१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

दुर्दिनको दुःखद सपनामा भट्टराई

ओलीवादमाथि आक्रमण गर्ने नाममा डा. बाबुराम भट्टरार्ई नेपाल राष्ट्र समाप्त गर्ने अत्यन्त खतरनाक विचार बोकेर अहिले भर्खर एउटा अनलाइन लेखमार्फत प्रकट हुनुभएको छ। उहाँले भन्न त भन्नुभएको छ– यो व्यक्तिगत विरोध होइन, वैचारिक प्रवृत्तिमाथिको विरोध हो। डा. भट्टराईले ओलीको विरोधका नाममा जुन विचार अगाडि सार्नुभएको छ, त्यसलेे नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामाथि प्रहार गरेको छ। त्यसलाई कुनै पनि राष्ट्रप्रेमी र देशभक्तले  टुलुटुलु हेरेर बस्न सक्दैन।


ओलीवादमाथि आक्रमण गर्ने नाममा डा. बाबुराम भट्टरार्ई नेपाल राष्ट्र समाप्त गर्ने अत्यन्त खतरनाक विचार बोकेर अहिले भर्खर एउटा अनलाइन लेखमार्फत प्रकट हुनुभएको छ। उहाँले भन्न त भन्नुभएको छ– यो व्यक्तिगत विरोध होइन, वैचारिक प्रवृत्तिमाथिको विरोध हो।

ओलीवादको विरोधका नाममा नेपाली राष्ट्रवादको विरोध

केही समयदेखि डा. भट्टराईहरुले नेपाली राष्ट्रवादलाई बद्नाम गर्न 'महेन्द्रीय राष्ट्रवाद', 'अन्ध राष्ट्रवाद' र 'नक्कली राष्ट्रवाद' को भूत खडा गर्नुभएको छ। उहाँहरुलाई थाहा हुनुपर्ने हो, उत्पीडित राष्ट्रको मुक्ति, स्वतन्त्रता र स्वाभिमानको चाहना बोकेको राष्ट्रवाद जुनसुकै रुपमा प्रकट भए पनि प्रगतिशील हुन्छ। यस्ता राष्ट्रको राष्ट्रवादलाई बद्नाम गर्ने जतिसुकै विकृत शब्दावली प्रकट गर्न खोजे पनि त्यस्तो राष्ट्रवाद सुनौलो र चम्किलो भइरहन्छ। नेपाल आदिकालदेखि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न रहँदै आएको देश हो। तर सन् १८१६ देखि अझ खासगरी सन् १९५० को नेपाल–भारत सन्धिदेखि उत्पीडित राष्ट्रका रुपमा रहेका कुरा यहाँहरुलाई थाहै छ। नेपाललाई आधुनिक राष्ट्रका रुपमा विकसित हुने प्रक्रियामा राजा पृथ्वीनारायणले लगेका हुन्। झण्डै विश्वव्यापी रुपमा साम्राज्य विस्तार गरी दक्षिण एसिया कब्जा गर्न आएको अंग्रेज साम्राज्यवादविरुद्ध विचार, संगठन र हतियारसमेतले युद्ध लडेर नेपालीले स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न आधुनिक नेपाल राष्ट्रको जग हालेका हुन्। पृथ्वीनारायण र उनका छोराबुहारीले हालेको जगमा अनेकौँ शासक र देशभक्त व्यक्तित्व तथा बिपी कोइराला, पुष्पलाल र मदन भण्डारीजस्ता राजनीतिक नेताले आजको राष्ट्र खडा गर्न सक्दो योगदान गरेका हुन्।

भट्टराईजी आफ्नो लेखमा निसंकोच लेख्नुहुन्छ– नेपाल भारतको अर्ध–उपनिवेश हो, त्यसो भएर भारत सरकारले हस्तक्षेप गर्नु स्वाभाविक छ। उहाँ भन्नुहुन्छ– सन् १८१६ पछि अंग्रेजले पनि यस्तै गरेको थियो। भट्टराईजीलाई यसो भनिरहँदा कुनै दुःख छैन, पीडा छैन र मुक्तिको चाहना पनि छैन।

