पाउलोनिया हुर्काउँदै कृषक

बुधबार, २२ मङि्सर २०७३, १२ : ०० सन्तोष न्यौपाने  | @santyneupane


सुसारे गाउँ (गोरखा)-गोरखा सुसारे गाउँकी लिला थापा मगरको पिँडालु र बदाम फल्ने बारीको डिलमा अहिले पाउलोनिया हुर्कंदै छ। नियमित खेतीसँगै नयाँ बिरुवा हुर्कंदै जाँदा भविष्यमा आम्दानीको स्रोत बन्ला भन्ने आस छ उनलाई।

छिटो हुर्कने, छिटो प्रतिफल दिने र सँगै अरु खेतीपाती पनि गर्न सकिने भएपछि उनी जस्तै गोरखा, बुङबाटो गाविसको सुसारे टोलका अन्य कृषकले पनि यो बिरुवा रोपेका छन् । ‘कृषिमा केही सहयोग होला भनेर हामीले यी बिरुवा लगाएका छौं,’ लिला भन्छिन्, ‘खाली जग्गा हरियो हुने, घाँस, दाउरा र भविष्यको आम्दानी होला भन्ने आस छ ।’ 

उनी मात्र होइन आफ्नो घर वरपर हरियो बनाउन र कृषिलाई सहयोग हुन्छ भनेर गोरखा, चितवन र दोलखाका कृषकहरू वनमा आधारित कृषि (एग्रोफरेस्ट्री) अंगाल्न थालेका छन् । वनमा आधारित कृषिलाई सहयोग गर्ने उद्देश्यले इसिमोड रेड प्लस इनिसिएटिभ कार्यक्रम अन्तर्गत पाउलोनिया लगाउने कार्यक्रम तीन जिल्लामा सञ्चालित छ ।

गाेरखा सुसारे गाउँका कृषक मिनबहादुर थापामगर अाफ्नाे पाउलाेनिया खेति देखाउँदै। तस्बिरः सन्ताेष न्याैपाने

कार्यक्रमको उद्देश्य वनमा आधारित कृषकलाई सहयोग गर्ने र वनजंगल संरक्षण गर्ने रहेको इसिमोडका एग्रोफरेस्ट्री एसोसिएट नविन भट्टराईले बताए । ‘पाउलोनिया भनेको छिटो हुर्कने जातको बिरुवा हो, भट्टराईले भने, ‘यसबाट कृषकले आफ्नै खेतीयोग्य जमिनबाट घाँस–दाउरा पाउनुहुनेछ; जसले गर्दा नजिकको सामुदायिक वनमा हुने अतिक्रमण पनि कम हुनेछ ।’ चीनको स्थानिय यो विरुवा नेपालमा पहिलो पटक ल्याइएको हो ।

अहिले विकास निर्माणसँगै काठको माग बढ्दै गएको छ । ७–८ वर्षको अवधिमा तयार हुने भएकाले यसले काठको माग पूरा गर्न सहयोग गर्ने भट्टराई बताउँछन् । आफ्नै खेतीयोग्य जमिनको छेउछाउमा खेती र यस्ता खालका रुख लगाएपछि नजिकको सामुदायिक र सरकारी वनमा हुने अतिक्रमण र त्यहाँको निर्भरता घटाउन सहयोग पु¥याउने कार्यक्रमको उद्देश्य रहेको भट्टराईले बताए ।

गोरखा, सुसारे गाउँबाहेक घलेडाँडा रानाखोला सामुदायिक वन, बिरिङ चोक सामुदायिक वन, माझीखोला सामुदायिक वन, जिल्ला वन कार्यलय र केही विद्यालय परिसरमा यी बिरुवा लगाइएको छ । ‘यी ठाउँमा हामीले जम्मा ५ हजार बिरुवा लगाएका छौं,’ सामुदायिक वन उपभोक्ता महासंघ, गोरखाका अध्यक्ष श्याम कट्टेलले  भने, ‘अहिले यी बिरुवा हुर्कंदै छन् ।’

सुसारे गाउँमा ११ घरधुरीले ५ सय बिरुवा बारीका कान्ला, पाटोमा लगाएका छन् । पोहोर असारमा लगाएका बिरुवा अहिले झन्डै १५ फिट अग्ला र १२ इन्च मोटाइका भइसकेको कट्टेल बताउँछन् ।

