१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रदेश ६ का चुनौती

नेकपा (एमाले) छ नम्बर प्रदेश संगठन कमिटीले मंसिर १७ र १८ गते प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला गरी 'प्रदेशको विकास तथा समृद्धिको प्रारम्भिक घोषणापत्र' सार्वजनिक गर्‍यो– 'नेकपा (एमाले) को उद्घोष, सुन्दर र समृद्ध छ नम्बर प्रदेश!' 'आफ्नो प्रदेश आफैँ बनाऔं, विकास र समृद्धिको ढोका खोलौं!' भन्ने मूल नाराका साथ यो घोषणापत्र सार्वजनिक गरियो। यस घोषणाले चुनौतीको पहाड बोकेर सम्भावनाको ढोका खोल्ने प्रयास गरेको छ प्रदेशभित्रको। देशको एक जिम्मेवार दलको प्रदेश कमिटीभित्र समृद्धिको बहस चलाएको छ भने अन्य दललाई समेत एक नमुना प्रस्तुत गरेको छ। यसले नेपाली राजनीतिको वर्तमान कार्यभारप्रति इमानदार प्रयत्नको थालनी गरेको छ।

यस प्रदेशको धरातलीय यथार्थलाई आत्मसात गर्दै चुनौतीलाई अवसरका रूपमा उपयोग गरेर विकासको 'मोडालिटी' बनाउन सकेमा त्यसलाई सम्भावनामा परिणत गर्न सकिनेछ।
 

प्रदेशको वर्तमान अवस्था

छ नं.प्रदेशको क्षेत्रफल ३१,८७३ वर्ग कि.मि. छ। जुन देशको कुल क्षेत्रफलको २१.६६ प्रतिशत हुन आउँछ। २०६८ को जनगणनाअनुसार यस प्रदेशको कुल जनसंख्या १६,२३,६०२ छ। यो देशको कुल जनसंख्याको ६.१२ प्रतिशत हो। मानव विकास सूचकांक ०.४०९ रहेको यस प्रदेशको साक्षरता दर ६५ प्रतिशत छ। यो देशको कुल साक्षरता दरभन्दा २३.६ प्रतिशतले कम हुन आउाछ। त्यस्तै प्रदेशको औसत आयु करिब ६० वर्षमात्र छ। यो देशको औसत आयुभन्दा ११ वर्षले कम हुन आउँछ। यहाँका नागरिकको प्रतिव्यक्ति वार्षिक आय करिब ८० हजार रुपियाँ देखिन्छ। यो देशको औसत प्रतिव्यक्ति वाािर्षक आयअन्दा ७० हजार रुपियाँले कम हुन आउाछ। कुपोषण, बाल मृत्यु दर र मातृ मृत्यु दर पनि यस प्रदेशमा अरु प्रदेशको भन्दा बढी नैं छ। यी केही महत्वपूर्ण सूचकका आधारमा हेर्दा अहिलेको अवस्थामा यो प्रदेशको आर्थिक, सामाजिक र राजनीतिक सहभागिताका हिसावले कमजोर रहेको प्रतीत हुन्छ। भौगोलिक क्षेत्रफलका हिसावले यो प्रदेश अन्य सबैभन्दा ठूलो छ भने प्रतिव्यक्ति आम्दानीका हिसावले सात नम्बर प्रदेशभन्दा मात्र अगाडि छ। अरु सबै सूचकमा हालसम्म अन्य ६ वटै प्रदेशभन्दा यो प्रदेश पछाडि देखिन्छ। 

प्रदेशको नाम र राजधानी

प्रदेशको नाम र राजधानीका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेअनुरूप भविष्यमा कार्यान्वयनका लागि थप बहस आवश्यक होला। तर प्रदेशको वैज्ञानिक र वस्तुवादी आधार अंगीकार गर्ने हो भने ऐतिहासिक सन्दर्भ, कर्णाली सभ्यता, कर्णाली नदी बेसिनसमेतका आधार ध्यानमा राख्दा प्रदेश नम्बर ६ को नाम 'कर्णाली प्रदेश' राख्न उचित देखिन्छ। त्यसैगरी भौगोलिक अवस्था, भौतिक पूर्वाधार, जनताको सेवा सुविधालगायतका तथ्यलाई ध्यानमा राखेर प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राख्दा न्यायोचित हुने देखिन्छ।

प्रदेशका चुनौती

माथि उल्लिखित सूचकबाट यो प्रदेशमा चुनौतीका पहाड छन् भन्ने स्पष्ट हुन्छ।  भौतिक विकासको दृष्टिबाट सबैभन्दा पछि परेको प्रदेश हो यो। सडक पुगेका जिल्लामा राम्रो पक्की सडक पुग्न सकेको छैन भने हुम्ला र डोल्पा जिल्ला अझैसम्म पनि सडक मार्गले छुन सकेको छैन। आधारभूत पूर्वाधारको समुचित विकास हुन नसक्नु यो प्रदेशको प्रमुख चुनौती हो। भौगोलिक विकटता र मानव बस्ती छरिएर रहनु यहाँको समानुपातिक विकासका लागि अर्काे ठूलो चुनौती हो। 'देशभित्रै देश खोज्नुपर्ने' अवस्थामा छ यो प्रदेश। भोकमरी, महामारी, उपचारको कमी, कुपोषण, प्राकृतिक प्रकोपमा परेर सित्तैमा मर्नुपर्ने ज्यादै कारुणिक दृश्यको नमुना पनि हो प्रदेश नम्बर छ। राज्यको आँखामा सधैँ उपेक्षित रहनु र केन्द्रमा पहुँच स्थापित हुन नसक्नु यो प्रदेशको अर्को ठूलो चुनौती हो। सुर्खेत र सल्यानबाहेक अन्य कुनै पनि जिल्ला खाद्यान्नमा आत्मनिर्भर छैनन्। यो प्रदेशको दक्षिणतिर छिमेकी राष्ट्र भारतसँग जोडिने निकास विन्दुसमेत छैन। अर्कोतिर उत्तरतिरका नाकासमेत भरपर्दोरूपमा खुलेका छैनन् र तत्काल उत्तरी नाका खुलाउनुपर्ने चुनौती प्रदेशसामु छ। एकातिर केन्द्रबाटै कम बजेट विनियोजन हुने र अर्कोतर्फ विनियोजित बजेट पनि समयमै खर्च नभएर फ्रिज हुने समस्या थप चुनौती हो। 