संसारका जुनुसुकै राष्ट्रनिर्माणको इतिहास अध्ययन गर्नेलाई थाहा हुनुपर्छ, शासकले नै राष्ट्रनिर्माणमा मुख्य भूमिका खेलेका छन्। लोकतन्त्र अवलम्बन र मतदान गरेर निर्माण गरेको राष्ट्र अहिले संसारमा छैन। आजको नेपाल राष्ट्रको जग हाल्ने काममा पनि पृथ्वीनारायणले मुख्य भूमिका खेलेका थिए। पछिल्लो कालमा आएर नयाँ परिस्थितिमा स्वतन्त्र सार्वभौमशक्तिसम्पन्न अखण्ड र एकताबद्ध एक राष्ट्रका रुपमा पूर्णता प्रदान गरेर निरंकुश तानाशाहका रुपमा रहेका राजा महेन्द्रले ऐतिहासिक भूमिका खेलेका हुन्। 'महेन्द्रीय राष्ट्रवाद' नेपाली राष्ट्रलाई आजको रुपमा खडा गर्ने अकाट्य तथ्य र ऐतिहासिक सत्य हो। नेपाल रहँदासम्म र संसारमा नेपाली रहँदासम्म यो सत्यलाई कसैले मेटाउन सक्ने छैन। कार्ल मार्क्सले विकास गरेको ऐतिहासिक भौतिकवादले यही भन्छ। डा. भट्टरार्ईको चाहना नहोला, तर उहाँका विचार र क्रियाकलाप आजको नेपाल राष्ट्र विखण्डन गर्ने र यसलाई समाप्त गर्ने दिशातर्फ केन्द्रित छन्। आज भट्टराईका यस्ता हानिकारक र घातक विचारको विरोधमा ओलीका विचार र व्यवहार सशक्त रुपमा अगाडि आएका छन्। यसबाट भट्टराईजीलाई असाध्यै पीडा भएको छ। उहाँ अहिले 'ओलीज्म' भन्दै बर्बराउन थाल्नुभएको छ र दुर्दिनका दुःखद सपना देख्न थाल्नुभएको छ। उहाँको यो बर्बराहट निभ्ने बेलाको बत्तीजस्तै हो।

भवितव्य या संयोग

भट्टराईजीले भन्नुभएको छ– नेपालमा संविधानसभा र संघीयताको विचार उहाँहरूले नै ल्याउनुभएको हो जुन सोह्रै आना असत्य कुरा हो। नेपालमा संविधानसभाको विचार ल्याउने पहिलो व्यक्ति राजा त्रिभुवन हुन्। संघीयताको विचार ल्याउने पहिलो व्यक्ति भद्रकाली मिश्र हुन्। यिनीहरुले कसरी ल्याए, बिपी कोइरालाको आत्मवृत्तान्त पढ्नेलाई राम्रै थाहा हुनुपर्छ। तर प्रकारान्तरले संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी गर्न मुख्य भूमिका खेल्ने व्यक्ति केपी शर्मा ओली हुनुभयो। यो संविधानसभाबाट संविधान जारी गर्दा त्यसमा हस्ताक्षर गरेपछि 'महाभूल गरेँ' भन्दै पश्चातापको प्रमाण पेस गर्न संविधानसभा सदस्यबाट राजीनामा गर्ने व्यक्ति बाबुराम भट्टरार्ईजी हुनुभयो। त्यो पनि जब भारतका प्रधानमन्त्रीजीले नेपालको संविधानलाई समर्थन नगर्ने सूचना बाहिर ल्याए, त्यतिबेला भट्टरार्ईका यस्ता संविधानविरोधी कार्य सतहमा आए। डा. साहेबको सम्माननिम्ति यसलाई भवितव्य या संयोग नै मान्नुपर्ला।

भट्टराईजी आफ्नो लेखमा निसंकोच लेख्नुहुन्छ– नेपाल भारतको अर्ध–उपनिवेश हो, त्यसो भएर भारत सरकारले हस्तक्षेप गर्नु स्वाभाविक छ। उहाँ भन्नुहुन्छ– सन् १८१६ पछि अंग्रेजले पनि यस्तै गरेको थियो। भट्टराईजीलाई यसो भनिरहँदा कुनै दुःख छैन, पीडा छैन र मुक्तिको चाहना पनि छैन।