युवा पस्ता सहर पस्न थालेपछि मकै, कोदो रोप्ने बारी बाँझै हुन थालेका छन् । बारीका कान्ला उराठ हुन थालेपछि नयाँ जातका छिटो हुर्कने बिरुवा लगाएर हरियाली बनाउन किसानले यी बिरुवा लगाएका हुन् । ‘खेती कम हुँदै गएको छ,’ सुसारे गाउँका हरिबहादुर थापाले भने, ‘खेती जस्तै यसबाट पनि आम्दानी होला भनेर बिरुवा लगाएका छौं ।’ यो बिरुवा हुर्कंदै गएपछि यसको तल अन्य खेतीपाती गर्न सकिन्छ । सुसारे गाउँकै मीनबहादुरले बारीको डिलमा सुन्तला, खुर्सानीसँगै पाउलोनियाका बिरुवा लगाएका छन् ।

यस गाउँका किसानले पाउलोनिया लगाएका केही ठाउँमा नयाँ जातको घाँस पनि रोपेका छन् । इसिमोडले नै उपलब्ध गराएको स्टाइलो र मोलासेस घाँसबाट गाईभैंसी पाल्न सजिलो भएको किसान बताउँछन् । स्थानीय टेकबहादुर थापा मगरका अनुसार यो घाँस वर्षको तीनपटक काट्न सकिन्छ । ‘गाईभैंसीले यो घाँस धेरै मन पराउँछन्,’ टेकबहादुर भन्छन्, ‘सामुदायिक वनबाट सधैं घाँस काट्न नपाइने भएपछि यसले हामीलाई धेरै सहयोग गरेको छ ।’

इसिमोड रेड प्लस इनिसिएटिभ अन्र्तगत चितवनको तीन ठाउँमा पाउलोनिया लगाइएको छ । शक्तिखोर क्षेत्रको कालिका मन्दिर परिसर र कालिका सामुदायिक वन क्षेत्रको खाली जग्गामा ३–३ सय बिरुवा हुर्किरहेका छन् । मन्दिर परिसरको खाली जग्गामा लगाउँदा भविष्यमा मन्दिरको लागि आम्दानीको स्रोत बन्न सक्ने भएकाले त्यहाँ लगाइएको सामुदायिक वन उपभोक्ता महासंघ, चितवनका महासचिव भरत ढुंगानाले बताए । चितवनमा २०७२ असारमा बिरुवा लगाइएको थियो ।

यो बिरुवा लगाउनुको उद्देश्य खासगरी कृषिमा आधारित स्थानीय, पिछडिएका सीमान्तकृत समुदायलाई वनमा आधारित कृषिमा सहभागी गराउनु रहेको ढुंगाना बताउँछन् । यो हुर्कंदै गएपछि भुइँमा अर्को खेती गर्न सकिन्छ । छिटो तयार हुने भएकाले यसको काठ बेच्न सकिन्छ । वन पनि जोगिने र कृषि पनि फस्टाउने नीतिमा आधारित कार्यक्रम भएको उनी बताउँछन् ।

‘आदिवासी जनजातिलाई यसले फाइदा पु¥याउने छ,’ ढुंगानाले भने, ‘जस्तो कि आरन र सुन पसलमा चाहिने गोल बनाउन यसले सहयोग गर्छ ।’ गाईबाख्राका लागि स्याउला, घाँस पनि प्रयोग गर्न सकिन्छ । अहिलेसम्म चल्दै आएको काममा उपभोक्तालाई सघाउने र वनको दिगो व्यवस्थापन गर्न यो थप कार्यक्रम हो ।

यो नौलो र नयाँ बिरुवा भएकाले यसको प्रतिफलको प्रतीक्षा गरिरहेको चितवनको कालिका सामुदायिक वनका उपाध्यक्ष भोजबहादुर थापाले बताए । ‘छिटो हुर्कने र छिटो प्रतिफल दिने भनेर यी बिरुवा लगाएका छौं,’ थापाले भने, ‘खाली ठाउँ सदुपयोग हुने, वन बढ्ने र स्थानीयलाई आम्दानी पनि हुन्छ ।’ चितवनमा हाल ८३ वटा सामुदायिक वन छन् । ती वन संरक्षणमा पनि पाउलोनिया बिरुवा लगाउने कार्यक्रमले सहयोग पुग्ने उनको धारणा छ ।

गोरखाका जिल्ला वन अधिकृत जीवनाथ पौडेलले इसिमोडले पाउलोनिया बिरुवा लगाएर अध्ययन र परीक्षण गरिरहेको बताए । अहिले यी बिरुवा व्यावसायिक नभएर परीक्षणका रुपमा हुर्काइँदै छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...