१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अवैधरुपमा भारततर्फ नुन निकासी

काठमाडौं- भारतबाट किनेर ल्याएको नुन अवैध रुपमा उतै निकासी हुने गरेको छ। भारतको तुलनामा नेपालमा नुन प्रतिकिलो करिब ११ रुपैयाँ सस्तो भएपछि अवैध ढंगले भारततर्फ नै नुन निकासी हुन थालेको हो। यहाँको खुल्ला बजारमा प्रतिकिलो १८ रुपैयाँमा बिक्री भइरहेको नुन भारतमा १८ भारुमा बिक्री हुन्छ। यहाँ सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट नुन आयात गरेर बिक्री गर्दै आएको छ।

नेपालको पश्चिमी नाका महेन्द्रनगर, नेपालगञ्ज, धनगढी, बेलौरीलगायत नाका र छोटी भन्सारबाट नुन भारततर्फ नै निकासी भएको हो। यहाँका व्यापारीको मिलेमतोमा भारतीय व्यापारी र सर्वसाधारणले समेत नुन लैजाने गरेपछि कर्पोरेसनले सो नियन्त्रण गर्न प्रहरीलाई समेत अनुरोध गरेको छ।

किलोमै १० रुपैयाँ आठ पैसा नाफा हुने भएपछि भारतबाट सामान लिएर आउने ट्रकले पनि लुकाइछिपाई नुन लैजाने गरेका छन्। भारतबाट ल्याएको नुन फेरि भारततर्फ नै निकासी हुँदा बजारको असन्तुलन गुम्न सक्ने भन्दै कर्पोरेसनका अधिकारी चिन्तित भएका छन्। 'पश्चिमी नाकाबाट भारततर्फ नै नुन निकासी भइरहेको सूचना आएपछि यसको नियन्त्रण गर्न प्रहरीलाई पनि खबर गरेका छौं,' कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले भने, 'लामो समयदेखि मूल्य समायोजन नहुँदा यस्तो समस्या सृजना भएको हो।'

निरन्तर निकासी भइरहे यहाँको बजार असन्तुलन हुन सक्ने भन्दै कर्पोरेसनका अधिकारी चिन्तित भएका छन्। कर्पोरेसन सरकारी स्वामित्वकै निकाय भए पनि निकासी नियन्त्रण गर्न मूल्य समायोजन गर्नुपर्ने बताउँछन्। 'भारतमा भन्दा निकै सस्तोमा नुन बेचिरहेकाले मूल्य समायोजन गर्नु आवश्यक देखिन्छ,' एक अधिकारीले भने, 'संस्थाले व्यहोरेको घाटालाई सन्तुलनमा ल्याए पनि उपभोक्तालाई ठूलो भार पर्दैन।'

कर्पोरेसनले व्यवसायीलाई १६ रुपैयाँमा नुन बिक्री गर्दै आएको छ। कर्पोरेसनका अनुसार नुनमा खरिदको तुलनामा करिब चार रुपैयाँ घाटा व्यहोरेर नुन बेच्दै आएको छ।

विगतमा आयोडिनको मात्रा कम भएको ढिके नुन प्रयोग गर्दा धेरै नागरिकमा गलगाँडलगायत रोग तथा समस्या देखिएपछि सरकारले आयोडिनयुक्त नुन बिक्री गर्न कर्पोरेसनलाई जिम्मेवारी दिएको थियो। भारतबाट नुन ल्याएर कर्पोेरेसनले आयोडिन मिसाएर नुन प्याकेजिङ गरेर बिक्री गर्ने गरेको छ।

सरकारले दुर्गम जिल्लामा भने ढुवानी अनुदान दिएकाले सस्तोमा उपलब्ध गराउँदै आएको छ। कर्णाली, अछाम, बाजुरा, बैतडी लगायत दुर्गम २२ जिल्लाका जनतालाई ११ रुपैयाँ किलोमा नुन बिक्री गरिँदै आएको झाले बताए। नेपालमा वार्षिक करिब एक लाख ८२ हजार मेटि्रक टन नुन खपत हुने गरेको छ।

सूपथ पसलमा ६ करोडको कारोबार

सरकारको निर्देशनपछि कर्पोरेसनले सञ्चालन गरेको सूपथ मूल्य पसलमा करिब ६ करोड रुपैयाँको कारोबार गरेको छ।  कर्पोरेसनले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सूपथ मूल्य पसल सञ्चालन गरेको थियो। नुन प्रतिकिलो दुई रुपैयाँ र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध गराएकोमा हजारौं उपभोक्ताले त्यसबाट लाभ लिएका थिए।

आपूर्ति मन्त्रालयको निर्देशनमा कर्पोरेसनसहित नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ, दुग्ध संस्थान लगायतले उपत्यकाका १३ स्थानमा सूपथ मूल्य पसल सञ्चालन गरेका थिए। खाद्य संस्थानले चामल प्रतिकिलो पाँच रुपैयाँ र दुग्ध संस्थानले घिउ तथा पनिरमा प्रतिकिलो १०–१० रुपैयाँ उपभोक्तालाई छुट दिएका थिए।

प्रकाशित: २१ मंसिर २०७३ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App