थाहा पाइराख्नु राम्रो

डा. साहेबले थाहा पाइराख्नु राम्रो हुन्छ। यहाँहरूको राष्ट्रलाई बर्वाद गर्ने अधुरो कर्मलाई पूरा गरिदिन ओलीजीले नेपालको संविधान जारी गर्न मुख्य भूमिका खेल्नुभएको थिएन। ओलीजीले देख्नुभयो, नेपालमा निरंकुश राजतन्त्र असफल भयो, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र असफल भयो, जुनसुकै उद्देश्यनिम्ति भए पनि सञ्चालित माओवादी युद्ध पनि असफल भयो र अब यो संविधानसभाबाट गणतन्त्रको संविधान जारी गर्ने काम पनि असफल भयो भने नेपाल राष्ट्र नै असफल हुनेछ। राष्ट्र असफल भएपछि नेपालको अस्तित्व समाप्त हुनेछ। यस्तो दुर्भाग्यपूर्ण अवस्था आउन नदिन भट्टराईजीले चौराहमा ल्याएर मिल्काउन तयार भएको अवस्थामा ओलीजीले नेपालको संविधान जारी गर्ने बिँडो उठाउनुभयो।

पश्चातापले स्खलित भट्टराईजी राजीनामा स्वीकृत गराएपछि भारत सरकारले लगाएको नेपाली जनताविरुद्धको नाकाबन्दीलाई समर्थन गरेर दशगजा (नो म्यान्स ल्यान्ड) मा धर्ना दिइरहेका मधेसी मोर्चाको कार्यक्रममा भाग लिन नेपाल–भारत सिमानामा पुग्नुभयो। तर त्यहाँ धर्नाकारीले नबुझेर भन्नुपर्छ, डा. साहेबलाई घोर अपमान गर्दै लखेटिदिए। त्यसपछि आफ्नो डा. को उपाधि र पूर्वप्रधानमन्त्रीको प्रतिष्ठाका साथै सिने कलाकारहरूलाई दुरुपयोग गर्दै 'नयाँ शक्ति' पार्टी खोल्नुभयो। त्यो नयाँ पनि थिएन र शक्ति पनि थिएन। सिने कलाकारले पार्टी कुदाउने कुरै थिएन, तसर्थ असफल हुनु स्वाभाविक थियो, त्यही भयो। अहिले भट्टराईजी मधेसी मोर्चातिर आश्रय खोज्दै उपेन्द्र–राजेन्द्र संघीय समाजवादीमा प्रवेश गर्न लाग्नुभएको छ। प्रवेश गर्नुभन्दा पहिले नेपाली राष्ट्रवादको उछित्तो काड्ने सर्त पूरा गर्न ओलीवादको भूत खडा गरेर धुवाँदार प्रहारमा लाग्नुभएको छ तर भट्टराईजीले थाहा पाइराख्न जरुरी छ, नेपाली राष्ट्रवाद मध्याह्नको सूर्य हो। त्यता फर्केर जसले थुके पनि त्यो उसकै मुखमा खस्नेछ।

नेपालको हिमाल, पहाड र तराई, भूगोल र सामाजिक–आर्थिक अन्तरनिर्भरताको हिसावले अलग गर्नै नसक्ने राष्ट्रिय एकताका आधार हुन्। यो वस्तु विचारलाई भट्टराईजीहरू 'महेन्द्रीय राष्ट्रवाद' भन्नुहुन्छ। यहाँ लप्पनछप्पन र डरधाकको कुनै अर्थ छैन, यही नै 'महेन्द्रीय राष्ट्रवाद' हो भने महेन्द्रले ल्याएको भए पनि यो राष्ट्रवाद सच्चा राष्ट्रवाद हो। यहाँहरु ढुक्क भए हुन्छ यो महेन्द्रीय राष्ट्रवादलाई नेपाली जनताले कहिल्यै कमजोर हुन नदिने गरी गाँठो पारेर राख्नेछन्।

