१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कलमबन्दी

लेखकहरू साहित्य लेखनलाई एउटा अम्मलकै रूपमा लिन्छन् । एक प्रकारको ‘एडिक्सन’ मान्छन् लेखनकर्मलाई । किनकि, लेख्ने आदत बसेका सर्जकहरू त्यो कर्म चटक्कै छाडेर नलेखी बस्न कसै गरे पनि सक्दैनन् । लेखनको नशाले एक प्रकारको ‘अशक्यता’ उत्पन्न गरिदिन्छ लेखकका मनभित्र र ती जसरी भए पनि समय निकालेर लेख्न बस्छन् । कलमबन्दी तिनका निम्ति अप्रिय अवस्था हो । लेख्ने बानीले कतै मनभित्र एडिक्सनका रूपमा जब जरा गाडेर बस्छ तब नलेख्नु वा लेख्ने अवसर नै नपाउनुले एक प्रकारको पीडा दिन्छ । तर, संसारमा केही यस्ता लेखक छन् जो कुनै समयमा लेखनमा ख्याति कमाएर पनि कुनै कारणले लेख्न छाडिदिन्छन् । नेपालमा पनि केही यस्ता लेखक छन् जो आफ्नो समयमा साहित्यका विभिन्न विधामा चर्चा कमाएर केही समयपछि लेखनलाई चटक्कै बिर्सन पुगेका छन् । यसरी लेख्न छाड्नुका पछिल्तिर कुनै कारण अवश्य पनि लुकेका हुन्छन् । नेपालका केही लेखकले आफूले साहित्य लेख्न छाड्नुको कारण नागरिक अक्षरसँग ओकलेका छन् ।

स्तम्भ लेखनमै रमाएँ : जैनेन्द्र जीवन

साना कविता हुँदै कथा लेखनमा होमिएका जैनेन्द्र जीवन आफ्नो समयका चर्चित कथाकार हुन् । कथामा मात्र हैन कविता र निबन्धमा उनको कलम उत्तिकै सक्रिय थियो । बीसको दशकको उत्तराद्र्धदेखि पचासको दशकसम्म सक्रिय साहित्य सृजनामा उनी लागे । जब साठीको दशक सुरु भयो तब विस्तारै उनका साहित्य लेखन सेलाउँदै गए । तातेको आगोको राप निभ्दै विस्तारै खरानी भएजस्तै, उनको साहित्य लेखन सेलाउँदै गयो । बगर, मधुपर्क, गरिमाजस्ता थुप्रै आवधिक साहित्यिक पत्रिकामा उनका सृजना लगातार छापिन्थे उतिबेला ।

आफूले किशोरावस्थादेखि लेख्न थालेको जैनेन्द्र सम्झन्छन् । ‘कविता, मुक्तक, गजल पत्रपत्रिकामा छापिँदा लेख्ने हौसला थप चुलिन्थ्यो,’ उनी भन्छन् । साझा प्रकाशनले २०३४ सालमा उनको ‘धर्साहरू जो कोरिए धर्साहरू जो कोरिएनन्’ शीर्षकको कथासंग्रह प्रकाशित ग¥यो । त्यसपछि उनको नाम कथाकारका रूपमा चुलियो । फुट्कर कथाहरू पत्रिकामा छपाउँदै जाँदा २०३८ सालमा पोखराका साहित्यकार विजय बजिमयले उनको अर्को कविता, गजल, मुक्तक, कथा, निबन्धको संयुक्त संग्रह निकालिदिए । जसको शीर्षक ‘सपनाहरूको पालो पहरा’ थियो ।

साझा प्रकाशनले उनको अर्को कथासंग्रहका लागि निकै ताकेता ग¥यो । तर, उनी अल्छी भए । अखबारी लेखनमा मन बस्न थाल्यो उनको । ‘समसामयिक विषयमा अखबारमा लेख्दा तत्कालै पढ्न पाइने र प्रतिक्रिया पनि आउने भएपछि साहित्य सृजना ओझेल पर्न थाल्यो,’ उनी भन्छन् ।

