पूर्वाधार विकासमा व्यवधान

बुधबार, २७ पुष २०७३, १० : ३४ सम्पादकीय

यतिखेर राजधानीका केही क्षेत्रमा सडक विस्तारका साथै नवनिर्माण पनि सुरु भएका छन् । विस्तार होस् या नवनिर्माण, त्यसका लागि मौजुदा संरचना आंशिक वा पूरै भत्काउनुपर्ने अवस्था आउनु अस्वाभाविक होइन । यो काममा कहिले प्रभावित स्थानीय त कहिले अदालत बाधक बन्दै आएको देखिन्छ, जसका कारण समयमा निर्माण सम्पन्न नहुने मात्र होइन बीचैमा काम रोकिएको अवस्था पनि छ । निरन्तर जारी यस्ता व्यवधानले राजधानीको मुहार फेरिन र यो सुविधायुक्त बन्न सकिरहेको छैन । राजधानी भित्रिने प्रमुख नाका नागढुंगादेखि त्रिपुरेश्वरम्मको साढे १२ किलोमिटर सडक विस्तारको विरोधमा प्रभावित क्षेत्रका बासिन्दाले दायर गरेको मुद्दामा अदालतले ‘स्टेअर्डर’ जारी गरिदिएको छ । अदालतको आदेशका कारण सडक विस्तार रोकिन पुगेको छ । अत्यधिक चाप हुने उक्त सडक हाल २ लेनको मात्र छ, त्यसलाई बढाएर ६ लेनको बनाउने सरकारको योजना रहेको छ । २०७२ असारमा सुरु भएको उक्त योजना २८ महिनाभित्र सम्पन्न गर्ने उद्देश्य राखिएको थियो । तर, कामले गति लिन नसक्दा समयमा नसकिने अवस्था निम्तिएको छ । यस्तो अवस्था अन्यत्र पनि कायम छ । पुराना संरचनालाई त्यत्तिकै छाडेर सडक विस्तारको काम हुन सक्दैन । यसमा राज्यपक्ष जति गम्भीर हुनु आवश्यक छ त्यति नै प्रभावित सर्वसाधारण पनि जिम्मेवार बन्न सक्नुपर्छ । अन्यथा, भौतिक पूर्वाधार विकासको कल्पना नगरे पनि हुन्छ । यसको अर्थ सरकारले मनलाग्दी ढंगमा सर्वसाधारणको घरबस्ती हटाउँदै निर्माणका नाममा जनतालाई उठिबास लगाउने काम गर्नुपर्छ भन्ने किमार्थ होइन ।

राजधानीलाई उसै पनि अनियन्त्रित जनघनत्व तथा अवैज्ञानिक बसोबासले अव्यवस्थित बनाइदिएको छ । राज्यको केन्द्रमुखी सोचका कारण राजधानीमा यसरी अकल्पनीय ढंगमा जनघनत्व बढेको हो । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापका साथै सुस्त सडक विस्तारले ट्राफिकजाम नियमित हुन थालेको छ । उता, भौतिक निर्माणसम्बद्ध सरकारी निकायबीच समन्वयको अभावले सडक निर्माण तथा विस्तारको काम अत्यधिक प्रभावित छ । खानेपानी वा ढल, टेलिकम, सडक विस्तार अथवा पिच गर्ने सन्दर्भमा नै किन नहोस् अहिले राजधानीका अधिकांश सडक खाल्डाखुल्डीयुक्त र खनेर छाडिएको अवस्थामा छन् । यसले सर्वसाधारण धुलो–धुवाँका साथै सम्भावित दुर्घटना र गन्तव्यमा समयमा पुग्न नसक्ने संकटबाट गुज्रिन बाध्य भएका छन् । यी परिदृश्यले पनि राजधानीका सडक विस्तारमात्र होइन विभिन्न क्षेत्रमा वैकल्पिक सडक निर्माण पनि अत्यावश्यक रहेको देखाउँछन् ।

काठमाडौँ उसै पनि ऐतिहासिक बसोबासको थलो हो । आजभन्दा दुई दशकअघि ठूला लाग्ने कतिपय सडक अहिले निकै साँघुरा हुन पुगेका छन् । पुराना बस्ती रहेका कतिपय क्षेत्रका सडक २ लेनका पनि छैनन् । अब तिनलाई विस्तार नगरी सुखै छैन । पुराना बस्ती होस् या राज्यको नीति–नियममुताविक बनेका निजी संरचना भत्काउँदा सरकारले उचित मुआब्जा उपलब्ध गराउनुपर्छ । मुआब्जा नदिइ जबर्जस्ती निजी सम्पत्ति हटाउन खोज्दा त्यसबाट प्रभावित जनताको उठिबास हुने सम्भावना रहन्छ । कुनै पनि नागरिकलाई थातबासहीन बनाउनु हुँदैन । यसकारण पनि सरकारले जुनजुन क्षेत्रमा सडक विस्तार गर्ने योजना बनाएको छ, त्यस क्षेत्रका स्थानीयलाई कतै स्थानान्तरण गरिदिने वा आफै जग्गा अधिग्रहण गरी प्रभावितलाई वितरण गर्ने काम गर्न सक्नुपर्छ । यति गर्न सक्दा विकास प्रभावित जनताले राज्यपीडित हुने अवस्था आउँदैन । पञ्चायतकालमा राजधानीका कतिपय क्षेत्रमा सरकारले जबर्जस्ती सर्वसाधारणका जमिन खोसेर सडकलगायतका अन्य भौतिक पूर्वाधार विस्तार गरेको थियो । त्यसबखत निरंकुश राज्यव्यवस्थाका कारण जनता बोल्न सक्ने अवस्थामा थिएनन् । पटकपटक पञ्चायतले राजधानीका बासिन्दाको जमिन निःशुल्क लियो, जनतालाई राज्यपीडित बनायो । त्यो सकस र पीडा भोगेका राजधानीबासी अहिले लोकतान्त्रिक गणतन्त्रको युगमा आइपुग्दा पनि राज्यबाट उस्तै व्यवहार सहन सक्दैनन् । राज्यले पनि जबर्जस्ती गर्न मिल्दैन– गर्नु हुँदैन । यसकारण सरकारले प्रभावित क्षेत्रका जनतालाई चित्तबुझ्दो ढंगमा मुआब्जा दिँदै सडक विस्तार वा अन्य भौतिक पूर्वाधार विकासको काम अघि बढाउन सक्दा निर्माण कार्य सहज हुन जान्छ । अन्यथा, काठमाडौँका मात्र होइन अन्य क्षेत्रका जनताले पनि सरकारको विकासयोजनामा अवरोध गरिरहने अवस्था आउन सक्छ ।









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ। ...

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको...

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

भूकम्पपीडितका नागरिकको पुर्नवासका एकीकृत बस्ती निर्माण गरेर उल्लेखनीय योगदान गरेका चर्चित हास्यव्यङग्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे...

जीवन शैली बदल्ने किताब

जीवन शैली बदल्ने किताब

बागमती सफाइ महाअभियानका अभियन्ता एवं लाइफ कोच डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ नामक किताब राजधानीमा विमोचन गरिएको छ ।