डा. भट्टराईको आत्मरति

ओलीजीलाई प्रधानमन्त्री हुन नदिन यहाँहरूले धेरै ठूलो कसरत गर्नुभयो तर सबै बेकार भयो। ओलीजीको प्रधानमन्त्रीत्व असफल गराउन नाकाबन्दीलाई निरन्तरता दिइयोस् भनेर अर्जी हाल्न दक्षिण धाइरहनुभयो। तदनुरुप नाकाबन्दीलाई पाँच महिना लम्ब्याइयो। त्यसको जवाफमा नेपाली जनताले भने– 'ओलीजी खुट्टा नकमाऊ, हामी एक छाक खाएर बाँच्न तयार छौं तर झुक्न तयार छैनौं।' भारत भ्रमण निम्ताको जबाफमा प्रधानमन्त्री ओलीजीले भन्नुभयो– 'नेपाली जनताविरुद्ध लगाइएको नाकाबन्दी फिर्ता नलिँदासम्म यो प्रधानमन्त्रीले भारतीय भूमि टेक्नेछैन।' भट्टराईजीले ओलीजीको यो दृढ अडानलाई नक्कली राष्ट्रवाद भन्नुभयो। स्पष्ट छ– उहाँहरुको सक्कली राष्ट्रवाद झुकेर आत्मसमर्पण गर्नु थियो। जुन विचार नेपाली जनतालाई मान्य छैन र सह्य पनि छैन। अब कुरा प्रस्ट भएन र ओलीको राष्ट्रवादी अडानमा राजतन्त्रको भूतको छाया घुसाउन किन खोजिँदैं छ? नेपाल राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षानिम्ति विगतमा जोसुकै खडा भएको भए पनि सबैको सच्चा उत्तराधिकार ग्रहण गर्दै आज रक्षाकवच बनेर ओलीजी खडा हुनुभएको छ। यो रक्षाकवच ढालियो भने सबै ढाल्न सकिन्छ भन्ने छुद्र सोचाइ भट्टरार्ईजीहरू राख्नुहुन्छ। तर भट्टराईजीले ख्याल गर्न जरुरी छ– ओलीजीका पछाडि त्यस्तै रक्षाकवच बनेका लाखौं देशभक्त र राष्ट्रवादी छन्। त्यत्तिकै ओलीजी यति बलियो बन्नुभएको होइन।

डा. बाबुराम नेपालमा कसैलाई पनि नेपाली रहेको देख्नुहुन्न। यहाँ कि खस छन्, कि मधेसी, कि जनजाति छन्। अथवा मधेसमा मधेसी छन्, खसानमा खस छन्, कहीँ लिम्बु छन्, कहीँ राई छन्, कहीँ तामाङ छन्, कहीँ नेवार, कहीँ तमु, कहीँ मगर र थारु आदिआदि छन्।

भट्टराईजी आफ्नो लेखमा निसंकोच लेख्नुहुन्छ– नेपाल भारतको अर्ध–उपनिवेश हो, त्यसो भएर भारत सरकारले हस्तक्षेप गर्नु स्वाभाविक छ। उहाँ भन्नुहुन्छ– सन् १८१६ पछि अंग्रेजले पनि यस्तै गरेको थियो। भट्टराईजीलाई यसो भनिरहँदा कुनै दुःख छैन, पीडा छैन र मुक्तिको चाहना पनि छैन। तर तथ्यले बताउँछन्– नेपाल कहिल्यै कसैको उपनिवेश भएन, अर्ध–उपनिवेश पनि थिएन र आज पनि छैन। प्रधानमन्त्री भइसकेका व्यक्तिले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न नदेख्नु सुन्न पनि नसकिने कुरा हो। उहाँ भन्नुहुन्छ– आर्थिक रुपले सम्पन्न नहुँदासम्म यस्तो त भइरहन्छ अथवा भारतले हस्तक्षेप गरिरहन्छ तर त्यसको विरोध गर्नुहुन्न। विरोध गर्नेहरू नक्कली राष्ट्रवादी हुन्। यस विषयमा डा. साहेबले ओलीजीलाई टुँडिखेलमा घन्टौं बहस गर्न चुनौती दिनुभएको छ।

