१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सूर्यविनायक-धुलिखेल फराकिलो हुने

काठमाडौं- दुई लेनको साँघुरो सडकमा पूर्वबाट आउने यात्रुवाहक बसको लस्कर। बसको यस्तो लस्कर छुट्ने र भित्रिने बेलामा सूर्यविनायकदेखि साँगासम्म हुन्छ। अरु सवारीसाधनको चर्को ट्याँट्याँ टुँटुँ उस्तै हुन्छ। यात्रु समयमै गन्तव्यमा पुग्न पाउँदैनन् भने चालकका सास्ती आफ्नै ठाउँमा छन्।

भक्तपुर र त्यसपूर्वबाट काठमाडौं भित्रिने चल्तीको नाका सूर्यविनायक–बनेपा सडकखण्डको अवस्था हो यो। यो सडकखण्डमा बारम्बार दोहोरिइरहने यस्तो ट्राफिक जाम केही वर्षमा अन्त्य हुने भएको छ। काठमाडौं–सूर्यविनायक–धुलिखेल सडक आयोजनाले सूर्यविनायक–धुलिखेल १६ किलोमिटर सडक विस्तार गरी फराकिलो र हरियाली बनाउने भएको छ।

विस्तारपछि सडक ६ लेनसहित २५ मिटर फराकिलो हुनेछ। जसमा ४ लेनमा ठूला सवारीसाधन गुड्नेछन्। छोटो दुरीका बस गुड्न सडकको दुवैतिर बेग्लै लेन रहनेछन्। फुटपाथ ३ मिटर चौडा हुनेछ भने सडकको बीचमा डिभाइडरको साटो ठाउँ अनुसार २/३ मिटरको बगैंचा बनाइनेछ। विस्तारपछि यो सडकमा जामको समस्या नहुने र बटुवा निर्धक्क हिँड्न सक्नेछन् भने उपत्यकाको सौन्दर्य समेत सडकले बढाउने आयोजनाले जनाएको छ। सडक विस्तार सुरु गरेको ३ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाले जनायो।

‘सूर्यविनायकबाट काठमाडौंतिर पनि फराकिलो सडक छ। धुलिखेल उताको सडक पनि राम्रै छ,’ आयोजना प्रमुख सन्जयकुमार श्रेष्ठले भने, ‘सूर्यविनायक–धुलिखेल १६ किलोमिटर पनि चाँडै नै कोटेश्वर–सूर्यविनायक जस्तै फराकिलो र व्यवस्थित बन्नेछ।’

उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक जापानको सहयोगमा विस्तार गर्न लागिएको हो। सडकको स्तरोन्नति गर्न जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) र नेपाल सरकारका तर्फबाट सडक विभागबीच गत सोमबार समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ। दुई देशबीच एमओयू भए पनि अनुदान वा ऋण भन्ने टुंगो लागिसकेको छैन। नेपालका तर्फबाट सबै तयारी भइसकेकाले जापान सरकारले अनुदान वा ऋण के हो निर्णय गर्नासाथ सडक विस्तार सुरु हुनेछ।

‘जाइकाको मनसाय अनुदानमा बनाउने छ,’ सडक विभाग वैदेशिक समन्वय शाखाका उपमहानिर्देशक समेत रहेका आयोजना प्रमुख श्रेष्ठले भने, ‘हामीले भने अनुदान प्लस ऋण पनि उपलब्ध गराउन माग गरेका छौं।’ अनुदान भए जापानले निश्चित रकम उपलब्ध गराउनेछ। अनुदानले अपुग भए नेपाल सरकारले थपेर विस्तार सम्पन्न गर्नुपर्ने हुन्छ। अनुदान र ऋण दुवै दिए ऋण रकम जापानलाई तिर्नु पर्नेछ।

यसअघि जापानले विस्तार गरेको कोटेश्वर–सूर्यविनायक ९ किलोमिटर सडक पनि अनुदानमै निर्माण गरेको थियो। त्यसैगरी बनेपा–सिन्धुली–बर्दिवास १ सय ६० किलोमिटर सडक पनि अनुदानमै निर्माण गरेकेा थियो। विभागका अनुसार जापानले सूर्यविनायक–धुलिखेल सडकखण्ड पनि अनुदानमै विस्तार गर्ने संकेत दिएको छ। विभागका अनुसार जापनले अनुदान वा ऋणमा भनेर चाँडै नै निर्णय गर्ने बतायो।

श्रेष्ठका अनुसार जाइकाले ऋण उपलब्ध गराए साँगामा अन्डरपास निर्माण गर्ने र घुमाउरो ठाउँमा सिधा पुल (भ्यायोडक) बनाउने योजना छ। जापानले ऋण दिए नमुना सडक बनाउने योजना रहेको विभागले जनाएको छ। प्रारम्भिक सर्वेक्षण अनुसार नमुना सडक बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्नेछ। जापानले अनुदान दिँदा थोरै रकम दिने हुँदा अनुदान दिए साँगाको अन्डरपास र घुमाउरो सडकमा राखिने भ्यायोडक हटाएर लागत घटाइने विभागले जनायो। जापानले अनुदानसहित ऋण वा अनुदान मात्रै दिने चाँडै निर्णय गर्ने बताउँदै विभागले सडक विस्तार त्यसलगत्तै थालिने जनायो।

सडक विस्तार गर्दा २०३३ को मापदण्ड अनुसार बनेका संरचना हटाइनेछ। संरचना हटाउँदा ०३३ सालअघि बनेका घरले मात्रै क्षतिपूर्ति पाउनेछन्। मापदण्डभन्दा बढी जग्गा आवश्यक परे मात्रै जग्गाको मुआब्जा दिइने विभागले जनायो।

प्रकाशित: २४ मंसिर २०७३ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App