जलवायु अनुकूलनमा सक्रिय हुँदै महिला

बिहिबार, १४ पुष २०७३, १३ : २५ मधुसुधन गुरागाईं


फूलबारी (काभ्रे)–भूकम्पले भत्किएको घर पुनर्निर्माण गर्न दाप्चाकाशीखण्ड–३, बाँझपोखरीकी उमा पराजुलीले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझिन् । त्यसमध्ये ४० हजार रुपैयाँ घर बनाउँदा चाहिने पानी किन्नमै खर्च भयो ।

‘सिमेन्ट र इँटाको जोडाइका घर बनाउँदै छौँ । यस्तो घरलाई पानी चाहिरहने रहेछ,’ खर्चको पुस्ट्याइँ गर्दै उनले भनिन् । घरको जगदेखि छानोसम्म हाल्दा करिब ४० हजार लिटर पानी खर्च भइसकेको उनले सुनाइन् । ‘रोशी खोलादेखि पानी ढुवानी गर्दा प्रतिलिटर एक रुपैयाँ पर्न गयो । गाउँमै पानी भएको भए यति धेरै खर्च लाग्ने थिएन,’ उनले थपिन् ।

पहिले उनको गाउँवरिपरि ६० भन्दा बढी पानीका मूल थिए । अहिले अधिकांश मूल सुकिसकेका छन् । जलवायु परिवर्त या अन्य कारणले मूल सुकेको हो भन्नेबारे उमासँगै गाउँका महिलाको एउटा समूह दुई वर्षदेखि अनुसन्धानमा जुट्दै आएको छ । महिला नेतृत्वमार्फत जलवायु अनुकूलनसम्बन्धी कार्यमूलक अनुसन्धानका लागि उनीहरूलाई इसिमोडले सघाउँदै आएको हो ।

 ‘वर्षको तीनदेखि चार वटासम्म पानीका मूल सुक्दै गएको हामीहरूको अनुसन्धानले देखायो । एक दशकमा ४० वटा मूल गायबै भइसकेको रहेछ,’ समूहकी अध्यक्ष नानु घतानीले भनिन् ।

अनुसन्धानबाट पानीको मूल सुक्दै गएको निष्कर्षमा पुगेपछि पहिलोपटक महिला समूहले पूर्वअनुकूलनको उपायका रूपमा अकासेपानी संकलन गर्ने घ्याम्पो, जुठेल्नाको पानी संकलन पोखरी र वर्षात्को पानी संकलन गर्ने प्लास्टिक पोखरी बनाउने निधो गरे । अहिले सात हजार लिटर पानी अट्ने ७० वटा प्लास्टिक पोखरी र दुई हजार लिटर पानी अट्ने २५ घ्याम्पो समूहका सदस्यसँग रहेको छ ।

‘जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिला तथा बालबालिकालाई पर्ने भए पनिसुरुमा यसबारे गाविसलगायत सहयोगी संघसंस्थालाई बुझाउनै कठिन भयो । बिस्तारै ज्ञान र सीप पाएपछि सबै काम सजिलो हुँदै गयो,’ घतानीले भनिन् ।
समूहका सदस्यले हिउँदमा पोखरीको पानीले तरकारीबालीलाई सिँचाइ पु¥याउँछन् । जुठेल्नाको पानीले करेसाबारीलाई र घ्याम्पोमा संकलित पानी वस्तुभाउलाई खुवाउँदै आएका छन् ।

इसिमोडकै सहयोगमा समूहका दुई महिला र दुई पुरुषले सिन्धुपाल्चोक, चौतारासम्म पुगेर पुनर्भरण (रिचार्ज) पोखरी बनाउँदा पानीको मूल पलाउने ज्ञान र सीप सिकेर आएका छन् । ‘मूलमा पानी जाने नसा चिनेर पोखरी बनाए या पोखरीमा रिचार्ज गरे मूल फर्कने रहेछ । गाउँको सिँढीनजिकैको मूल पलाएर अहिले १० घरधुरीले पानी खाइरहेका छन्,’ घतानीले भनिन् ।

अनुकूलन कार्यमूलक अनुसन्धान समूहमा दलित ३०, ब्राह्मण÷क्षेत्री ३० र तामाङ ३५ गरी ९५ घरधुरी आबद्ध छन् । जल संरक्षण, युवा, सरसफाइ र ज्येष्ठ नागरिक गरी चार उप–समूह बनाइएको छ । सबै उप–समूहको नेतृत्वसमेत महिलाले नै गर्दै आएका छन् ।

‘सुरुमा खासै ज्ञान भएन र महिलामात्रै आबद्ध हुँदा पुरुषको सहभागिता कम हुन थाल्यो । जलवायु परिवर्तनले दुवै पीडित हुने तथ्य थाहा भएपछि समूहमा पुरुषको सहभागिता मिलाएका छौं । यसले काम गर्न छिटो छरितो र सजिलो हुन थाल्यो,’ समूहकी सचिव नीमा लामाले भनिन् ।

