१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

चार सहिद र राजा त्रिभुवन

नेपालमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । अमर सहिदहरुप्रति सम्मान गर्ने यो प्रशंसनीय काम हो । नेपालका अमर सहिदको जीवनगाथा हामी नेपालीको पे्ररणाको स्रोत बन्न पुगेको छ । प्रचण्ड गोर्खा तथा प्रजापरिषद् खोल्नुभन्दा पहिला राणा शासनलाई इंगित गरेर विक्रम संवत् १९७७ सालमा ‘मकैको खेती’ पुस्तक लेखेबापत कृष्णलाल अधिकारीलाई पक्राउ गरेर जेलमा राखिएको र १९८०  मंसिरमा जेलमा नै देह त्याग गरेका थिए । कृष्णलालले पुस्तकमा लेखेका थिए– ‘मकैको बोटमा लाग्ने कीरा दुई प्रकारका हुन्छन् । एउटा रातो टाउको भएको र अर्को कालो टाउको भएको । रातो टाउके कीरा भनेको चन्द्रशमशेरले लगाउने रातो टोपी भएको र कालो टाउके भनेको भीमशमशेरले लगाउने कालो टोपी हो भन्ने फटाहाहरुले अर्थ लगाएका थिए । पुस्तकमा उल्लिखित ‘आफ्नो देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छन् तर चोर डाँकाबाट हाम्रो रक्षाबखत त्यो गद्दीमा सुत्ने विदेशी कुकुर काम लाग्दैन’ भन्ने कुराले उनलाई फसाउने काम गरे । वि.सं. १९९३ साल जेठ २० मा ओमबहालमा राणा शासनविरुद्ध प्रजापरिषद् जन्म भयो । स्नातक गरेका शुक्रराज शास्त्रीले ‘नागरिक अधिकार समिति’ मा संलग्न रहेर राणा शासन विरोधी आन्दोलनमा संलग्न रहेबापत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिइएको थियो ।

राजा त्रिभुवन राजगद्धी छाडेर भारत नगएका भए राणा शासन त्यति सजिलै अन्त्य हुने थिएन । तर कतिपय बुजु्रक राजा त्रिभुवनप्रति नकारात्मक सोचाइ राखेर सहिद गेटमा उनको सालिक राखेकामा समेत विरोध गर्छन् ।  

