१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मीको जितमा नवयुगको गोल

धरान- नवयुग श्रेष्ठको गोलमा त्रिभुवन आर्मी क्लबले आइतबार सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा मध्यपश्चिमाञ्चललाई १–० ले पराजित गरेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबारै भएको अर्को खेलमा भने सशस्त्र प्रहरीको एपिएफ र सुदूरपश्चिमाञ्चलले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

समूह चरणका दुवै खेलमा विजयी आर्मी ६ अंकसहित समूह ‘ख’ को शीर्षमा छ। १ खेलमा जित र १ खेलमा बराबरी खेलेको एपिएफ ४ अंकका साथ दोस्रो स्थानमा छ। सुदूरपश्चिमाञ्चलले १ अंक जोडेको छ भने दुवै खेल हारेको मध्यपश्चिमाञ्चल अंकविहीन छ।

राष्ट्रिय टोलीका फरवार्ड नवयुगले छैटौं मिनेटमा गरेको सुन्दर गोल आर्मीको जितमा निर्णायक बन्यो। कप्तान भरत खवासले अघि बढाउँदै गरेको बल मध्यपश्चिमाञ्चलका खेलाडीले खोसेर क्लियर गरेका थिए। राम्रो क्लियर नभएको त्यही बल नियन्त्रणमा लिएर नवयुगले करिब २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलअवधिभर मध्यपश्चिमाञ्चलले आर्मीको पोस्टमा आक्रमण बुन्न नसक्दा आर्मीले भने गोलका धेरै अवसर खेर फाल्यो। दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्डको सामना गरेपछि मध्यपश्चिमाञ्चल १० खेलाडीमा सीमित भएको थियो। आर्मीका सुमन अर्यालले हेडिङ गर्न खोजेको बललाई कृष्णले खुट्टाले प्रहार गरेका थिए। उनको प्रहार सुमनको अनुहारमा लागेपछि रेफ्रीले कृष्णलाई सिधै रातो कार्ड देखाएका थिए।

२८ औं मिनेटमा नवयुगको पास भरतले सदुपयोग गर्न सकेनन् भने दोस्रो हाफको पाँचौं मिनेटमा दीप लामाले वन भर्सेस वनमा गोल गर्न चुके। यस्तै, सातौं मिनेटमा टंक बुढाथोकीको प्रहार विपक्षी गोलकिपर प्रितम खड्काले समातेका थिए। प्रितमले खेल सकिन ३ मिनेट बाँकी छँदा भरतको कडा प्रहारलाई पञ्च गरेर सुन्दर बचाउ गरेका थिए।

एपिएफ र सुदूरपश्चिममाञ्चलले गोलका धेरै अवसर खेर फालेपछि गोलरहित बराबरीमा चित्त बुझाउनु परेको थियो। छैटौं मिनेटमा एफिएफका रामकुमार कुमालको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ३१ औं मिनेटमा आदित्य चौधरीको खतरनाक फ्रिकिक सुदूरपश्चिमाञ्चलका गोलकिपर टिकेन्द्र थापाले पञ्च गरेर विफल तुल्याए।

५१ औं मिनेटमा आदित्यको पासमा नविन लामाले गरेको हेड पोलमा ठोक्किएर फर्कियो। ६७ औं मिनेटमा रञ्जन विष्टको प्रहार गोलकिपरले समाते। दोस्रो हाफको इन्जुरी समयमा राजेन्द्र रावलको प्रहार सुदूरपश्चिमाञ्चलका गोलकिपरलाई लागेर फर्कियो। रिबाउन्डमा नविन लामाले गरेको प्रहार गोलकिपरले समाते।

सुदूरपश्चिमाञ्चलका जीवन चौधरीले सातौं मिनेटमा राम्रो अवसर खेर फाले। मनिराम चौधरीको पासमा एपिएफका गोलकिपर बिट भइसक्दा पनि जीवनले गोल गर्न सकेनन्। १९ औं मिनेटमा वन भर्सेस वनमा माधव भण्डारी गोल गर्न चुके। ६१ औं मिनेटमा मनिरामको पासमा जीवनले गरेकोे प्रहार एपिएफका गोलकिपरले पञ्च गरेर बचाए।

सोमबार समूह ‘क’ अन्तर्गत लिग चरणका अन्तिम खेल हुनेछन्। पहिलो खेल नेपाल पुलिस क्लब र मध्यमाञ्चलबीच हुनेछ भने दोस्रो खेलमा पश्चिमाञ्चल र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ११ पुस २०७३ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App