१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकप मंगलबारदेखि, तीन विदेशी टोली सहभागी हुने

आहा–रारा पोखरामा सुरु हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताबारे आइतबार जानकारी दिँदै आयोजक। तस्बिरः उमेश पुन

पोखरा– आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण मंगलबार पोखरा रंगशालामा सुरु हुँदैछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रण प्रतियोगिता माघ १५ सम्म पोखरामा सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ ।
सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ३ विदेशी र आयोजक सहारासहित १२ टोलीले भाग लिनेछन् । आचार्यका अनुसार प्रतियोगितामा अमेरिकाको एएनए फुटबल टोली, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको फारसगन्ज स्पोर्ट्स क्लबको सहभागिता रहनेछ ।
स्वदेशी टोलीमा विभागीय सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मीसहित राजधानीको संकटा क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब खेल्नेछन् । सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, झापा–११ र सहारा क्लब पनि प्रतियोगितामा खेल्नेछन् । मंगलबार हुने उद्घाटन खेल आयोजक सहारा क्लब र सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबबीच हुनेछ ।
अध्यक्ष आचार्यका अनुसार अमेरिकी टोलीमा गैरआवासीय नेपाली खेलाडी सहभागी छन् । ‘हामी सधैं उत्कृष्ट टिम ल्याउन पहल गर्छाैं । यो संस्करणमा पनि हामीले उत्कृष्ट विदेशी टिम ल्याउने पहल गरेका हौं । तर, केही टिमले अन्तिम समयमा आउन नसक्ने जनाउ दिए,’ अध्यक्ष आचार्यले भने, ‘तर पनि आउने टिम उत्कृष्ट हुने ठानेका छौं ।’
प्रतियोगिताको विजेताले ५ लाख १ हजार, उपविजेताले २ लाख ५१ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाेत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट ५ विधामा खेलाडी र प्रशिक्षक तथा टिमलाई नगद १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।  
पर्यटकीय सहर पोखरालाई ‘स्पोर्ट्स हब सिटी’का रुपमा स्थापना गराउँदै प्रतिभाशाली खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिने अध्यक्ष आचार्यले बताए । ‘कैयौं खेलाडीले अवसर पाएका छैनन् । प्रतिभावान खेलाडीलाई अवसर दिन पनि यो प्रतियोगिता सहयोगी बनेको छ,’ उनले भने, ‘स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने पनि हाम्रो लक्ष्य हो । सहाराजस्ता क्लबले अवसर नदिए प्रतिभावान खेलाडी ओझेलमा पर्छन् ।’
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सूर्यबहादुर केसीले कठिन स्थितिमा सुरु भएको प्रतियोगिता अहिले फुटबलप्रेमी नेपालीबीच निकै प्रख्यात भएको बताए । उनले भविष्यमा पनि प्रतियोगितालाई सघाउने बचन दिए । ‘सकेसम्म हामी प्रतियोगितालाई सघाउनेछौं । क्लबले असहाय बालकका लागि काम गरेकाले हामीले साथ दिएका हौं,’ उनले भने, ‘राम्रो काममा हामी सधैं सघाउन तयार छौं ।’
प्रतियोगिताबाट बचत रकम सहारा क्लबले सञ्चालन गरेको एकेडेमीका बालकको संरक्षणमा खर्च गर्ने अध्यक्ष आचार्यले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालक छन् । असहाय र विपन्न परिवारका बालकलाई क्लबले संरक्षण दिँदै निःशुल्क पठनपाठन र बसोबासको व्यवस्था गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले सरकारले खेलकुद क्षेत्रलाई न्यून प्राथमिकतामा राखेको गुनासो गरे । सरकारी प्राथमिकतामा नपरेकाले पूर्वाधार निर्माण हुन नसकेको उनले बताए ।
 

अस्थायी प्यारापिट बनाइने

भूकम्पले कमजोर बनेको पोखरा रंगशालाको भिआइपी प्यारापिटमा अहिले पनि पूर्ण क्षमतामा दर्शक बस्न नपाउने भएका छन् । भूकम्पले कमजोर भएकाले क्षमता अनुसार दर्शक राख्न नसकिने आयोजक सहारा क्लबले जनाएको छ ।
‘भूकम्पमा चर्किएको प्यारापिट मर्मत भएको छैन । पोहोर पनि डराइडराइ थोरै दर्शक भिआइपी प्यारापिटमा राख्यौं,’ सहारा अध्यक्ष आचार्यले भने, ‘एक वर्षमा मर्मत होलाजस्तो लागेको थियो । तर अहिलेसम्म मर्मतको सुरसार नै छैन ।’ उनले आगामी संस्करणमा दर्शक बस्न मिल्ने वा नमिल्ने हेर्न प्राविधिकद्वारा परीक्षण गराएको बताए । ‘प्राविधिकले तत्काल खतरा छैन भने पनि हामी सचेत छौं,’ उनले भने ।
पोखरा रंगशालामा २०३९÷०४० सालमा फुटबल मैदान बनाइएको थियो । मैदानसँगै बनेको भिआइपी प्यारापिट भूकम्पअघि नै मर्मतसम्भार गर्नुपर्ने अवस्थामा थियो । भूकम्पले भिआइपी प्यारापिट चर्केको उनले बताए । ‘१५ औं संस्करण सुरु हुँदासम्म प्यारापिट मर्मत भइसक्नेमा हामी विश्वस्त थियौं । तर, जस्ताको तस्तै छ,’ उनले भने ।
५ सय सिट क्षमताको भिआइपी प्यारापिट निर्माणपछि रेखदेख नगरिँदा र भूकम्पमा चर्किएकाले पूर्ण क्षमतामा दर्शक राख्न नसकिने भएपछि यसपल्ट करिब १ हजार दर्शक अट्ने अस्थायी प्यारापिट बनाउने उनले बताए । ‘हामीले यसअघि पनि करिब ५ सय दर्शक अट्ने अस्थायी प्यारापिट बनाउँथ्यौं । तर, भिआइपी प्यारापिट कमजोर भएकाले यसपल्ट करिब हजार दर्शक अट्ने प्यारापिट बनाउँछौं,’ उनले भने । १८ सय दर्शक क्षमताको खुला प्यारापिटको उचित रेखदेख गरिएको छैन ।


 

प्रकाशित: ३ माघ २०७३ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App