उता रामहरि शर्मा र टंकप्रसाद आचार्य ब्राह्मण भएकाले चारपाटा मुडेर सर्वश्वसहित जन्म कैद गरिएको थियो । उहाँहरुसँगै राणा शासन विरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चुडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चिनियालाल, पं. मुरलीधरहरु जन्मकैद  भए । सर्वश्वहरण तथा जन्मकैद भएका योद्धाहरु पछि २००७ सालको क्रान्तिपछि जेलमुक्त भएका थिए । माघ ९ गते राति शुक्रराजलाई पचलीको एक रुखमा झुण्डाइयो । माघ ११ गते धर्मभक्त माथेमालाई सिफलको एक रुखमा साहै दुःख दिएर झुण्डाइयो । एकपटक पासो चुँडाएर जमिनमा खसे पनि फेरि क्रुर राणाहरुले त्यहीँ झुण्ड्याए । जबकि झुण्डाएर मार्न लागेकामा उसले पासो छिनाएर भुइँमा खस्यो भने उसलाई फेरि झुण्डाएर मार्नु महापाप ठानिन्छ । दशरथ चन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । सहिदहरुको शवलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शनसमेत गरियोे । बलबहादुर पाण्डे जेलभित्रै मरे । गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागे । सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथित जस्ता कैयौँ जेलभित्रै कोचिए । सिद्धिचरण श्रेष्ठले कविता लेखे– बिखालु कीट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौं के कीरालाई ?
विक्रम संवत् १९०३ सालदेखि नेपालमा राणाहरुको एकलौटी जहानियाँ शासन चल्यो । यो शासनसँग प्रारम्भदेखि नै राजा र जनता दुवै असन्तुष्ट थिए । समयसमयमा राणा शासनविरुद्ध कार्य हुँदै आए तापनि १९९७ सालपछि राणाहरुको निरंकुशताविरुद्ध उठेको लहरले प्रजातन्त्र प्राप्त गर्न सकेको थियो । जहानियाँ राणा शासनविरुद्ध सक्रिय भएको आरोपमा जासुसहरुको भनाइमा राणाहरुले खोजी–खोजी कैयौं कर्णधारलाई जेलमा कोच्दै अराजक कार्य गरेका थिए । निरंकुश जहानियाँ शासन लम्ब्याउने उनीहरुको रणनीति थियो । राणा शासनविरुद्ध प्रचण्ड गोर्खा नामक संस्था खोलेको अभियोगमा खड्गमान सिंहलाई भद्रगोल जेलभित्र पिंँजरामा राखिएको थियो । प्रचण्ड गोर्खापछि प्रजापरिषद् स्थापना भएको थियो । विक्रम संवत् १९९७ सालको सुरुमा प्रजापरिषद्बाट राणा विरोधी पर्चा छरिएको निहँुमा कैयौं व्यक्ति पक्राउ परेका थिए । त्यसबेला अनेकौँ निर्दोष व्यक्ति पनि समातिएका थिए । त्यही साल १९९७ मा राणाको विशेष अदालतले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई ज्यान सजाय र सर्वश्वहरण, टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडाप्रसाद शर्मा, गणेशमान सिंह, हरिकृष्ण श्रेष्ठ, गोविन्दप्रसाद उपाध्याय, पुष्करनाथ उप्रेती, बलबहादुर पाण्डेलाई जन्मकैद र सर्वश्वहरणको सजाय र अन्य २०–२५ जनालाई विभिन्न कैद हुने र प्रजापरिषद्का संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य र महामन्त्री रामहरि शर्माचाहिँ ब्राह्मण भएकाले चारपाटा मुडेर जात झारेर सर्वश्वहरणसहित जन्मकैदको घोषणा माघ ६ गते सुनाएको थियो । बलबहादुर पाण्डेको जेलमा नै मृत्यु भएको थियो ।
यसै क्रममा १९९७ साल माघ ९ गते राति शुक्रराज शास्त्रीलाई टेकुको एक रुखमा र माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुण्डाइयो । दशरथचन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो । गणेशमान सिंह २००१ असारमा जेलभित्रैबाट भागेका थिए । सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथितहरु जस्ता कैयौँ जेलभित्रै कोचिएका थिए । महावीर स्कुल स्थापना गरेर राणा विरोधी कार्य गरेको भन्दै कैद गरिएका चिनियालाल सिंहको जेलभित्रै मृत्यु भयो । उता बिपी कोइराला, मातृकाप्रसाद कोइरालालगायत धेरै प्रजातान्त्रिक योद्धाहरु प्रवासमा नैंं राणा शासनविरुद्ध कार्यक्रम जारी राखिरहेका थिए । २००३ मा विराटनगरमा मजदुर हडतालले महत्वपूर्ण स्थान प्राप्त ग¥यो । २००४ को अन्त्यमा नेपाल राष्ट्रिय कांग्रेस अवैध घोषित गरियो । यस्ता अनेकौँ संघर्ष र जनअभियानलाई सहिदबाट पे्ररित गरिएकाले प्रजातान्त्रिक क्रान्तिले मूर्त रूप लियो । राजा त्रिभुवनबाट जहानिया राणा शासनविरुद्ध २००७ सालमा श्रीपेच दाउमा पारेर, देशभित्र प्रजातन्त्र ल्याउन, जनतासँग मिलेर नारायणहिटी छाडेर दिल्ली पुगेका थिए । राजा त्रिभुवनको त्यो कदम सहिदमाथिको सम्मान थियो । राजा त्रिभुवनले त्यसरी भरपर्दा सहयोग नगरेका भए अमर सहिद शुक्रराज शास्त्री, धर्मभत्त माथेमा, दशरथचन्द, गंगालाल श्रेष्ठको सपना राणाहरुले साकार बन्न दिने थिएनन् । सहिदको सपना साकार पार्न राजा त्रिभुवन र प्रजातन्त्रवादी नेपालीको अथक प्रयासबाट प्रजातन्त्र उदय भएको हो ।