कुनै समय उनले लेखेका सािहित्यिक रचनाको थुप्रो हुन्थ्यो घरमा । अचेल पत्रिकाको स्तम्भका चाङ लाग्छन् । लामो समय सरकारी जागिर खाए उनले । जिम्मेवारी थपिदै जाँदा सचिवसम्म भए । कामको तनाव, देशदेशान्तरको दौडाहा । अनि प्रशासनिक सिकाइअह्राइको किचलो । सरकारी कागजमा हस्ताक्षर गर्दागर्दै उनका हातले साहित्य लेख्नै भुले । ‘पत्रपत्रिकामा निस्कने अरुका साहित्य भने पढ्न छाडेको छैन,’ उनी भन्छन् ,‘तर कुनै आधा त कुनै थोरै पाना पढेर छाड्छु ।’ आफूले नलेखेर हैन, अचेल आउने सृजनालाई उनी हतारको उपज मान्छन् ।

सरकारी कामबाट मुक्ति पाएपछि भने उनी विभिन्न दैनिक, साप्ताहिक पत्रिकाको स्तम्भकार बने । स्तम्भको चर्चा–परिचर्चामा यसरी डुबे कि अहिले सानो कविता लेख्न पनि उनलाई जाँगर चल्दैन । ‘कविता, कथा लेख्न त्यसै हुँदैन फरक शिल्प चाहिन्छ,’ उनी भन्छन्, ‘स्तम्भ लेख्दा एउटा मुद्दामा केही तथ्य खोतलेर लेखे पुग्छ ।’ स्तम्भको दिगोपना साहित्य सृजनाको जस्तो नहुने उनले अनुभूत भने गरेका छन् ।

बिनाकारण रोकिएँ:  द्वारिका श्रेष्ठ

कवि द्वारिका श्रेष्ठले बीसको दशकमै चर्चा कमाइसकेका थिए । तर, समयक्रमसँग चाहँदाचाँहदै पनि कविताका हरफ फेरि कोर्न सकेनन् । ‘कविता त फुर्छ तर हातले कागजमा लेखन मन गर्दैन,’ उनी भन्छन्, ‘खै किन हो धेरै कम लेख्छु ।’ केही महिनाअघि एउटा तीनपुस्ते कविहरूको जमघटमा उनी पुगे । त्यो कार्यक्रममा सुनाउनका लागि उनले नयाँ कविता लेख्ने प्रयास गरे, तर सकेनन् । पुरानै कविता सुनाएर उनले कार्यक्रममा आफ्नो उपस्थिति जनाए । लेख्नभन्दा पनि पढ्न र सुन्नमा आफूले पछिल्लो समय बढी खर्चिएको उनी बताउँछन् । उनी कविता लेख्दा यति घोत्लिन्थे कतिपय कविता लेख्न उनले एक वर्षसम्म लगाएका छन् ।

कविता लेख्न छाडेको दशकौँ भए पनि उनी अझै नेपाली साहित्यका नयाँ–पुराना पुस्ताबीच परिचत छन् । किनकि, उनले आफू नलेखे पनि साहित्यिक प्रवद्र्धनको काममा भने निकै सक्रिय रहँदै आएका छन् । २०१६ सालमा ‘शीतको थोपा’ शीर्षकमा प्रकाशित उनको पहिलो कवितासंग्रह हो । २०३२ सालमा ‘द्वारिका श्रेष्ठका कविता’ पनि आयो । नेपाली कवितामा एउटा बेग्लै प्रयोगका कारण उनको कविताको चर्चा अहिले पनि हुन्छ ।

