१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिटामोल र जीवनजल पनि छैन

सप्तरीको मौवाहा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कुर्दै एक सेवाग्राही बृद्ध । तस्बिरः जितेन्द्रकुमार झा/नागरिक

राजविराज–सदरमुकाम राजविराजबाट मात्रै ५ किलोमिटर पूर्वमा छ तोपा प्राथमिक स्वास्थ्य केन्द्र। जहाँ एमबिबिएस डाक्टरको दरबन्दी छ। तर डाक्टर भने भेटिन्नन् र स्वास्थ्य केन्द्र पनि नियमित खुल्दैन।

स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य समेत रहेका स्थानीय सफिक मन्सुरीले स्वास्थ्य केन्द्रकी प्रमुख डा. जायन्ती यादवलाई भेट्न मुस्किल हुने बताए।

‘प्रमुख आफै जिम्मेवार नदेखिएपछि अन्य कर्मचारीको के कुरा?’, मंसुरीले भने, ‘कार्यालय पनि खुल्दैन, मातहत कर्मचारी पनि नियमित हुँदैनन्।’

स्थानीय सेवाग्राहीले विरलै सेवा लिने मौका पाउने गरेका स्थानीय अशोककुमार यादव बताउँछन्।
‘खुले पनि ढिलो खुल्ने, चाँडै बन्द गर्ने चलनै बसेको छ,’ यादवले भने, ‘सदरमुकाम वा नजिकका निजि क्लिनिकबाट महँगोमा सेवा लिनुपर्ने बाध्यता छ।’

गाउँ-गाउँमा सरकारी स्वास्थ्य संस्था, प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, प्रत्येक इलाकामा बर्थिङ्ग सेन्टरका लागि भवन र कर्मचारी दरबन्दी खडा गरिएपनि सेवा भने प्रभावकारी छैन। सामान्य उपचारका लागि पनि सदरमुकाम राजविराज वा विराटनगर, धरान जान सेवाग्राही बाध्य रहेका यादवले बताए।

जिल्लाका ग्रामीण भेगका अन्य सरकारी स्वास्थ्य केन्द्रमा पनि अवस्था करिब यस्तै छ। लौनियाँ गाविसको चौकीमा लामो समयदेखि औषधि अभाव रहेको सिनियर अहेब दिपक मण्डलले बताए।

मण्डल भन्छन्, ‘औषधि नहुँदा स्वास्थ्य चौकीमा आउने सेवाग्राहीबाट गाली खेप्नु पर्छ,’ उनी थप्छन् ‘साधारण औषधि पनि छैन, चाहेर पनि विरामीको उपचार गर्न सकिएको छैन।’ सिटामोल र जिवनजल पनि नभएको मण्डलले सुनाए।

स्वास्थ्य केन्द्रहरु समयमा नखोलिने, स्वास्थ्यकर्मीहरु नियमित नआउने, औषधि, उपकरण र पूर्वाधारको अभाव लगायतका समस्याले ग्रामीण भेगमा स्वास्थ्य सेवा दुर्लभ भएको नागरिक सञ्जालका संस्थापक सुखराम यादव बताउँछन्।

गाउँ-गाउँमा सरकारी स्वास्थ्य संस्था, प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, प्रत्येक इलाकामा बर्थिङ्ग सेन्टरका लागि भवन र कर्मचारी दरबन्दी खडा गरिएपनि सेवा भने प्रभावकारी छैन। सामान्य उपचारका लागि पनि सदरमुकाम राजविराज वा विराटनगर, धरान जान सेवाग्राही बाध्य रहेका यादवले बताए।

स्वास्थ्य संस्थामा कार्यरत अधिकांश डाक्टर, सिनियर अहेब र स्वास्थ्यकर्मी राजनीतिक आड र पहुँचका भरमा जिल्ला जनस्वास्थ्य कार्यालयमा उपस्थित हुने र सदरमुकाममै रमाउने गरेका छन्।

औषधि र स्वास्थ्यकर्मी नभएपछि ग्रामीण भेगका स्वास्थ्य केन्द्रबाट सेवा पाउने स्थिति नरहेको मधेशी नागरिक समाजका अगुवा बद्रीनारायण झाको भनाई छ।

जिल्ला सदरमुकाममै ३ महिनादेखी औषधीको अभाव छ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार गत कार्तिक महिनादेखि जिल्लामा औषधिको अभाव छ । केन्द्र र क्षेत्रबाट औषधि नआएको तथा स्थानीय स्तरमासमेत औषधि खरिद गर्न टेन्डर नहुँदा समस्या भएको जनस्वास्थ्यका सूचना अधिकारी छेदी यादवले बताए।

‘औषधि खरिदका लागि कार्तिक महिनामै टेण्डर गर्नुपर्ने थियो, तर विभिन्न कारणले हुन सकेन’, उनले भने, ‘अन्तिम समयमा आएर तात्कालिन कार्यालय प्रमुखको सरुवा तथा अरु कर्मचारीसँग अख्तीयारी नहुँदा टेण्डर गर्न नसकिएको हो।’ टेण्डर प्रक्रियामा काम भईरहेकोले चाँडै औषधि अभावको समस्या समाधान हुने यादवले दावि गरे।

प्रकाशित: ९ माघ २०७३ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App