१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आमासँगै रोए बद्री

रुँदै गरेकी ५३ वर्षीया तारादेवी विकसँग गायक बद्री पंगेनी ।

सुर्खेत–समान्यतयाः यस्तो दृष्य दुर्लभ हुन्छ, जहाँ गायक र दर्शक सँगसँगै रोएका हुन्छन्। स्वर र शब्दको जादुमय शक्तिले जब मान्छेलाई रुन बाध्य बनाउँछ तब, रुवाउने गायक पनि दर्शकलाई सान्त्वना दिन दर्शकदीर्घामा पुग्न बाध्य हुन्छ। यस्तै दृष्य देखियो पूर्वी सुर्खेतको बोटेचौर बजारमा। कृषि, जडिबुटी तथा माघी महोत्सवको अन्तिम दिन शनिबार बोटेचौर आइपुगेका चर्चित गायक बद्री पंगेनीले गीत गाइरहँदा उपस्थित आमाहरु रुन थाले।
 

बाध्य भइयो प्रदेशमा छिर्न  
आमा मैले पढ्दा लागेको ऋण तिर्न
आमा विदा पाउँदिन,
अहिलेको सालमा नि आमा घरमा आउँदिन ।

यो गीत गाउँदै दर्शकदीर्घामा आउँदा ५३ वर्षीया तारादेवी विक डाको छोडेर रुन थालिन्। रुने मध्येकी विक प्रतिनिधि पात्र मात्र थिइन्। दुई नाति र बुहारी लगेर कमाउन मुग्लान पसेको छोरो हरिबहादुर घर नआएको एक वर्ष भयो। घरमा श्रीमान लालबहादुर र उनी मात्रै छन्। छोरो साथमा नहुँदाको पीडा तारादेवीलाई मात्रै थिइन्। अधिकांश आमाहरुलाई थियो। त्यसैले त बद्रीको गीतसँगै अरु आमाहरु पनि रुन थाले।

गीत गाउँदै स्टेजबाट ओलिएर रोइरहेका आमाहरुमाझ पुगेका बद्रीले पनि आँसु थाम्न सकेनन्। आफूसँगै आमाका आँखाका आँशु पुछ्न थाले । रोजगारीका लागि विदेशिएका युवाहरुको पीडालाई गीतमार्फत व्यक्त गर्दै उनले स्वदेश फर्कन आग्रह गरे।
‘कोही पनि नेपाली युवाले पेट पाल्न बिदेशी भूमीमा रगत र पसिना बगाउन नपरोस् भन्ने मेरो चाहना हो’ मनको इच्छा सुनाउँदै बद्रीले भने, ‘यसका लागि देशमा काम गर्ने वातावरण भने हुनुपर्छ ।’
युवाहरुलाई स्वदेशमै पौरखी बनाउनका लागि वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुनुपर्ने बताए । यसका लागि शीर्ष दलका शीर्ष नेताहरु मिल्नुपर्ने उनको भनाइ थियो।
 

अव आफै बाँच्छौं
दुःखमा हाँस्न सक्छौं
पानीले पेट भरौंला
बरु भोकै मरौला
बसिदैन छिमेकीको मुख ताकेर
मिल केपी प्रचण्ड
मिल देउवा दाई
एकताको खाँचो छ
अहिले देशलाई

उनले छिमेकीले नाकाबन्दी गर्दा पनि स्वाभीमान नेपालीले बरु एक छाक खाएरै भएपनि राष्ट्रियता र देशको रक्षाका लागि राजनीतिक नेतृत्वलाई साथ दिएको भन्दै नेताहरुलाई स्वविवेकले देश चलाउन आग्रह गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका बद्रीले आमालाई रुवाउने र शीर्ष दलका शीर्ष नेताहरुलाई मिल्नका लागि आग्रह मात्रै गरेनन्, युवाहरुलाई छमछमी नचाए पनि ।
 

तिम्रो साथमा रातो पछ्यौरी
अनि तातो पछ्यौरी
मलाई चिसो हावाले हानेको
खैत माया गर्न जानेको

माघ महिनाको जाँडो । एकछिन अघिसम्म शान्त बनेका दर्शक बद्रीसँगै गाउन र नाच्न थाले । रोएका दर्शकलाई हसाउन उनले ‘ससुरालीमा, ख्यालख्यालमै दिल बस्यो कान्छी सालीमा’ ‘सुर्खेत बुलबुले जाउँला, नाचौला झ्याउरेको तालैमा’, पञ्चेवाजामा तयार भएको गीत पनि गाए ।

माघ एक गतेदेखि सुरु भएको महोत्सवको अन्तिम दिन गायिका प्रिया भण्डारीले दर्शकलाई मनोरञ्जन दिइन् । १६ वर्षे हुँ म त, बुढीको फेसन, यता हात लाग्यो, उता हात लाग्यो, कतै काम बन्दैन चिन्ताले पिरोल्यो, भन कस्ले लगाउँछौं जवानीको टुङ्गोलगायतका गीतहरु गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिएकी थिइन् । आयोजक संस्था बुलबुले साधना कला केन्द्रका अध्यक्ष सुकदेव अधिकारीले आठ दिनसम्म चलेको महोत्सव सोचे भन्दा राम्रो र भब्य भएको बताए ।

प्रकाशित: ९ माघ २०७३ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App