उनको समयमा मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, रत्नशमशेर थापा, धु्रवचन्द्र गौतम, भूपि शेरचन, पुरुषोत्तम बस्नेत, भुवन ढुंगानालगायत साहित्यमा निकै सक्रिय थिए । केही अझै पनि सक्रिय छन् । ‘म आफू सृजना गर्नेमात्र हैन, समग्र नेपाली साहित्यको प्रवद्र्धन होस् भनेर साहित्यिक पत्रिका पनि निकाल्थेँ,’ उनी पुराना दिन सम्झन्छन् । केही समकालीन लेखकको सहयोगमा उनले ‘अमलेख’, ‘सिउँडी’जस्ता पत्रिका निकालेका थिए । ‘कविता भन्नु बिम्ब हो । बिम्बले नै पाठकलाई तान्ने हो,’ उनी भन्छन्, ‘अहिले कविता लेख्न खोइ मभित्र बिम्बकै अभाव पो भएको हो कि ।’

द्वारिकाले लेख्ने समय बीस र तीसको दशकका कतिपय कविका कवितालाई नेपाली कविताको मानक मानिन्छ । द्वारिकासँगै मोहन कोइराला, भूपि, पारिजात, कृष्णभक्त, मोहन रेग्मीजस्ता कविका कविता अहिले पनि कविताप्रेमी पाठकले रूचिपूर्वक पढ्ने गरेका छन् । ‘हामी कविताका परम्परावादी धार ताडेर प्रयोगवादी धारतिर डोहो¥याउन चाहन्थ्यौँ,’ उनी भन्छन्, ‘नयाँ सोच र दृष्टिकोण कविता र सृजनामा स्थापित गर्न खोज्थ्याँै ।’ पुरस्कार र आम्दानीका लागि चाकरीवाजी परम्पराको अन्त्य गर्ने सोच उनको थियो । कसैलाई खुसी पार्नकै लागि कविता नलेख्ने उनी कविता मात्र हैन कवि स्वयं पनि स्वतन्त्र हुनुपर्छ भन्ने ठान्थे । आफूले लेख्न चटक्क छाडेका बेला पनि बजारमा आएका सृजना भने पढ्न छाडेका छैनन् । तर, नयाँ लेखक पुरानाका तुलनामा बढी प्रचारमुखी भएको हो कि भन्ने उनलाई लाग्छ । ‘साहित्यकार शालीन हुनुपर्छ । साहित्यका शब्दकै जोडबलमा यसको दिगोपन तय हुन्छ,’ उनी भन्छन्, ‘फोस्रा सम्बन्धकै भरमा चाटुकारिता गर्नेहरूले अहिलेको साहित्यिक वातावरण बिगारेका हुन् भन्ने पो लाग्छ मलाई त ।’
 

अध्ययन–अनुसन्धानमै व्यस्त भएँ:  तुलसी दिवस

तुलसी दिवस बीस र तीसको दशकका चर्चित कवि हुन् । धनकुटाका उनी किशोरावस्थामा चित्र कोर्न मन पराउँथे । लोकगीतका शौखिन थिए । तर न त स्रोत–साधन उपलब्ध थियो न त स्कुलमा चित्र र संगीतको विषयलाई महŒव नै दिइन्थ्यो । त्यसैले पनि रंगको भाव छाडेर उनी शब्दको भाव पोख्नतिर लागे । थोरै लेखेर धेरै चर्चा बटुल्ने कविमध्ये एक हुन् उनी । अचेल उनका नयाँ कविता कतै पढ्न पाइँदैन, तर कार्यक्रमहरूमा भने सुन्नचाहिँ पाइन्छ ।

