाइम्स वा वासिङ्गटन पोस्ट जस्ता मूलधारका विश्वसनीय समाचार स्रोतहरुका समाचारभन्दा निकै पाठक पाएको देखाएको छ। यो तथ्यपछि समाचारका प्रमुख स्रोतका रूपमा स्थापित भइसकेको फेसबुक र अन्य सोसल मिडियाले झुटा समाचारहरु प्रवाह हुन रोक्न नसकेका जसका कारणले गलत सूचनाहरु फैलाएको आलोचना खेपिरहेको छ। फेसबुकले त सार्वजनिकरूपमा झुटा समाचारको प्रवाह कम गर्न कार्य गर्ने प्रतिबद्धतासमेत जनाइसकेको छ।

निर्वाचन र अन्य समयमा पनि भाइरल हुन सक्ने झुटा समाचारहरुका प्रभाव कम गर्न सम्बन्धित निकाय र मिडियाले प्रभावकारी कार्यक्रम र भूमिकाका साथ अगाडि आउनु आवश्यक भइसकेको छ।

केही दिनअगाडि एउटा नेपाली समाचार साइटमा राखिएको माओवादी नेता नेत्रविक्रम चन्दले छोरालाई ५० लाखको मोटरसाइकल किनिदिएको समाचारले सोसल मिडियामा निकै चर्चा पायो। दुई महिनाअगाडि मात्रै अस्तित्वमा आएको सो साइटको विश्वसनीयता नहेरी धेरै मानिसले धारणा बनाए र चन्दप्रति तीतो पोखे। नामै नसुनिएका अथवा व्यक्तिगतरूपमा क्षणभरमै बनाउन सकिने ब्लग जस्ता साइटमा प्रकाशित सामग्री पनि सोसल मिडियामा भाइरल हुने देखिएको छ। आफ्नाबारेमा गलत समाचार नआएका सायदै कुनै नेता होलान् र ती समाचारका कारण अनावश्यकरूपमा कडा आलोचनाहरु पढ्नुपरेपछि समग्र अनलाइन मिडिया र सोसल मिडियाप्रति नकारात्मक धारणा राखेका छन्। राजनीतिक उद्देश्यप्राप्तिका लागि खोलिएका समाचार साइटहरु धेरै भएको अहिलेको बेलामा नेपालमा अब हुने निर्वाचनहरुका क्रममा झुटा समाचारहरुले ठूलो स्थान पाउने निश्चित छ। ती समाचार सोसल मिडियामार्फत भाइरल बनाउन सक्नेले निर्वाचनमा भूमिका खेल्न सक्नेछ। यो अवस्थामा नागरिकको विचारलाई प्रभाव पार्ने र गलत सूचनाका आधारमा जनमत सिर्जना हुने अवस्था आउन सक्छ। यस्तो हुन दिनु भनेको प्रजातन्त्र र वाक स्वतन्त्रताका लागि राम्रो संकेत होइन। यसर्थ निर्वाचन र अन्य समयमा पनि भाइरल हुन सक्ने झुटा समाचारहरुका प्रभाव कम गर्न सम्बन्धित निकाय र मिडियाले प्रभावकारी कार्यक्रम र भूमिकाका साथ अगाडि आउनु आवश्यक भइसकेको छ।

भाइरल सामग्रीको अन्तर्वस्तु

कुनै पनि सामग्री सोसल मिडियामा असाध्यै धेरै चर्चा/परिचर्चा भयो भने त्यसलाई भाइरल भएको भनिन्छ। फेसबुकमा भाइरल हुनु भनेको धेरै मानिसले त्यसलाई देख्नु हो जुन मानिसले ती सामग्रीमा गर्ने सेयर वा कमेन्ट वा लाइकले निर्धारण गर्छ। साथसाथै आफ्ना सामग्रीलाई भाइरल बनाउन पैसा तिरेर निश्चित संख्याका मानिसका फेसबुकमा देखिने बनाउन पनि मिल्छ। यद्यपि भाइरल नै हुनका लागि प्रथम आवश्यकता भनेको धेरैभन्दा धेरै मानिसले त्यो सामग्रीलाई सेयर वा कमेन्ट गर्नु जरुरी छ। सोसल मिडियामा के भाइरल हुन्छ? यो प्रश्नको जवाफ सजिलो छैन। हालैका दिनमा सोसल मिडियामा भाइरल भएकै कारण 'तरकारीवाली' उपनामले कुसुम श्रेष्ठ निकै चर्चामा आइन्। त्यसका पछाडि फोटो र उनको सौन्दर्य असाधारण हुनु थिएन, परिप्रेक्ष्य मिलेको थियो। पाकिस्तानका एक चिया पसलेले नीलो आँखाका कारण चायवाला भनेर भाइरल भएकै समयमा उनको फोटो सोसल मिडियामा आयो र नेपाली सोसल मिडिया प्रयोगकर्ताहरुले रमाइलो र 'आफ्नो' सामग्री भेटे। सोसल मिडियामा चर्चित भइसकेपछि मूलधारका मिडियामा उनको समाचार, अन्तर्वार्ता वा ब्लोअप छापिनु अनौठो भएन किनभने मिडियाको दिशानिर्धारण गर्ने जनमतले नै हो र मूलधारका मिडियाको विषयवस्तु निर्धारणमा सोसल मिडियाले केही न केही प्रभाव पारिरहेकै हुन्छ। पत्रकारिताको भाषामा मानवीय अभिरुचिका समाचार भनिने यौन, अपराध र पैसाका अनि साथसाथै अनौठा र नौला समाचार, रहरलाग्दा र हँसिला विषयवस्तुले धेरैलाई आकर्षित गर्छ र त्यस्ता सामग्री सोसल मिडियामा भाइरल भइरहेका हुन्छन्।

