१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

काठमाडौं कि धुलमाडौं!

काठमाडौंमा धुलो र वायुप्रदूषणका कारण पाँच वर्षमा बिरामी दोब्बर भएका छन्। उसो त काठामाडौंबासीले धुलोको पीडा भोग्नुपरेको अहिले मात्र होइन, तर २०६८–६९ मा धुलो तथा वायुप्रदूषणले उत्पन्न गरेको असरले बिरामी पर्नेको संख्या करिब १६ हजार थियो भने २०७२–७३ मा त्यो बढेर झण्डै २९ हजार पुगेको छ। काठमाडौंका कतिपय स्थानमा सडक विस्तारका लागि भत्काइएका संरचना असरल्ल छाडिएका छन्। केही समय अघिदेखि काठामाडौंबासीलाई मेचलम्चीको पानी दिने उद्देश्यमा पाइप बिछ्याउनका लागि खनिएका सडक समयमा निर्माण हुन नसक्नाले धुलो अचाक्ली बढेको छ। अहिले सतहमा यी दुई मुख्य कार्यले काठमाडौंबासीलाई सास फेर्नै सकस परिरहेको छ। यही कारण उपत्यकाबासीमा श्वासप्रश्वासजन्य रोगको संक्रमण बढ्दै गएको छ। त्यतिमात्र होइन, काठमाडौँलाई 'धुलमाडौं' बनाउन पुराना सवारी साधन, जथाभावी सडककिनारामा निर्माण सामग्री थुपार्ने चलन तथा कलकाराखानाले पनि भूमिका खेलेका छन्। चिकित्सकहरूका अनुसार सन् २०१४ को फेबु्रअरीदेखि ०१५ को सोही महिनासम्म गरिएको अध्ययनले काठमाडौं उपत्यकाको पीएम साइज २.५ भन्दा सानो 'पोलुन्टेड' (कण)को मात्रा औसतभन्दा दोब्बर बढी भएको छ। यो साइजका पोलुन्टेड फोक्सोबाट छिरेर रगतमार्फत् सम्पूर्ण शरीरमा फैलन सक्छ। यस्ता प्रदूषणमा केमिकल प्रवेश गरेमा असर झनै भयानक हुन्छ। सामान्यतः यस्ता कणको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा उपत्यकामा ८७ सम्म रहेको पाइएको छ।

धुलोको असर जाडो याममा बढी हुन्छ। यही जाडोमा काठमाडौंमा विभिन्न सिलसिलामा चौतर्फी सडक भत्काइनुका साथै, भूकम्पले ध्वस्त पारेका संरचनासमेत पुनर्निर्माण हुन सकेको छैन। उता, विस्तारका निम्ति भनेर लामो समयदेखि कछुवा गतिमा काम भइरहेको चक्रपथवरपर धुलोको कहानी कहिनसक्नु छ। चक्रपथ, राजधानीका मूल सडक, भित्री तथा अन्य सहायक सडकको खराब अवस्थाले उपत्यकालाई धुलाम्य पारिदिएको छ। धुलो तथा वायुप्रदूषणले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका, सुत्केरी तथा दीर्घ र कडा रोगका बिरामीमा बढी असर गरेको छ। धुलोकै कारण अहिले उपत्यकाबासी अधिकांशमा नाक बन्द हुने, हाच्छ्युँ आइरहने, खोकी लाग्ने, घाँटी दुख्नेजस्ता असर बढेको देखिन्छ। स्वास्थ्यविद्हरू चिसो मौसममा धुलो तथा वायुप्रदूषणले श्वासप्रश्वास, दम वा ब्रोंकाइटिसमात्र होइन टाउको दुख्ने, अनिद्रा, मुटु, पेट तथा मानसिक रोग पनि लाग्न सक्ने बताउँछन्। यी रोगले शरीरका अन्य भागमा पनि असर गर्ने हुनाले धुलो तथा वायुप्रदूषणबाट बहुरोग उत्पन्न हुने देखिन्छ। धुलो, वायुप्रदूषण र ध्वनि प्रदूषणले मान्छेलाई नजानिँदो ढंगमा डिप्रेसनको सिकार बनाउन सक्ने सम्बद्ध विज्ञ बताउँछन्। सर्वसाधारणमा घरबाहिर निस्कँदा मास्क लगाउने, जरुरी काम नपरी वा नियमित काममा जानेबाहेक अन्यले घरभित्रै बस्ने, आफ्नातर्फबाट कमभन्दा कम धुलो वा वायुप्रदूषण हुने क्रियाकलाप गर्नेजस्ता चेतना रहेको देखिँदैन।

निर्माण, पुनर्निर्माण तथा विकासका लागि सडक, पेटी वा व्यक्तिका घरै पनि भत्काउनुपर्ने हुन सक्छ। तर, भत्काइएका संरचनालाई समयमै स्थानान्तरण गरी निर्माण सम्पन्न गर्दै कसरी नागरिकलाई धुलो तथा वायुप्रदूषणबाट छिटो मुक्त गर्ने भन्ने विषयमा सरकारको चासो अत्यन्तै न्यून गएको देखिन्छ। राज्यको यो ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। भौतिक पूर्वाधार, यातायात, टेलिकम, खानेपानीजस्ता सीधै सडकसँग जोडिएका सरकारी निकायबीच समन्वयको अभाव छ। यी निकायबीच समयमा राम्ररी समन्वय गर्न सक्दा पनि भत्काइएका संरचना लामो समयसम्म नबन्ने समस्या कम हुन्छ। एकातिर समन्वयको अभाव त छँदैछ अर्कोतिर बिनायोजना सडक निर्माण तथा सडक विस्तारका नाममा जथाभावी खाल्टो पार्ने गरिन्छ। यसले भत्काइएका संरचना लामो समयसम्म पुनर्निर्माण हुन सक्दैन र अधिक धुलो उत्पन्न हुन पुग्छ। सरकारले २० वर्षे सवारी काठमाडौँबाट हटाउने कुरा गरेको पनि लामो समय भइसकेको छ। त्यसलाई पनि व्यावहारिक ढंगमा कार्यान्वयनमा ल्याउन सकिएको छैन। सवारीसाधनको अवस्था तथा त्यसले फाल्ने धुवाँको चेकजाँच गर्ने काममा पनि अनियमिता भएको पाइन्छ। थोत्रा तथा ठीक अवस्थामा नरहेका सवारीका कारण वायुप्रदूण बढिरहेको छ। राजधानीमा सवारी संख्या अनियन्त्रित रूपमा बढिरहेको छ। सडक विस्तार तथा नवनिर्माणको तुलनामा सवारी संख्या वृद्धिदर निकै बढी छ। साँच्चै नै सरकार जनस्वास्थ्यप्रति संवेदनशील छ भने विस्तारका नाममा भत्काइएका सडक अविलम्ब निर्माण गर्नुपर्छ। काकाकुलको नियति भोग्दै आएका राजधानीबासीलाई मेलम्चीको स्वच्छ पानी पिलाउने उद्देश्यमा खनिएका सडक किनारमा छिटोभन्दा छिटो पाइप बिछ्याएर त्यसलाई धुलो नउड्ने अवस्थामा पुर्‍याउनुपर्छ।

प्रकाशित: १७ पुस २०७३ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App