‘लेख्न छाडेको त होइन, लेखिराखेकै छु, तर आफै सन्तुष्ट नभई कविता बाहिर ल्याउँदिनँ,’ दिवस भन्छन्, ‘कवितालाई संख्यात्मक भन्दा गुणात्मक बनाउनुपर्छ ।’ यतिवटा कविता र कथा लेखेको छु भन्नुभन्दा पनि कति महŒवपूर्ण र प्रभावशाली रचना लेखियो भन्ने कुरो अगाडि आउँछ । ‘नयाँ मूल्य–मान्यता र कवितामै नयाँ अवधारणा राख्नु महŒवपूर्ण हुन्छ,’ उनी भन्छन् । कवितामा लेखिने अक्षर एउटै भए पनि त्यसले दिने मर्म, भाव र कोरिने शैली फरक भए मात्र नयाँ कविताले अर्थ राख्ने उनी प्रष्ट्याउँछन् ।

‘वैज्ञानिकले नयाँ आविष्कार गरेर प्रकृतिमा निहित सत्य बाहिर ल्याउने हो, तर स्रष्टाले सत्यमात्र हैन पूरै नयाँ सृजना गर्नुपर्छ,’ उनी नयाँ कविता लेख्न नसक्नुका कारण खुलाउँछन्, ‘जुन तालीका लागि हैन, गालीका लागि हैन, डराएर पनि हैन स्वच्छन्द हुनुपर्छ ।’ उनका उतिबेलाका कवितामा लहडबाजी हैन, हरेक कविताले एउटा फरक अर्थ राख्थ्यो । उनी काव्यात्मक रचना लेख्दा पहिला के लेखेँ, अगाडी के लेख्दैछु, कस्तो लेख्दैछु ,कसरी लेख्दैछु भन्ने चेतसहित लेख्न मन पराउँछन् । तर निश्चित परिधि र सीमित घेराभित्र बस्दा कविताको संरचनामा नवीनता नआउने हो कि भन्ने उनलाई डर लाग्छ । ‘मेरा पछिल्ला कवितामा यी सबै तŒव पूरा नभएकैले प्रकाशनका लागि धेरैपल्ट माग्दा पनि दिएको छैन,’ उनले भने, ‘केही समयअघिसम्म त आफूलाई चित्त बुझेको अवस्था वा राम्रो लाग्दा सम्पादकलाई सार्न लगाएर पनि कविता छाप्न दिएको थिएँ ।’

उनको प्रमुख विधा कविता नै हो । उनलाई अन्य विधाभन्दा कवितामा बढी विश्वास लाग्छ । ‘आफ्ना भावनालाई मज्जाले कवितामा बाहिर ल्याउन सक्छु,’ उनी भन्छन् । कुनै समय उनी प्रज्ञा–प्रतिष्ठानमा पनि थिए, सबैभन्दा कम उमेरको सदस्यका रूपमा । उमेर पाको हुँदै गयो, त्यसले पनि साहित्यिक सक्रियतामा थोरै असर ग¥यो । स्रोह सालतिर उनले ‘हृदयको बालक’ शीर्षकको कविता वाचन गर्दा प्रज्ञाकोे पुरस्कार नै जिते ।

चालीसको दशकम्म पनि मधुपर्क, गरिमालगायतका साहित्यिक पत्रिकामा उनका कविता प्रशस्तै पढ्न पाइन्थ्यो । कविता नकोरे पनि साहित्यिक गतिविधिमा भने उनको उपस्थिति बाक्लै देखिन्छ । निकारागुआमा हुने तेह्रो विश्व काव्य सम्मेलनमा सहभागी हुन केही दिनमा उनी त्यता जाँदैछन् । जहाँ नोबेल पुरस्कार विजेता संसारभरिका कवि आउँछन् । यसअघि नै उनी थुप्रै अन्तर्राष्ट्रिय साहित्यसम्मेलनमा सहभागी भैसकेका छन् ।