नेपालमा मात्रै होइन, संसारभरनै सोसल मिडियामा सकारात्मक भन्दा नकारात्मक कुराहरुको चर्चा/परिचर्चा बढी हुन्छ। राम्रो कामको प्रशंसाभन्दा नराम्रो कामको आलोचना गर्न मानिस उत्साहित हुन्छन। नेपालको परिपे्रक्ष्यमा राजनीति र नेताहरुले नागरिकको आशाअनुरूप कार्य गर्न नसकेका कारण धेरै नेपाली निराश र नेताहरुप्रति आक्रोशित छन्। नेताहरुले राम्रो काम गरेभन्दा होइन कि भनेर शंका गर्ने र जस्तोसुकै नराम्रो काम गरेको सुनेपनि हो कि त भनेर पत्याउनुपर्ने अवस्थामा हाम्रो विचारविन्दु छ। त्यो आक्रोश कुनै नेताका नराम्रा समाचार पढेपछि सोसल मिडियामा व्यक्त हुने नै भयो। त्यसले गर्दा कुनै नेताले गरेका नराम्रा कामका समाचार पढेपछि त्यसको स्रोत र सत्यतामा हामी शंका गर्दैनौ। यसले गर्दा नकारात्मक समाचारहरु अपत्यारिला भएपनि सोसल मिडियामा चर्चित भएर भाइरल हुने सम्भावना रहन्छ।

सोसल मिडिया झुटा समाचारका संजाल हुन भन्ने एकखालको विचार आइरहेको छ। किनभने सोसल मिडियामा आउने समाचारका लागि कतिपय अवस्थामा साइटको पनि आवश्यकता पर्दैन र कतिपय अवस्थामा यसको दुरुपयोग गरेर मानिसलाई झुक्याउन सकिन्छ। नागरिक दैनिकको समाचार साइट नागरिकन्युजडटकम हो तर नागरिकन्युज अगाडि हालेर पछाडि अन्य शब्द थपेर सजिलै साइट खोल्न सकिन्छ र फेसबुकमा नागरिकन्युज भनेर समाचार सेयर गर्न सकिन्छ। धेरै मानिस त्यो फरक छुट्टाउन सक्दैनन्। अमेरिकी निर्वाचनका बेला डेनभर गार्जियन नामक पत्रिकाको भनेर एउटा झुटो समाचार खुब सेयर भयो तर त्यो नामको पत्रिकै छैन। सोसल मिडियामा प्रपोगन्डा गर्नेहरुले यस्तै हत्कण्डा अपनाएर जानाजान झुटा समाचार सेयर गर्छन् र हजाराँै मानिस नजानिकन त्यसलाई सेयर गरेर सहयोग पुर्‍याउँछन्। चर्चित हुँदै जाँदा ती समाचारले जनमतमा प्रभाव पार्छन् र गलत सूचनाका आधारमा बनेका जनमतले प्रजातन्त्रलाई सहयोग गर्दैनन्। सोसल मिडिया आफैँमा झुटा समाचारका संजाल हुँदैनन्। तिनलाई कस्तो बनाउने भन्ने त्यसका बहुमत प्रयोगकर्ताले गर्ने अभ्यास हो। 

