१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेलमिलाप आयोगमा फेरि मनमुटाव

काठमाडौं-द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ।

यसअघि आयोगका निर्णय अपारदर्शी रहेको विषयमा विवाद  सेलाएको केही समयमै सदस्यबीच पुनः विवाद देखिएको हो।

सदस्य माधवी भट्टले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सूर्यकिरण गुरुङसमक्ष पूर्ण बैठक माग गर्दै निवेदन दिएकी छन्।

द्वन्द्वकालमा प्रयोग गरिएका बालबालिकाको विषय, आयोगको नियमावली संशोधन र ऐनका केही बुँदा व्याख्या गर्ने क्रममा ढिलाइ भएको र आयोगको अडान तथा उजुरी अनुगमनका क्रममा केही सदस्य तथा कर्मचारीले आयोगका निर्णयविपरीत कार्य गरेको पत्रमा आरोप लगाइएको छ । यी विषयलाई पूर्ण बैठकमा राखी छलफल हुनुपर्ने माग पत्रमा छ ।

नागरिकलाई प्राप्त उक्त निवेदनमा आयोगलाई जानकारीसम्म नदिई दोहोरो जिल्ला अनुगमन गर्ने, आयोगको स्वतन्त्रता र निष्पक्षता गुम्ने गरी कार्यक्रम आयोजना हुने र आयोग अध्यक्ष र सदस्यलाई मन लागेको दिन र मन लागेको ठाउँमा भ्रमण काज लिने दिने स्वतन्त्रताका विषयमा छलफल हुनुपर्ने निवेदनमा माग गरिएको छ ।

ऐनमा सामूहिक निर्णयको परिकल्पना गरिएको आयोगमा अध्यक्षको व्यक्तिगत निर्णय पालना गर्ने स्वेच्छाचारिता आयोग सचिव वा कर्मचारीलाई दिइएको बारे पनि छलफल हुनुपर्ने निवेदनमा माग गरिएको छ ।

द्वन्द्वमा बालबालिकाको प्रयोगलाई मानवअधिकारको गम्भीर उल्लंघन भनेर ऐनमा कहीँकतै उल्लेख नगरिएको विषय पनि छलफल हुनुपर्ने उनको निवेदनमा माग गरिएको छ । आयोगमा उजुरी गर्ने मिति सकिनै लाग्दासम्म पनि द्वन्द्वमा प्रयोग भएका बालबालिकाबारे प्रस्ट दृष्टिकोण निर्माण नभएकाले आयोगले सरकारलाई जवाफ माग्नुपर्ने उनको माग छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २२ असार २०७३ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App