अचेल कविताको धार शब्दहरूको चाङजस्तो मात्र लाग्छ उनलाई । ‘दुई–चार जना राम्रा छन्,’ उनी नयाँ कविका बारेमा भन्छन्, ‘प्रयत्न गरेका छन् कविताप्रतिको भित्रीभन्दा पनि सतही धार बलियो भएको देख्छु ।’ नेपाली कवितालाई अन्तर्राष्ट्रिय पाठकसामु पु¥याउनका लागि संरचना र विषय–प्रस्तुतिका दृष्टिकोणले लेखिनु आवश्यक रहेको उनले औँल्याए । सामथ्र्य भएका लेखकले पनि सिक्न, अन्य मुलुकका लेखकसँग छलफल गर्न तथा विमर्श, चिन्तन, बहस गर्न सक्नुपर्ने उनको बुझाइ छ । यस्तो उत्सुकता नयाँ कविमा नरहेको उनलाई लाग्छ । कविताको गोरेटोमा फर्कने बाचा गर्दै उनी केही वर्षदेखि नेपाली लोकसंस्कृति संरक्षणसँगै अध्ययन–अनुसन्धानमा लागेका छन् । उनी गाउँखाने कथा तथा अन्य लोकसंस्कृतिको मौखिक इतिहासको अवधारणामा काम गरिरहेका छन् ।

चिकित्सा पेशामै हराएँ: अरुण साय्मी
उपन्यासकार, गीतकारका रूपमा समेत परिचय बनाएका डा. अरुण सायमिका साहित्यिक कृति बजारमा नआएको थुप्रै वर्ष भयो । पछिल्लो समय समसामयिक लेखमा केन्द्रित छन् उनी । उनले ‘दरबार हत्याकाण्डदेखि जनआन्दोलनसम्म’ नामक विचारप्रधान पुस्तक गतवर्ष ल्याएका थिए । चिकित्सक भएका कारण आफ्नो पेशासम्बन्धी पुस्तक पनि उनले लेखेका छन् । मुटु रोगरबारे उनको पुस्तक उपयोगी मानिन्छ । तर, नेपाली साहित्य भण्डारमा उनले नयाँ पुस्तक दिन सकिरहेका छैनन् । उनले नेवारी भाषामा तीन र नेपाली भाषामा तीन साहित्यिक कृति लेखेका छन् । ‘हाकुचा’ पुस्तक उनले १९ वर्षको छँदा लेखेका हुन् । ह्याँउ स्वा (रातो फूल) र  ओचुमिला (नीलो चन्द्रमा ) उनका अन्य कृति हुन् ।

उनले ‘मर्दीको किनार’मा सन् १९८२ मा लेखे । जसको टेलिफिल्म बनेर दर्शकमाझ पनि आयो । त्यसपछि उनले ‘रातो टीका’ र ‘आस्था’ नामक पुस्तक पनि ल्याए । कविताको संकलन ‘अरुण’ पनि लेखे । ‘तिमीलाई’ शीर्षकमा गीति एल्बम नै तयार पारे । जसमा रहेको नवीन के. भट्टराईले गाएको ‘ए झरी नझरीदेऊ यसरी...’ बोलको गीत सदाबहार मानिन्छ ।

पेशागत व्यस्तता तथा समसायिक लेखनमा समय दिए पनि साहित्य लेखन बन्द भने नगरेको उनको भनाइ छ । ‘समसामयिक लेखनको आवश्यकता र महŒव अहिले बढी छ,’ उनी भन्छन्, ‘छापिएलगत्तै देशदेशान्तरमा रातारात चर्चित बन्छ, प्रतिक्रिया पनि तत्काल आइहाल्छ ।’ उनका पिता धुस्वाँ सायमि चर्चित साहित्यकार थिए । पिताकै बाटोमा लाग्ने इच्छा अझै रहेको उनको भनाइ छ । ‘साहित्यिक कृतिको बजार, पाठक बुझ्नै कठिन । मेहनत र खर्च बढी लाग्ने, कृतिबारेको मत बुझ्न पनि समय लाग्ने भएकाले म साहित्यमा कम ध्यान दिन थालेँ,’ उनी भन्छन्, ‘उपन्यास लेख्न मन लागिरहेको छ । कुनैबेला लेखुँला ।’ वास्तवमा उनलाई लेख्ने समय निकाल्नै कठिन छ । मुटुरोग विशेषज्ञ उनी हाल मनमोहन हार्ट सेन्टरमा प्रमुख छन् ।