नेपालका निर्वाचनमा सोसल मिडिया

नेपालमा अब निर्वाचन हुँदाखेर झुटा समाचारको माध्यमबाट प्रपोगन्डा हुने निश्चित छ। त्यसको प्रभाव कति पर्छ भन्ने ठोकुवा गर्न नसकिएला तर केही न केही प्रभाव पार्ने अवश्यम्भावी छ। अघिल्लो पटकको आमनिर्वाचनमा प्रत्येक ठूला दलले निर्वाचन प्रचारप्रसारमा सोसल मिडियाको उपयोग गर्ने निर्णय गरेर केही प्रयोग गरे। फेसबुकमा पेजहरु खोलिए, टि्वट लेखिए र युट्युबमा भिडियो हालिए। त्यसपछि धेरै राजनीतिकर्मी सोसल मिडियामा आइसकेकाछन् र यसको उपयोगिताबारे जानकार भइसकेका छन्। आफ्ना पक्षमा जनमत ल्याउन यसको प्रयोग गर्न लालायित पनि छन् जसले अबको निर्वाचनमा सोसल मिडियाको ठूलो प्रयोग देखिनेछ। आफ्नो प्रचारसँगसँगै उमेदवारहरुले प्रतिद्वन्द्वी देखिएका उमेदवारहरुका विरुद्ध प्रचारवाजी कति गर्छन् भन्ने कुरो र झुटो समाचारको खेती प्रत्यक्ष/परोक्षरूपमा जोडिनेछन्। यसले अल्पकालीनरूपमा केही उमेदवारलाई फाइदा पुर्‍याउला तर दीर्घकालीनरूपमा नेपाली पत्रकारिता र प्रजातन्त्र कमजोर हुन सक्ने सम्भावना पनि छ।

नेपालमा इन्टरनेटको पहुँच ५२ प्रतिशत नागरिकसम्म पुगिसकेको छ। मोबाइल इन्टरनेटको बढ्दो प्रयोगका कारण यो सम्भव भएको हो। फेसबुकमा ७० लाख अकाउन्ट नेपालमा बसोबास गर्नेको छ। विदेशमा रहेका नेपालीहरु सोसल मिडियाबाट धेरै विचार व्यक्त गर्छन् जसमा नेपालमा रहेका परिवार र साथीभाइ जोडिन्छन्। तर आमनेपालीमा मिडिया सारक्षताको कमी छ। हामी धेरैजसो अवस्थामा समाचारको विश्वसनीयता छुट्टाउन सक्दैनौ जसले गर्दा झुटा समाचारका सूचना फैलने सम्भावना बढी रहन्छ। अमेरिकाजस्तो विकसित राष्ट्रका नागरिकहरुसँग त त्यो क्षमता देखिएन भने नेपालीमा नदेखिनु अनौठो पनि होइन।

सोसल मिडियामा फैलन सक्ने झुटा समाचार र त्यसका गलत सूचनाले जनमतमा गर्ने असर कम गर्नका लागि राज्य, राजनीतिक दल, मूलधारका मिडिया र सोसल मिडिया प्रयोगकर्ता सचेत हुनु जरुरी छ। राजनीतिक दलहरुले आफ्नो विषयमा आएका समाचारको मोनिटरिङ्गका साथसाथै आफ्नो सूचना व्यवस्थापन र प्रवाहलाई चुस्त बनाउनुपर्छ भने मूलधारका मिडियाले प्रकाशन गर्ने सामग्रीहरुको सत्यतथ्यमा विश्वस्त हुनुपर्छ। राजनीतिक दलहरुले आफ्नाबारेमा आएका झुटा समाचारहरु जति छिटो खण्डन गर्न सक्यो त्यति प्रभावकारी हुन्छ र त्यो भाइरल हुने सम्भावना कम हुन्छ भने मूलधारका मिडियाले आफ्नो विश्वसनीयता कायम राख्न सके झुटा समाचार कम हुन्छन्। राज्यले झुटा समाचारबारे चुस्त प्रणाली निर्माण गरेर त्यसबारे तुरुन्त सूचना प्रवाह गर्न सक्ने र झुटा समाचार प्रवाह गर्नेहरुलाई सचेत गराउने जस्ता कार्य गर्न सक्छ।

सोसल मिडियाले सबैभन्दा सशक्त बनाएको नागरिक आवाजलाई हो। यसका माध्यमबाट नागरिकका रूपमा हामीले वाक तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउने सजिलो र उत्कृष्ठ माध्यम पाएका छौँ। यसर्थ यसलाई जोगाउने जिम्मेवारी पनि हाम्रै हुन आउँछ। प्रवाहित सूचना र समाचारका विषयमा सत्यतथ्य एकिन नभएका समाचारलाई लाइक, कमेन्ट वा सेयर नगर्ने, विश्वसनीय समाचार स्रोतबाट नआएका समाचारलाई शंकाको दृष्टिकोण राख्ने र आफूलाई थाहा भएका सत्यतथ्य कुरा व्यक्त गरिदिने हो भने सोसल मिडियालाई झुटको संजाल बन्नबाट हामी जोगाउन सक्छौँ। सोसल मिडियालाई राम्रो बनाइराख्दा सबैभन्दा ठूलो फाइदा आमनागरिकलाई नै छ यसर्थ निर्वाचन वा ठूला घटनाक्रम जस्तो विशेष अवस्थामा संयमित भएर प्रयोग गर्नु सबैका हितमा हुन्छ।

कार्यकारी निर्देशक, सेन्टर फर मिडिया रिसर्च नेपाल

प्रकाशित: १९ मंसिर २०७३ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App