प्रदेशका सम्भावना

विभिन्न चुनौतीका बाबजुद यस प्रदेशको गर्भमा विराट सम्भावना लुकेका छन्। तिनीहरुको अध्ययन, विश्लेषण, पहिचान र सही सदुपयोग गर्न सकेको अवस्थामा चुनौती सहजै निराकरण गर्न सकिने सम्भावना छ। यो प्रदेश जलस्रोतमा अत्यन्त धनी छ। 'प्रदेशको गौरव :  हाइड्रो हब' नीति अवलम्बन गर्दै अघि बढ्न आवश्यक छ। देशको सम्पूर्ण सम्भाव्य जलविद्युत् क्षमतामा आधाभन्दा बढी विद्युत् ऊर्जा उत्पादनको क्षमता यही प्रदेशमा छ। यसको सदुपयोग गर्न सकेको खण्डमा प्रदेशकै काँचुली फेरिन सक्छ। प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक धरोहर, सांस्कृतिक सम्पदा, पर्या–पर्यटन यो प्रदेशका अमूल्य सम्पत्ति हुन्। यहाँ देशकै ठूलो र गहिरो रारा तालदेखि मानसरोवर कैलाशको मूलमार्ग, विभिन्न आकर्षक ताल र दह, हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, वेशभूषा, चाडपर्व, घरेलु प्रविधि आदि सम्पदाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्न सक्नेछ। यस प्रदेशलाई जडीबुटीको राजधानी नै भन्न सकिन्छ। हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने धान, मकै, गहँु, फापर, जौ, स्याउ, सुन्तला, केरा, अम्बासमेत उत्पादन हुन्छ भने प्रदेशका विभिन्न स्थानमा चौंरी, भेडा, घोडा, भैसीं, गाई, बाख्रासमेत पशुपालन हुन्छ। साथै कस्तूरी, मृग, रेडपाण्डा, डाँफे आदि महत्वपूर्ण पशुपन्छीको बासस्थान पनि यही प्रदेश हो। यसैगरी यस प्रदेशको पशुपालन र कृषि उत्पादनलाई विविधीकरण र व्यावसायीकरण गर्न सकिने सम्भावना उत्तिकै छ। 'आफ्नो प्रदेश, आफँै बनाऔं' भन्ने उद्घोषका साथ प्रदेशको विकास तथा समृद्धि आफैँले गर्न पाउने अवसरको उपयोग गर्न सकिने र उपस्थित सक्रिय जनशक्तिलाई प्रशिक्षित गर्दै प्राविधिक ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्न जरुरी छ। प्रदेशको विकासका लागि आर्थिक/सामाजिक रूपान्तरणको नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादन पहिलो लक्ष्य हुनुपर्छ। यसरी विकासमा जनताको स्वामित्व र अपनत्व स्थापित गर्न सकिनेछ।

यो प्रदेश जैविक विविधताको भण्डार हो। यसको सही व्यव्स्थापन गर्न सके विकासमा ठूलो योगदान पुग्न सक्नेछ। यहाँको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुमा लगानीको चासो बढिरहेकाले पनि त्यसलाई सदुपयोग गरेर भविष्यमा यहाँका ठूला आयोजना सञ्चालन गर्न सकिने पनि त्यत्तिकै सम्भावना बढेको छ। कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्य पहाडी पुष्पलाल राजमार्ग, अपर कर्णाली, भेरी बबई डाइभर्सन, नलसिं गाड जलविद्युत् आयोजना, शारदा जलविद्युत आयोजना, तिला जलविद्युत् आयोजनालगायतका ठूला र मझौला जलविद्युुत् आयोजना पनि यस प्रदेशका विकास र समृद्धिका आधार बन्न सक्नेछन्। यहाँ प्रशस्त खानी र खनिज पदार्थ छन्। यहाँका मौलिक सिप, संस्कृति, रहनसहन, नाच गीत, स्थानीय बाली, उत्पादन आदि पनि यो प्रदेशलाई विकासतर्फ डोर्‍याउने महत्वपूर्ण साधन बन्न सक्छन्। उत्तरी छिमेकीसँग जोडिएका हुम्लाको हिल्सा, लाप्चा, चवाखोला र टाँके, डोल्पाको धो मोरिम्ला र मुगुको नाग्चे लाग्ना नाका खोल्ने र व्यवस्थित गराउने, तिनीहरुलाई सडक मार्गले जोड्ने काम पूरा भएमा पनि यस प्रदेशकै समग्र विकासमा धेरै ठूलो योगदान पुग्नेछ। 

अध्यक्ष, नेकपा (एमाले) हुम्ला

प्रकाशित: १९ पुस २०७३ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App