भट्टराईजीको यो विचारको विश्लेषणात्मक विवेचना गरौं। साम्राज्यवादी राज्यद्वारा कुनै स्वतन्त्र देशको केही भूभाग मात्र कब्जा गरिएको छ भने त्यो देशको राष्ट्रिय परिस्थिति अर्ध–औपनिवेशिक हुन्छ र पूरा कब्जा गरिएको छ भने औपनिवेशिक हुन्छ। दुवै अवस्थामा कब्जा गर्ने मुलुकसँग त्यो देशको सम्बन्ध शत्रुतापूर्ण हुन्छ। त्यहाँका जनताले कब्जा गर्ने शक्तिसँग राष्ट्रिय मुक्तिको लडाइँ लड्नुपर्छ। भूपरिवेष्टित देशका छिमेकी दुष्ट चरित्रका छन् भने त्यसले दुःख पाएको देख्न सकिन्छ। आफ्नो उत्पादन बढाएर व्यापारघाटा कम गर्न परनिर्भरता समाप्त गर्न सकिने भएकाले यस्तो अवस्थालाई अर्ध–औपनिवेशका रुपमा चित्रण गर्ने चलन छैन। उपनिवेश र अर्ध–उपनिवेश कालमा त्यहाँका जनताको सार्वभौमिकता खण्डित हुन्छ र राष्ट्रको स्वतन्त्रता समाप्त भएको हुन्छ। एकतिर नेपाल भारतको अर्धउपनिवेश भन्ने अर्कातिर भारत सरकारले बेला–बेला गरेका हस्तक्षेपको विरोध गर्दा नक्कली राष्ट्रवाद भन्नुको अर्थ हस्तक्षेपलाई स्वाभाविक मान्दै त्यसका अगाडि आत्मसमर्पण गर्ने भन्दा अरु कुनै आशय हुन सक्दैन। ओलीजीलाई कमजोर देखाउन आफूलाई १८१६ को सुगौली सन्धिपूर्वको नेपाली भूमि फर्काउन लडाइँ गर्नुपर्छ भन्ने विचार आफ्नो भएको भनेर नक्कली कुराले ओलीलाई व्यंग्य गर्न खोज्नुभएको छ। यी तर्कको सार एउटै हो– हस्तक्षेपका अगाडि आत्मसमर्पण। यस्ता विचार भट्टराईजी बाहेक अरु कुनै नेपालीले राख्न सक्दैन।

भट्टराईजीले जनजाति र मधेसीविरोधी व्यक्तिका रुपमा ओलीलाई देखाउन धेरै मेहनत गर्नुभएको भान हुन्छ। बाबुरामजी नेपालको तराईलाई 'मधेसवादी' केही नेताको बिर्ता र त्यहाँका जनतालाई उनीहरूका रैतीका रुपमा लिनुहुँदो रहेछ भन्ने लेखले प्रस्ट्याउँछ। ओलीजीले 'मधेसी र जनजाति' लाई कहाँ के भनेर विरोध गर्नुभएको छ, कुनै तथ्यप्रमाणबिना उहाँले लगाउनुभएको आरोप पूर्णरुपले पूर्वाग्रहयुक्त र प्रायोजित छ। बाबुरामजीहरूले बुझिरहन जरुरी छ–पहाडमा बसोबास गर्ने जनजातिबीच एमाले पहँुच जति छ, तराईवासी जनताबीच पनि त्यत्तिकै पहँुच स्थापित छ। तराईमा एमालेको आधार अत्यन्त कठिन परिस्थितिमा निर्माण गरिएको र आज विस्तार गरिएको सुदृढ किल्ला हो। डा. साहेबहरूको यो मनगढन्ते आरोप यो किल्ला ढल्छ कि भनेर रमाउने आत्मरतिभन्दा अर्को हुन सक्दैन।