विद्यार्थीलाई नाटक सिकाउनमै रमाएँ: मनबहादुर मुखिया

मनबहादुर मुखिया नाटक लेखनमा प्रख्यात नाम हो । उनले लेखेका नाटक मञ्चनका निम्ति उपयुक्त हुन्छन् । पुस्तैनी घर दोलखा भए पनि सानैमा दार्जीलिङ बसोबास गर्न पुग्दा उतैबाट उनको लेखनी सुरु भयो । स्कलुमा सन् १९६२ मा कक्षा नौ मा पढ्दादेखि नै उनले नाटक लेखनमा पाइला हाले । ‘नाटक मलाई सानैदेखि मनपर्ने विषय,’ उनी भन्छन्, ‘आफै खेल्ने अनि साथीहरूलाई खेलाउने स्कुल पढ्दा नै गर्थें ।’ सन् १९६४ मै उनले दुई नाटक त्रिकोण र वियोग लेखिसकेका थिए ।

नेपाली साहित्यमा तीसको दशकतिर उनी बढी चर्चामा आए । त्यसपछि लगातार उनका नाटक ‘अनि देउराली रुन्छ’, ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘फेरि इतिहास दोहोरिन्छ’ दर्शकमाझ आए । ‘अँध्यारोमा बाँच्नेहरू’ पनि दर्शकले खुबै मन पराए । उनका कतिपय नाटक छापिएका छैनन्, पाण्डुुलिपिमै छन् ।

सुरुसुरुका दिनमा उनी कविता पनि लेख्थे । मधुपर्क, रुपरेखाजस्ता साहित्यिक पत्रिकामा छापिन्थे उनका कविताहरू । अहिले भने उनको त्यो सशक्त लेखनी रोकिएझैँ भएको छ । ‘लेख्नै छाडेको त हैन, तर दर्शक–पाठकका लागि नलेखेको मात्र हो,’ उनले भने, ‘उही त हो व्यक्तिगत जीवनका व्यस्तता र शिक्षण पेशामै समय गयो ।’ लामो समय पद्मकन्या क्याम्पसमा शिक्षण गरेका उनी हाल जेभियर एकेडमीका विद्यार्थीलाई नाटक सिकाउँछन् ।

आफूले नाटक भुलेको नभई कलेजका विद्यार्थीका लागि तीनवटा नाटकमा काम गरिरहेको उनी बताउँछन् । ‘अब फेरि विस्तारै फर्कंदैछु लेखनतिर,’ उनले भने, ‘साहित्य लेखनीमा जीवन बिताएका व्यक्तिहरूको जीवनीमा काम गर्ने धोको छ ।’
कलमबन्दीको सिकार

प्रेमा शाह नेपाली नारी लेखनकी एक सशक्त हस्ताक्षर हुन् । बीसदेखि पचासको दशकसम्म निरन्तर साहित्य सृजनामा उनको समय बित्यो । उनी महिला स्वच्छन्दतालाई मलजल हुने रचना लेख्ने पहल गरिरहेकी थिइन् । प्रेमा वीरगन्ज सहरमा हुर्किन् । जुन सहर उनी किशोरी छँदा घुम्टोभित्र राख्न मन पराउँथ्यो । महिलाको अंगको कुनै एक छेउ देखिइहाल्यो भने पाप हेर्नेलाई हैन महिलालाई लाग्ने सोचिन्थ्यो । महिलामाथिको विभेद चरम थियो त्यस समय । अनाहकमा महिला मारिन्थे । तिनलाई मर्न विवश पारिन्थ्यो, सहर छाडेर भाग्न बाध्य पारिन्थ्यो ।

