१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाउँमा चुनाव लक्षित गतिबिधि बढाउँदै दलहरु

प्रस्तावित त्रिवेणी नलगाड नगरपालिकाको भगवतीमा नेपाली काँग्रेसले आयोजना गरेको आमसभा।

जाजरकोट–स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने चर्चासँगै यहाँका प्रमुख राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन्। 

पार्टीका केन्द्रिय र जिल्ला स्तरका कार्यक्रम लिएर जनमत आकर्षित गर्ने क्रम बढ्दो छ। 
संसदको सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले गाउँ जागरण अभियान भन्दै आमसभा र जन–भेटघाट कार्यक्रम बढाएको छ। दोस्रो ठूलो दल नेकपा एमालेले पनि नयाँ संविधान कार्यान्वयनका लागि जागरण अभियान भन्दै गाउँ केन्द्रित गतिबिधि गरिरहेको छ।

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि गाउँ जागरण अभियान तथा पार्टी एकता अभियान भन्दै गाउँमा प्रशिक्षण, भेटघाट तथा आमसभा गरिहेको छ। 

आगमी चुनावलाई लक्षित गरेर गाउँमा पार्टीका गतिविधिहरु अघि बढाएको नेताहरु बताउँछन्। 
जिल्लाको पूर्वी भेगमा नेपाली काँग्रेसले गतिविधि गरिरहेको छ भने उत्तरी तथा पश्चिमी भेगका  गाउँहरुमा नेकपा माओवादी केन्द्रले सक्रियता बढाएको छ। एमालेको पनि जिल्लाव्यापी अभियानहरु जारी छन्।
१९ वर्ष पछि हुने स्थानीय तहको  निर्वाचनका लागि दलहरु जनताको मत आफनो पक्षमा पार्न मिति घोषणा हुनु अघि नै कस्सिएका छन्।

निर्वाचनका लागि जनतालाई तयारी अवस्थामा राख्न र कार्यकर्ताहरुलाई जागरुक बनाउन  गाउँ जागरण अभियान जिल्लाव्यापी बनाइएको कागँ्रेसका सभापति दिपकजंग शाहले बताए। 

एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले  पार्टीको  केन्द्रिय कार्यक्रम अनुसार संविधान कार्यान्वयनका लागि दवाव दिन जागरण अभियान थालिएको भन्दै स्थानीय तहको निर्वाचनलाई पनि लक्षित गरिएको बताए।
यस्तै नेकपा माओवादी केन्द्रका नेता पुर्णदेव शर्माले चुनावको पूर्व तयारीका  रुपमा आफूहरु गाउँ जागरण अभियानमा सक्रिय रहेको बताए।

२०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले बढी सिट जितेको थियो भने   २०५४ को स्थानीय चुनावमा एमालेले  बढी सीट जितेको थियो। जिल्ला विकास समितिमा भने  २०४९ मा राप्रपा र २०५४ मा एमालेले नेतृत्व गरेको थियो। 

अहिले राज्य पुनःसरंचना आयोगले जाजरकोटका लागि तीन नगरपालिका र चार गाँउपालिका हुने भनी  सिफारिस गरेको  छ। जिल्लामा स्थानीय तहमा प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको बीचमा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।
 

प्रकाशित: २७ पुस २०७३ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App