१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

महिला संस्कारप्रति गर्व

आजकल रोगका नाम सुन्दै जाँदा अनौठो लाग्छ। कल्पना नगरेका रोग मानिसमा देखिएका छन्। कतिपय रोगका नाम त उच्चारण गर्नै जानिँदैन। तथापि हामीले आफैं उब्जाएको रोगको नाम सजिलो छ– सिकायत र अहंकार। यो रोगको उपचार कुनै चिकित्सकसँग छैन। यसको औषधि कुनै औषधि पसलमा पाइँदैन। यो आफैँले उब्जाएको रोग हो र यसको उपचार आफैंले मात्र गर्न सकिन्छ । यसको औषधि आफ्नै हातमा छ र सजिलो छ  त्यो हो– सिकायत र अहंकारमुक्त जीवन जिउने कला जान्नु।

आजकल समाजमा सुनिन्छ, पत्रपत्रिकामा देखिन्छ, सामाजिक सञ्जालमा पढिन्छ कि अरुको कारणले मानिस सुखी छैन । अरुकै कारणले हिंसा बढिरहेछ । असफलता र अशान्ति छ त अरुकै कारणले छ। लैंगिक हिंसाको बहस होस् या समान अधिकारका कुरा, आरक्षणका कुरा हुन् या अवसरका कुरा, अरुले नदिएर नै पाइएको छैन भन्ने भ्रमले थिचेको छ । घरमा होस् या समाजमा, सडकमा होस् या सदनमा, सरकारमा होस् या राजनीतिमा विशेषगरी महिलाहरु आफ्नो अधिकार सुनिश्चितताका लागि आवाज उठाइरहेका हुन्छन् । अहिले त शिक्षित महिलाको संख्या बढिरहेको छ । सबै क्षेत्रमा महिला सहभागिता बढेको छ, त्यसैले अरुलाई दोष दिनेखालका महिलाका आवाज बढ्दै गइरहेका छन् । अरुले नदिएर नै महिला पछाडि परेको कुरा सर्वस्वीकार्य बनाउन कस्सिएका छन् ।

घरमा सासूको प्रसंग जोडेर होस् या कार्यालयमा हाकिमको, राजनीतिमा नेताको प्रसंग जोडेर होस् या सरकारमा दलको । कुनै न कुनै प्रसंगमा अरुकै कारण महिला पछि परेको गुनासोमात्र सुन्न पाइन्छ । सबै क्षेत्रमा महिलाले सम्मान पाएकै छन्, पुरुषले हिंसा गरेका छैनन्, सबै घरमा सासू÷ससुरा÷पतिको व्यवहार राम्रै हुन्छ भनेर ठोकुवा म गर्न सक्दिन तर  मेरो घरमा, मेरो कार्यालयमा, मेरो साथी सर्कलमा, देश÷विदेशमा कतै पनि अहिलेसम्म मैले अपमानजनक व्यवहार खेप्नुपरेको छैन । किन होला त ? म शिक्षित भएकाले ? मैले मेरो आवाज आफैं उठाउन सक्ने भएकाले ? अहँ होइन, मैले जहाँ जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो त्यहाँ त्यस्तै भूमिका निर्वाह गर्ने कोसिस गरेकी छु । मैले मेरा मातापिता, मेरा पति, सासू र घरपरिवारबाट सही संस्कार पाएको छु । श्रीमान्लाई या परिवारलाई जे कुराले राम्रो लाग्छ त्यो गर्नु मेरो गुण हो । परिवारमा प्रेम र सुमधुर सम्बन्ध कायम राख्न मैले ध्यान दिनैपर्छ । परिवार सुखभन्दा ठूलो भौतिक सुख अरु हुनै सक्दैन ।

घरको काम मैले नै गर्नुपर्ने, म पनि त जागिरे, पढेलेखेकी, पैसा कमाउने महिला हुँ नि भनेर बहस गर्नुपर्ने जरुरी म देख्दिन । घर सम्हाल्ने, छोराछोरीलाई असल संस्कार सिकाउने र कर्म गरेर आयआर्जन पनि गर्ने त्यो त मेरो खुबी हो र गुण हो । यसमा घमण्ड गर्नुपर्ने र मैले सबै कुरा गर्नुपर्ने भनेर आवाज उठाउन लायक देख्दिन । मेरो श्रीमान् र मेरो शैक्षिक योग्यता उत्तिकै छ, हाम्रो कमाई उत्तिकै छ र पनि मलाई बुहारी हुनुमा गर्व छ । श्रीमान्ले भन्दा मैले धेरै भूमिका निर्वाह गर्नुपर्छ, समय व्यवस्थापनदेखि लिएर घरका साना÷मसिना काममा म धेरै खट्नुपर्छ र पनि मेरो सिकायत छैन । मैले मेरो संस्कारमा जे सिकेको छु त्यो मलाई स्वीकार्य छ । ममा सिकायत र अहंकार मैले जानेसम्म छैन । मेरो व्यक्तिगत अनुभूति, कामको अनुभूति र माइती घरमा छोरीचेली हुँदा होस् या कर्म घरमा बुहारी हँुदा, उत्ति नै प्रेम र सम्मान पाएकी छु । श्रीमान्को सहयोग छ, छोराछोरीको प्रेम छ, अरु परिवारका सदस्यबाट सद्भाव छ । त्यसैले त मेरो घर नै मन्दिर जस्तो छ, खुशी र सुख छ ।