त्यो सहरको पुरुष वर्चस्वलाई ह्वात्तै चिरेर प्रेमा साहित्यका माध्यमबाट स्वतन्त्रताको बिगुल फुक्न थालिन् । यसले नेपाली साहित्यिकजगतमा ठूलै तरंग ल्याइदियो । २०२३ सालमा प्रकाशित ‘पहेँलो गुलाफ’ कथासंग्रहले उनको साहित्यिक उचाइ ह्वात्तै बढाइदियो । महिला कथाकार त्यसमाथि पनि यौनलाई मूल विषय बनाउने चानचुने कुरो थिएन । उनका कथाका यौनबिम्बले त्यो पढ्नेको मथिंगललाई सोच्न बाध्य पाथ्र्यो– के यो समाज पुरुषको मात्र हो ? महिला हुनुको अस्तित्व रक्षाका लागि महिला स्वयं अग्रसर हुने कि नहुने भन्ने सोचले उनलाई अगाडि बढायो । २०२८ सालमा उनले मातृभाव केन्द्रित ‘ममी’ उपन्यास लेखिन् । त्यसपछि ‘आकाश विभाजित छ’ शीर्षकको पुस्तक  । बाल मनोविज्ञान केलाउँदै उपन्यासका रूपमा रामेको कथा– २०४२, आनन्दको आविष्कार– २०४३, मनु र भँगेरा– २०४३ ल्याइन् । अन्य थुप्रै बालकथा पनि उनले लेखिन् । उनको कलमबन्दीको असर नेपाली आख्यानमा परेको कतिपय लेखक–पाठक बताउँछन् ।

बीसको दशकमा नेपाली कवितामा तरंग ल्याउन सफल कवि बैरागी काइँला एउटा कवितासंग्रह(बैरागी काइँलाका कविता) प्रकाशन गरेपछि चुपचाप बसे । वर्षौंसम्म पनि उनले कविता लेखेनन् । बीचमा एक–दुइटा कविता लेखे पनि अर्को संग्रह ल्याएनन् । आफूले लेख्न छाडेको नभई कविताइतरका विधामा काम गरिरहेको उनले बताउँदै आएका छन् । लिम्बू साहित्यका बारेमा भने उनले निकै काम गरिरहेका छन् । बैरागीका नयाँ कविता पढ्ने चाहना राख्ने कविताप्रेमी जमात नेपाली साहित्यमा अद्यापि छ । मदन रेग्मी अर्का त्यस्तै कवि हुन् । उनले पनि कविता लेख्न छाडेको लामो समय भइसकेको छ ।  

नेपाली साहित्यमा कलमबन्दीको सिकार बनेका थुप्रै लेखक छन् । लेख्न छाड्नेका नाममात्रै खोज्ने हो भने पनि त्यसको सूची निकै लामो बन्न जान्छ । कतिपय लेखकले उमेरगत तथा स्वास्थ्यका कारण लेख्न छाडेका छन् भने कतिपयले साहित्यलाई अनुत्पादक मान्दै कलमबन्द गरेका छन् । साहित्यले कसैलाई पनि रातारात चर्चामा ल्याउँदैन । यसमा निरन्तरताको खाँचो पर्छ । मेहनत, अध्ययन–अनुसन्धान, अभ्यास साहित्यमा आवश्यक पर्छ । यही कारण केही यस्ता लेखक पनि नेपाली साहित्यमा देखिए, जसले पेशा–व्यवसायमा व्यस्त हुनाले कलम समाउन छाडिदिएका छन् । थोरै पात्र यस्तो पनि भेटिन्छन्, जसले देशी–विदेशी लेखकका रचना चोरी वा अति प्रभावको आरोप खप्न पर्नाले पनि आफ्नो कलमको बिर्काे बन्द गरेका छन् ।

प्रकाशित: १ माघ २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App