‘२९ दिन परिवारलाई, एक दिन समुदायलाई’ नारासहित महिनाको एकपटक गाउँ सरसफाइमा सबै घरबाट सहभागी हुने, वातावरण संरक्षणका लागि मासिक १० रुपैयाँ संकलन गर्ने, पूर्वअनुकूलनबारे सडक नाटक र स्कुलले विद्यार्थीलाई जानकारी प्रदान गर्न थालिएको लामाको भनाइ छ ।
जलवायु परिवर्तनबारे गाउँमा अनुसन्धान थालेपछि आफूहरुको जिल्लास्थित सरोकारवाला सरकारी निकाय र गैरसरकारी संघसंस्थासँग राम्रो सम्बन्ध भएको उनले बताइन् ।
यसै वर्ष जेठमा पानी परेन भने मकै छर्न सम्भव हुन्न भनेर समूहले असारका लागि भनेर जिल्ला कृषि विकास कार्यालयबाट कोदोको  बीउ ल्याएका थिए । ‘कोदो एक पाथी र मकै एक पाथीको एक सय रुपैयाँ नै पर्न आउँछ । कोदोसँग मकै साटे पनि भयो । अर्को वर्षमा विकल्प आवश्यक हुन सक्छ । यसलाई हामीले विकल्प बाली छनौट भन्दै आएका छौँ,’ उनले भनिन् ।

 त्यस्तै, नजोतीकन मकै, गहुँ, तोरी छर्ने विधि सिकेको घतानीले बताइन् । छौं । ‘तरकारीबालीमा कम पानीका लागि छापो हाल्ने (मल्चिङ) पनि सिकेका छौं । समूहका महिला सदस्यले बिस्तारै लागू गरिरहनुभएको छ,’ घतानीले भनिन् ।

योजनाबद्ध अनुकूलनका रुपमा आगामी १० वर्षसम्म के–के गर्ने र कहाँ पुग्ने भन्ने मार्गचित्र समेत समूहले तयार पारेको छ । यसमा जलवायु परिवर्तनका सम्भावित घटनाबारे पूर्ण तयारी, महिलामा नेतृत्व क्षमता विकास र हस्तान्तरण, लोपोन्मुख बीउ संरक्षणका लागि सामूहिक बीउ बैंक, परिस्थितिअनुसार समाधान गर्न नसकिने विषयलाई वैकल्पिक उपायले समेट्ने लगातय रहेका छन् ।

‘अहिल्यै नै हाम्रा बारीमा कहिल्यै नदेखिएका झार आउन थालेको छ । यसलाई पूरै हटाउन नसकिए पनि विकल्पमा बायो ब्रिकेट बनाउन त सकिन्छ नि,’ घतानीले भनिन् ।
अनौपचारिक समूहमा काम गर्दै आएका उनीहरुले काभ्रे जिल्लाकै पहिलो सामुदायिक वातावरण संरक्षण तथा जलवायु अनुकूलन समूहका रूपमा संस्था दर्ता गराएका छन् । यसबाट उनीहरुको राष्ट्रियस्तरका संघसंस्थासँग जलवायु अनुकूलनका लागि सहकार्यको अवसर समेत खुलेको छ ।

‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा गरिब एवं जलवायु संकटासन्न महिलाको पहुँच हुने नै भयो । यसले सेवा प्रदायक र उनीहरुबीचको सम्बन्धलाई समेत बलियो बनाउन मद्दत गर्ने भयो,’ इसिमोडको लैंगिक तथा जलवायु परिवर्तन विज्ञ सुमन विष्टले भनिन् ।
दाप्चा काशीखण्ड नगरपालिकाले समेत आगामी वर्षबाट समूहलाई वातावरणमैत्री स्थानीय शासन कार्यक्रममार्फत सहयोग गर्ने भएको कार्यकारी अधिकृत डम्बर दाहालले जानकारी दिए ।


‘आव ०७३÷७४ को वार्षिक नगर विकास योजनामै जलवायु परिवर्तनबाट पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न सरोकारवाला निकाय, गैससं तथा विकास साझेदारसँग समन्वय र सहकार्य गरी स्थानीय अनुकूल कार्ययोजना तर्जुमा गरी कार्यान्वयमा ल्याइने उल्लेख छ,’ उनले भने ।
जिल्लामा जलवायु अनुकूलनका क्षेत्रमा काम गरिरहेको यो समूहसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्न सक्ने ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखाका इन्जिनियर अन्जित गौतमको भनाइ छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...

विप्लवको ‘अभिजित’

कवि तथा गीतकारका रूपमा परिचित विप्लव प्रतीक उपन्यासकारको रूपमा पाठक माझ आउने भएका छन् । ‘अविजित’ शीर्षकको उपन्यास कात्तिक ११...