१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

भद्रगोल सातौँ राष्ट्रिय खेलकुद

पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदको फितलो व्यवस्थापनले मुलुकमा सञ्चालित खेल गतिविधिलाई मात्र बुझाउँदैन, राज्यले त्यसमा रहेको चरम बेवास्ता पनि उजागर गर्छ। विभिन्न विधामा हुने राष्ट्रिय खेलकुदबाट खेलाडी जन्मने र तिनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने हुन्। यस्ता प्रतियोगिताले व्यावसायिक बन्न चाहने खेलाडीको जीवनमा अत्यन्तै महत्व राख्छ, त्यसैले यसको नियमिततामा जोड दिइन्छ। राष्ट्रिय खेलकुदको सातौँ शृंखलाको दृश्यले खेलकुदमा लगानी बालुवामा पानीजस्तै हुन पुगेको छ। खेलाडीले विजयको सम्मान पाउँदा ताली बजाउने दर्शक पनि नहुनु आयोजकको चरम लापरबाही हो। मुलुकमा राष्ट्रियस्तरको खेलकुद हुने विषयबारे आवश्यक प्रचारप्रसार हुनुपर्छ। त्यसनिम्ति विज्ञापनका विभिन्न माध्यमको उपयोग पनि गर्नुपर्छ। प्रतियोगिता स्थलवरपरका खेलप्रेमीसम्म बेलैमा जानकारी पुग्नुपर्छ। तर, राष्ट्रिय खेलकुदमा खेलप्रेमीको उपस्थिति सामान्य विद्यालयस्तरको वार्षिक कार्यक्रमजत्ति पनि हुन सकेको छैन। राष्ट्रिय खेलकुद यसका अन्य संस्करणभन्दा निकै कमजोर रहन पुगेको मूल्यांकन गरिएको छ। मुलुकमा खेल गतिविधि गर्ने जिम्मेवारी सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई दिएको छ। विडम्बना, परिषद् लामो समयदेखि राजनीतिक भागबण्डामा चल्दै आएको छ। यसकारण पनि परिषद्ले आवधिक खेलकुद गराउन सकिरहेको छैन। फुटबल खेल हुने एकमात्र सुविधासम्पन्न मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशाला झण्डै दुई वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन। त्यस निकायले विभिन्न खेलनिम्ति आवश्यक मैदान तयार पार्न त सकेको छैन नै भएका फुटबल, क्रिकेटलगायतका भौतिक संरचनालाई जोगाउन र आवश्यक मर्मतसम्भार पनि गर्न सकेको छैन। यस्तो अवस्थामा खेलाडी हतोत्साही हुनु र दर्शकले चासो नराख्नु स्वाभाविक बन्न पुग्छ।

पछिल्लो समय क्रिकेटले आशा जगाएको छ। फुटबलमा पनि राम्रा खेलाडी उत्पादन हुन थालेका छन्। क्रिकेट र फुटबलमा नेपाली खेलाडीमाथि अन्तर्राष्ट्रिय क्लबका नजर पर्न थालेका छन्। यी दुई खेल संसारमै बढी दर्शक पाउने खेल हुन्। तर, फुटबल तथा क्रिकेट प्रवर्द्धनको जिम्मा पाएका हाम्रा आधिकारिक संस्था लामो समयदेखि विवादित छन्। राजनीतिक हस्तक्षेपले खेल बुझेका मान्छेलाई पाखा लगाएर दलको झोला बोक्नेलाई निर्णायक जिम्मेवारी सुम्पने संस्कारले खेलकुदको उन्नति हुन सक्दैन। पूर्वाञ्चलमा फुटबललगायतका विभिन्न राष्ट्रिय प्रतियोगिता बाक्लै हुन्छन्। निजी संस्थाले सञ्चालन गरेका कतिपय प्रतियोगिताले राष्ट्रिय स्वरूप लिन थालेका छन्। नयाँ खेलाडी जन्माउन ती प्रतियोगिता सहायक भएका छन्। भर्खरैमात्र त्यहाँ दुहबी गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो। उक्त खेल सशुल्क हेर्न दर्शकको भीड लागेको थियो। तर, राज्यले सञ्चालन गरेको राष्ट्रिय प्रतियोगितामा दर्शक नहुनुमा खेलकुद परिषद्को फितलो तयारी जिम्मेवार छ। परिषद्ले यो प्रतियोगितालाई महत्व नदिएको देखिएको छ। यही कारण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्रीलगायतले यसलाई हल्का रूपमा लिए। परिणामतः प्रतियोगितामा अनुशासनहीनताले प्रश्रय पायो। यो प्रतियोगिताका लागि ३४ करोड रुपैयाँ बजेट छुट्याइएको र त्यसमध्ये ३० लाख प्रचारप्रसारमा राखिएको छ। प्रचारप्रसारका लागि छुट्याइएको रकम निकै कम हो। तथापि, यही रकमबाट पनि कम्तीमा पूर्वाञ्चलका खेलप्रेमीलाई प्रतियोगिताबारे जानकारी गराउन सकिन्थ्यो। यसबाट पनि परिषद्ले यो प्रतियोगिता बिनातयारी आयोजना गरेको बु‰न सकिन्छ।

फितलो व्यवस्थापन तथा भद्रगोलका कारण विभिन्न खेल विवादित हुन पुगेका छन्। रेफ्रीमाथि हातपात, विभागीय टोलीद्वारा बीचैमा खेल परित्याग, घन्टौँ खेल अवरुद्धजस्ता घटना यस पटक सामान्य हुन पुगे। त्यतिमात्र होइन, आयोजकले निर्धारित तालिका (टाईसिट)अनुसार खेलसमेत गराउन सकेन। परिषद्ले पटकपटक खेलको मिति सार्नु र खेलतालिका परिवर्तन गरिदिनुले पनि दर्शक नआएको देखिन्छ भने खेलाडीमा उत्साह कम हुन पुगेको देखिन्छ। दर्शक बसेर खेल हेर्ने स्थानको पनि राम्ररी व्यवस्था गरिएको छैन। यसले खेलाडी निराश त भएका छन् नै राज्यको लगानी पनि उपलब्धिहीन हुन पुगेको छ।

प्रकाशित: १४ पुस २०७३ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App