१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्णमा मुकुन्दको ह्याट्रिक

विराटनगर- मुकुन्द महर्जनले पुरुष ६७ केजीमा बाजी मार्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण पदकको ह्याटि्रक पूरा गरेको दिन विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा उनको क्लब एपिएफले दबदबा कायम गरेको छ। कुल १७ स्वर्ण पदकका लागि तीन दिन भएको प्रतिस्पर्धामा एपिएफले सर्वाधिक ८ स्वर्ण पदक हात पार्‍यो। विभागीय टोलीलेमात्र स्वर्ण जितेको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५ विधामा श्रेष्ठता कायम गर्‍यो भने नेपाल प्रहरीले ४ स्वर्ण पदक कब्जा गर्‍यो।

काठमाडौंमा ०६५ मा सम्पन्न पाँचौं तथा ०६८ मा सुदूर पश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका मुकुन्दले त्यही लयलाई निरन्तरता दिँदै ह्याटि्रकको कोसेढुंगा छुन सफल भए। अघिल्लो दिन उनकै क्लबका पर्शुराम बास्तोला यस्तै दूर्लभ सफलता प्राप्त गरेका थिए। राष्ट्रिय खेलकुदको इतिहासमा विरलै पाउन सकिने सफलता चुम्नका लागि उनले सोमबार तातामेमा सुदूर पश्चिमका मोहम्मद शेख आलममाथि ५–३ को नतिजा निकालेका थिए। त्यसअघि सेमिफाइनलमा मुकुन्दले मध्यमाञ्चलका विशाल पौडेललाई शिकार बनाएका थिए। विशालसँगै नेपाल पुलिसका भुपेन्द्र खड्काको भागमा कांस्य पदक परेको थियो।

'राष्ट्रिय खेलकुद नियमित रुपमा नहुने हाम्रो जस्तो देशमा स्वर्ण पदकको ह्याटि्रक गर्नु ठूलो उपलब्धी हो। मलाई आज आफ्नै उपलब्धीमा गौरव लागेको छ,' मुकुन्दले भने, 'मेरो लामो समयदेखिको निरन्तर मेहनतको फल पाएको छु। यो सफलताका लागि म एपिएफका टिम सहयात्रीहरू, गुरु र संगठनलाई धन्यवाद दिन चाहन्छु। आफूले खेलेका इभेन्ट्समा लगातार आठ वर्षसम्म शीर्ष स्थानमा रहिरहन सजिलो हुँदैन।'

पहिलो दुई दिनमा ६ स्वर्ण पदकको छिनोफानो हुँदा दुई विधामा सफलता हासिल गरेको एपिएफले सोमबार ६ स्वर्ण पदक थपेको थियो। सोमबार कराते प्रतियोगिताको अन्तिम दिन एपिएफका लागि मुकुन्दसँगै अनु अधिकारी, कल्पना बस्नेत, सपना लामा, मनिषा चौधरी र विजय लामाले स्वर्ण पदक जितेका थिए।

महिला ५० केजी फाइनलमा अनुले सेनाकी मिस्ली श्रेष्ठलाई ५–३ को नतिजामा हराउँदै स्वर्ण जितिन्। अनुसँग सेमिफाइनलमा पराजित मध्य पश्चिमकी मुस्कान शाह र पूर्वाञ्चलकी जिना सुब्बाले कांस्य पदक जिते। त्यस्तै कल्पनाले महिला ६८ केजी माथिको फाइनलमा सेनाकी रिता कार्कीलाई ७–१ को नतिजामा निराश पारिन्। सेमिफाइनलमा कल्पनासँग पराजित रोजिना रंजित र पुलिसकी मनिषा मोक्तानले कांस्य पदकमा चित्त बुझाए।

महिला ६१ केजी तौल समूहको फाइनलमा नेपाल पुलिस क्लबकी सुनिता महर्जनलाई ३–१ ले निराश पार्दै सपनाले स्वर्ण जित्दा पश्चिमाञ्चलकी अनु गुरुङ र मध्य पश्चिमकी प्रतिक्षा बिसी कांस्य पदकमा सीमित भए। मनिषाले भने महिला ५५ केजी तौल समूहको स्वर्ण जित्दा फाइनलमा पूर्वाञ्चलकी रमिता थापालाई ९–८ को अन्तरमा हराइन्। सेमिफाइनलमा उनले राष्ट्रिय खेलाडी पुलिसकी मल्लिका थापालाई पराजित गरेकी थिइन्। मल्लिकासँगै पश्चिमाञ्चलकी पूजा दर्नालले कांस्य पदक हात पारिन्। 

पुरुषतर्फ सोमबार एपिएफका लागि मुकुन्दबाहेक विजयलेमात्र स्वर्ण पदक जित्न सके। ५० केजी तौल समूहमा स्वर्ण पदक जित्न विजयले फाइनलमा मध्यमाञ्चलका नवराज श्रेष्ठलाई ५–३ को नतिजामा हराएका थिए। सेमिफाइनलमा विजयसँग पराजित पुलिसका सोनाम लामा र सुदूर पश्चिमका आकाश पालको भागमा कांस्य पदक पर्‍यो।

यसैगरी  पुलिसका तर्फबाट सोमबार सोनाम लामा, रविन्द्र कार्की र दिवस श्रेष्ठले स्वर्ण पदक जिते। पुरुष ५५ केजीमा सोनामले मध्यमाञ्चलका राजीव पुडासैनीलाई १२–१२ को बराबरीपछि सुपेरियारिटीका आधारमा पराजित गर्दै स्वर्ण जितेका थिए। सेमिफाइनलमा सोनामसँग पराजित सुदूर पश्चिमाञ्चलका गणेश बिक र एपिएफका लक्ष्मण तामाङले कांस्य पदक हात पारे। रविन्द्रले पुरुष ६० केजीको स्वर्ण जित्न फाइनलमा एपिएफका मोहन कार्कीलाई ८–४ ले पराजित गरे। मध्यमाञ्चलका राजकुमार रसाइली र प्रकाश घर्तीमगरले कांस्य पदकमा चित्त बुझाए। पुरुष ८४ केजीमुनि दिवसले पश्चिमाञ्चलका सुनील घर्तीमगरलाई ८–० ले निरीह पार्दै स्वर्ण पदकमा कब्जा जमाउँदा एपिएफका भिमबहादुर तामाङ र पूर्वाञ्चलका इश्वर माझीले कांस्यमा चित्त बुझाए।

पहिलो दुई दिनमा तीन स्वर्ण पदक जितेको आर्मीले अन्तिम दिन दुई स्वर्ण थप्यो। सेनाका लागि महिला ६८ केजी मुनि समूहमा विभुषा थापा तथा पुरुष ७५ केजीमा सुवाश घतानेले स्वर्ण पदक जिते। विभुषाले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा समेत सहभागिता जनाइसकेकी पुलिसकी अनुपमा मगरलाई ४–० को नतिजामा निराश पारेर स्वर्ण पदकमा कव्जा गरेकी थिइन्। उक्त विधामा पूर्वाञ्चलकी मिसडोना राई र मध्यमाञ्चलकी पूजा खनालले कांस्य पदक जिते। सुवाशले पुलिसका गंगाराम कुशवारलाई ९–९ को बराबरीपछि सुपेरियारिटीका आधारमा हराउँदै स्वर्ण पदक जितेका थिए। पूर्वाञ्चलका सन्त राई र एपिएफका वीरबहादुर रनेनीले कांस्य पदकमा चित्त बुझाए।

प्रकाशित: १२ पुस २०७३ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App