अलिकति शिक्षित र कर्मयोगी हुँदैमा हाम्रो संस्कारको खुलेर विरोध गर्नुपर्छ भन्ने मान्यतामा मलाई विश्वास छैन । हाम्रो नेपाली संस्कार र प्रचलन धेरै वैज्ञानिक लाग्छन् जुन  धर्ममा जोडिएको होस् या आस्थामा, लैंगिक हिंसा र लैंगिक समानताको बहस चलिरहँदा हाम्रो संस्कारले छोरा र छोरीलाई सिकाएका छुट्टाछुट्टै संस्कार पनि मलाई स्वीकार्य लाग्छन् जुन वैज्ञानिक पनि छन् । मलाई छोरी हुनुमा र आफ्नो संस्कार अवलम्बन गर्नमा गर्व छ । म छोरी भएर पनि मेरा माता÷पिताले मलाई राम्ररी हुर्काउनुभयो, शिक्षादीक्षा दिनुभयो र आत्मनिर्भर बन्न सिकाउनुभयो । म कर्मघरमा पनि आफूलाई बुहारी हुनुमा गर्व गर्छु । हिजो माइतीमा चेली भएर ढोग खान्थें आज घरमा बुहारी भएर सासूको, जेठानीहरु र आमाजूहरुको गोडा ढोग्छु । घरतर्फका मान्यजन पुरुष वर्गलाई शिर भुइँमा निहुराएर ढोग्छु । आफ्ना गुरुहरुलाई ढोग्छु। मलाई आनन्द आउँछ कुनै सिकायत आउँदैन  मैले कुनै करकापमा र कर्तव्यमात्र सम्झेर यो गरेको हुन्न । भित्रै अन्तर्मनदेखिको प्रेम र श्रद्धाले गरेको हुन्छु  किनकि ढोग्नु भनेको आफ्नो अहंकार र सिकायत उहाँहरुको पाउमा लगेर विसर्जन गरिदिनु हो । भगवानको मूर्तिमा शिर निहुराएर ढोग्नुको अर्थ पनि त्यही हो । मेरा अहंकार र सिकायत दूर गरिदेऊ भगवान भनेर प्रार्थना गर्नु हो ।

मेरो बुझाइमा शिक्षा, आत्मनिर्भरता र अवसर आवश्यक छन् महिलाका लागि तर संस्कार झनै अत्यावश्यक छ  किनकि महिलालाई महिला भएकै सुहाउँछ  त्यसैले त प्रकृतिले महिला र पुरुषको सृष्टि गरेको छ । महिलालाई मातृत्वको गुण दिएको छ, सहनशीलता र नम्रताको गुण दिएको छ । पुरुषलाई तार्किक, राजनीतिज्ञ, विश्व हाँक्ने, चन्द्रमामा जाने खुबी दिएको छ । बहिर्मुखी गुण दिएको छ । चिया पसलमा चिया पिउँंदै राजनीतिका गफ ,विश्व परिवर्तनका गफ हाँक्न सुहाउँछ पुरुषलाई । यसमा महिलाले आपत्ति जनाउनुपर्ने के छ ? महिलालाई घरभित्रको सुख, व्यवस्थापन र घरको शान्ति कसरी कायम राख्ने त्यो अन्तर्मुखी गुण प्रकृतिले नै दिएको छ । स्याउको रुखमा स्याउ नै फलेको सुहाउँछ । अरु ठीक हुनासाथ म त ठीक हुन्छु भन्ने कारणले नै  आज मानिस  अशान्ति र तनावमा जीवन जिएको छ। हिंसा र भेदभावमात्र देख्ने भएको छ । मानिस आफूलाई  होइन, अरुलाई परिवर्तन गर्नमा  तल्लिन छ। श्रीमती श्रीमान्लाई बदल्न लागिपरेकी  हुन्छिन् भने श्रीमान  श्रीमतीलाई । यो  चेष्टा जीवनभर गरिरहन्छन्  । त्यस्तै आमा बुबाले छोराछोरीलाई, प्रेमीले प्रेमिकालाई एवं सासूले बुहारी र बुहारीले सासूलाई। अरुलाई बदल्न सके म त ठीक हुन्छु भन्ने सोचाई असफल प्रयास हो । अरुलाई बदल्ने कोसिस, अरुमा दोष देख्ने बानी र अरुमाथि विजय हासिल गर्ने सारा खेल अहंकार र सिकायतबाट उत्पन्न हुन्छन् जसको नतिजा आफू सधँैं अरुबाट अपहेलित भएको अनुभव हुन्छ । यही हो सिकायत र अहंकारको रोग जुन रोग निको पार्न आफू नै सकारात्मक र सहनशील हुनुपर्छ।

प्रकाशित: १३ पुस २०७३ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App