ओलीजीले आफ्नो भ्रमणका बेला जनवादी गणतन्त्र चीन सरकारसँग पारवाहन सन्धि गरेर नेपालको व्यापार र पारवाहनमा रहेको भारतीय एकाधिकार तोडिदिनुभएको छ तर त्यो त्यति ठूलो विषय थिएन, जुनसुकै सरकारले पनि गर्न सक्थे। किनकि त्यो भूपरिवेष्टित देशले औपचारिक रुपमा पाउने अधिकारको विषय मात्र थियो। नेपाली जनताले यस निम्ति पनि ओलीजीलाई जस दिए। तर दक्षिण सीमा पारी ओलीको विरोधमा ठूलो पत्रिकाबाजी भयो। उनीहरूले प्रधानमन्त्री ओली भारतविरोधी भए भनेर गर्नसम्मको कलमबाजी गरे। आज बाबुरामजी तिनै भारतीय प्रचारबाजका प्रतिनिधि बनेर ओलीलाई भारतविरोधी देखाउन र आफूलाई सच्चा भारतवादी भएको प्रमाण प्रस्तुत गर्न ठूलो कसरत गरिरहनुभएको छ। ओलीलाई भारतविरोधी देखाउन पनि भट्टराईजी निकै कस्सिनुभएको देखिन्छ। तर जानिराख्नुभए हुन्छ– ओलीजी कहिल्यै पनि भारतविरोधी हुनुहुन्न थियो, आज पनि हुनुहुन्न र भविष्यमा पनि हुनुहुने छैन। उहाँको विचार प्रस्ट छ– भारत सरकारले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गरोस्। नेपालको आन्तरिक मामलामा कहीँबाट कसैले पनि हस्तक्षेप नगरोस्। ओलीजीको यो मान्यता र अडानलाई अत्यधिक ठूलो भारतीय जनमतले समर्थन गर्छ भन्ने विश्वास ओलीजीको छ। भट्टराईजीले ओलीवादको विरोध गर्ने नाममा जसरी नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको धज्जी उडाउनुभएको छ। त्यसबाट उहाँले आफ्नो कद् घटाउने र ओलीजीको बढाउनेभन्दा अरु केही गर्नुभएको छैन।

अहिले प्रचण्ड सरकारले राष्ट्रहितविपरीतको संविधान संशोधन विधेयकको प्रस्ताव संसद्मा प्रस्तुत गरेको छ तर संसद सम्पूर्ण प्रतिपक्ष र सिंगो राष्ट्र त्यो प्रस्तावविरुद्ध खडा भएको छ। यो संघर्षमा राष्ट्रिय हित संरक्षण केन्द्रको मियो बन्नुभएको छ ओलीजी। जहाँ केन्द्र हुन्छ, विरोधको तारो त्यही हानिन्छ। राष्ट्रहितका विपक्षमा रहेकाहरूले त्यही भएर ओलीमाथि प्रहार केन्द्रित गरेका छन्। यसको सबभन्दा अग्रभागमा देखिन ओलीलाई नश्लवादको आरोप लगाएर प्रहार गर्न खडा हुनुभएको छ डा. बाबुराम भट्टराई। यो संशोधन कुनै विदेशको सरकारी कामकाजको भाषालाई नेपाल सरकारको कामकाजको भाषा बनाउन, कुनै बारबन्देज र छानबिनबिना वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्न, राष्ट्रिय सभालाई भूगोलमा होइन, जनसंख्याका आधारमा मात्र निर्माण गर्न र ५ नं. प्रदेशलाई पहाडबाट अलग गरी तराईमा मात्र सीमित गर्न प्रस्तुत गरिएको छ। प्रस्तावका चारवटै बुँदा नेपाल राष्ट्रको हितविरुद्ध छन्। ५ नं. प्रदेशमा पहाड र तराईका कुनै पनि वर्ग र समुदायका जनताले अहिलेको अवस्थामा सीमा हेरफेर गर्ने विचार सुन्नसम्म पनि चाहन्नन्। लाखौं जनता सडकमा आएर विरोध पनि गरिसकेका छन्। अहिले पनि सरकारी प्रस्तावका विरुद्ध त्यहाँ जनता आन्दोलित छन्।

डा. बाबुराम नेपालमा कसैलाई पनि नेपाली रहेको देख्नुहुन्न। यहाँ कि खस छन्, कि मधेसी, कि जनजाति छन्। अथवा मधेसमा मधेसी छन्, खसानमा खस छन्, कहीँ लिम्बु छन्, कहीँ राई छन्, कहीँ तामाङ छन्, कहीँ नेवार, कहीँ तमु, कहीँ मगर र थारु आदिआदि छन्। डा. भट्टरार्ई यी सबै जातिका जनतालाई नेपाली भइसकेको मान्न तयार हुनुहुन्न। किनकि उहाँको विचारमा नेपालमा नेपाल राष्ट्र नै छैन। यहाँ बसोबास गर्ने सबै जाति अलग–अलग राष्ट्रियताका हुन् र सबै राष्ट्रियताका जनताले आफ्नो पहिचानको लडाइँ चलाइरहेका छन्। पहिचान नेपाली नभएपछि नेपाल पनि मानिरहनुपरेन। भट्टराईजीको तार्किक निष्कर्ष यही हो। भट्टराईजीको यस खाले वितण्डावादी विचारको विरोध गर्ने केन्द्रमा ओलीजी हुनुहुन्छ। त्यही भएर उहाँले अहिले नश्लवादी ओलीजी भनेर एमाले अध्यक्षमाथि प्रहार गरिरहनुभएको छ।