राजा त्रिभुवन राजगद्धी छाडेर भारत नगएका भए राणा शासन त्यति सजिलै अन्त्य हुने थिएन । राजा त्रिभुवनसहितका प्रणेता भएकाले उनको सक्रियताबाट नै त्यति छिटै प्रजातन्त्र प्राप्त हुन सकेको हो । तर कतिपय बुजु्रक राजा त्रिभुवनप्रति नकारात्मक सोचाइ राखेर सहिद गेटमा उनको सालिक राखेकामा विरोध गर्छन् । यसबारेमा नेपाली कांग्रेसका नेता पीएल सिंह लेख्छन्– जहानिया राणा शासन फ्याँकेर मुलुकलाई आधुनिक युगमा प्रवेश गराउने २००७ सालको क्रान्ति राजा त्रिभुवनकै सहकार्यमा भएको हो । राजाको वैधानिक नायकत्व जनक्रान्तिलाई स्वीकार्य थियो । सहिदद्वारमा चार सहिदसँगै त्रिभुवनको सालिक राख्नुपर्ने कारण यही थियो । सहिद गेटबारे श्याम रिमाल लेख्छन्– ‘सहिद गेटको डिजाइनर इन्जिनियर शंकरनाथ रिमाल हुन् । त्यो निर्माण समितिमा अरुणशमशेर गौरीनाथ रिमाल र सूर्यलाल जोशी हुनुहुन्थ्यो । प्रारम्भमा राजा त्रिभुवन र चार सहिदको सालिक राख्ने कुरा नभएर प्रजातन्त्रको स्तम्भ राख्नेमात्र कुरा भएको र पछि चार सहिद र राजा त्रिभुवनको शालिक राखियो । तर राजा महेन्द्रबाट राजा त्रिभुवनको शालिक त्यहाँ राख्ने भनिएको थिएन । पछि सबैको सल्लाहले चार अमर सहिदको सालिकमात्र राखेर सहिदका प्रणेताको सालिक नराख्दा अधुरो हुन जान्छ भन्ने मान्यताले राजा–राष्ट्राध्यक्ष पनि भएकाले इन्जिनियर शंकरनाथजीले नै अडान लिएकाले राजा त्रिभुवनको सालिक राख्नु सर्वमान्य कुरा रहेकाले त्यस्तो निर्णय भएको हो । प्रजातन्त्र ल्याउन राजा त्रिभुवनको निकै ठूलो देन मानिन्थ्यो । राणा शासन अन्त्य गर्न चार सहिदको साथमैं राजा त्रिभुवनको योगदान रहेको थियो । त्रिभुवन र चार सहिदबीच एकअर्कामा सहयोग आदान–प्रदान हुन्थ्यो । त्रिभुवनको उनीहरुसँग गोप्यरूपमा सहकार्य थियो । त्यो स्मारक सहिद गेटको नाममा नेपाली जनताले दिएको सम्मान हो । सहिद गेटलगायतका स्मारकको उपेक्षा गर्नु अबुझपन हो ।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको हिसावमा धनी राष्ट्र हो । नेपालको प्राकृतिक र सांस्कृतिक अवस्थाको सुवास विश्वभर फैलिएको छ । नेपालभित्र अनेकौं जाति मिलेर एक साझा सगोलरूपमा प्रजातान्त्रिक मूल्य र मान्यता जोगाउँदै एकीकृत हुँदै आएका छौं । हाम्रो देश सानो भए पनि यहाँ धेरैथरीका जाति छांै । यहाँ कुनै पनि समूह, संस्था र जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पूर्ण हुँदैन । नेपालको एकीकरणपछि पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापा, चार अमर सहिद, राजा त्रिभुवन, राजा महेन्द्र, राजा वीरेन्द्रलगायत बिपी कोइराला, गणेशमान सिंह जस्ता देशभक्त प्रजातान्त्रिक योद्धाहरुको योगदान अविस्मरणीय छन् । तर माओवादी जनयुद्धको नाममा युगपुरुष राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक फोर्ने, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हटाउने, राष्ट्रपिता त्रिभुवन, आदिकवि भानुभक्त, कवि शिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, धरणीधर, युगकवि सिद्धिचरण श्रेष्ठ, प्रजातन्त्रका योद्धा बिपी कोइराला, गणेशमान सिंह आदि निर्माता, स्रष्टाहरुको तेजोवध गर्न खोज्नु नेपालको अस्तित्वमाथि खेलवाड गर्न खोज्नु हो जुन सबैका लागि निन्दनीय कुरा हो ।
                             

प्रकाशित: १६ माघ २०७३ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App