नश्लवादको कथित आरोपबाट एमाले समाप्त गर्न सकिन्छ भन्ने भट्टराईजीको कल्पना दिनमै देख्नुभएको अथवा दुर्दिनको सपनाबाहेक अरु केही होइन।

संसारमा कुनै बेला नश्लका आधारमा मानिसका केही समूहलाई श्रेष्ठता प्रदान गर्ने चलन थियो। आज त्यो चलन समाप्तप्रायः छ। नश्ल भनेको खास प्रकारका जिनबाट विकसित भएको प्राणी र उनीहरूबाट जन्मेर विकसित भएको र उनीहरूकै जस्तो आकारप्रकार र गुण भएको अवस्था हो। तर विश्वव्यापीकरण भएको मानव जातिको आजको अवस्थामा आइपुग्दा मानव जातिमा नश्लको आधारमा श्रेष्ठता प्रदान गर्ने व्यवस्था समाप्त भएको छ। तर पनि प्रतिकात्मक रुपमा कहिलेकाहीँ यस्ता पदावली प्रयोग हुने गर्छन्। प्रतीकात्मक रुपमा प्रयोग हुने यो पदावलीले एउटै जातिविशेष, एउटै विचारविशेष, एउटै क्षेत्रविशेषलाई समाप्त गर्ने या स्थापित गर्नर्ेे कुरा बुझाउँछ। यस अर्थमा नश्लवाद इतिहासमै पहिलोपटक नेपालमा पहिलो 'मधेस आन्दोलनमा' पहाडियामूलका नेपालीको नृशंस हत्या, आंतक, लुट गर्दै तराईबाट लखेट्ने काममा प्रकट भएको थियो। त्यो कसैले अनुशरण गर्न नहुने अत्यन्त दुर्भाग्यपूर्ण क्रियाकलाप थियो। तर २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा फेरि त्यो नश्लवाद ज्यादै नृशंस तरिकाले प्रकट भयो। अहिले तराईका केही मधेसी नेताले मधेसबाट एमालेलाई लखेट्ने घोषणा गरेका छन्। त्यसैगरी पहाड र तराईका जनतालाई एउटै प्रदेशमा रहन नदिने गरी 'मधेस' प्रदेशको माग गरिरहेका छन्। पहाडमा पनि एउटा–एउटा जातिविशेषको मात्र राज्य खडा गर्ने कोसिस भइरहेको छ। यी सबै क्रियाकलाप त्यही नश्लवादका विविध नमूना हुन्। त्यही नश्लवादको पक्षधर भएर ओली होइन, स्वयं डा. भट्टराई खडा हुनुभएको छ र एमालेसँग जुध्न सिङ सोझ्याइरहनुभएको छ।

पूर्वप्रधानमन्त्री रहिसकेका, 'जनयुद्ध' का नाममा १७ हजार नेपालीको रगत चढाइसकेका र भारतविरुद्ध सुरुङ युद्धको तयारी गरिसकेका डा. बाबुराम भट्टराईजीले अत्यन्त निकृष्ट र पाखण्डपूर्ण ढंगबाट नेपाली राष्ट्रवादलाई बद्नाम गर्ने र साम्राज्यवादी एकाधिकार पूँजीवादको तरफदारी गर्नु सुहाउने कुरा होइन। भट्टराईजीले लाखौं एमालेको आस्थामा चोट पुर्‍याउने गरी जे गर्नु भएको छ उहाँको जीवनको त्यो अत्यन्त घीनलाग्दो उदाहरण मात्र हो। नश्लवादको कथित आरोपबाट एमाले समाप्त गर्न सकिन्छ भन्ने भट्टराईजीको कल्पना दिनमै देख्नुभएको अथवा दुर्दिनको सपनाबाहेक अरु केही होइन।

लेखक गौतम एमाले उपाध्यक्ष हुन्।

प्रकाशित: ६ माघ २०७३ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App