१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

थेसिस बिक्री धन्दा!

थेसिस अर्थात् शोधपत्र तयार पार्न विद्यार्थीले सम्बद्ध विषयमा गहिरो अध्ययन तथा अनुसन्धान गरेको हुनुपर्छ। र, शोधनिर्देशक(गाइड) ले विद्यार्थीको शैक्षिक स्तर र शोधपत्रमात्र होइन, विद्यार्थीमाथि नै निगरानी गरेको हुनुपर्छ। शोधपत्रले विद्यार्थीलाई सिर्जनात्मक त बनाउँछ नै साथमा अब्बल अनुसन्धाता पनि बनाउँछ। विद्यार्थीले गरेका उच्चस्तरीय शोध भविष्यका सम्पत्ति बन्छन्। तर, हाम्रा विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीले पछिल्लो समय शोधलाई 'कामचलाउ' विषय बनाइदिएका छन्। त्रिभुवन विश्वविद्यालयवरपरका बिजुलीका पोल वा सार्वजनिक बसस्ट्यान्डका भित्तामा मूल्य तोकेरै विभिन्न विषयका शोधपत्र किन्न पाइने जानकारी टाँसिएको देखिन्छ। त्यस्ता जानकारीमा सम्पर्क टेलिफोन–मोबाइल नम्बर पनि हुन्छन्। पुस्तक तथा स्टेसनरी पसलमा शोधपत्र बेचबिखनको 'बार्गेनिङ' चलिरहेको सुन्न पाइनु अब सामान्य बनेको छ। प्रायः ३० हजार रुपैयाँबाट सुरु हुने थेसिसको मूल्य घटेर ८–१० हजारमा ओर्लने गरेको विडम्बनापूर्ण यथार्थ स्वयं शोधार्थीकै मुखबाट सुन्न पाइन्छ! जब महिनौँ लगाएर तयार पारिने थेसिस केही मिनेटभित्रै थोरै रकममा किन्न पाइन्छ र प्राध्यापकले पनि त्यसलाई सहजै स्वीकार गरेर नम्बर पनि राम्रै दिन्छन् भने किन मेहनत गर्नु? विद्यार्थीमा बलियो बन्दै गएको यस्तो मनोविज्ञानले मुलुकले भविष्यमा कस्तो शिक्षित वर्ग प्राप्त गर्ने हो चिन्ताको विषय बनेको छ।

उसै पनि नेपाली, संस्कृतलगायतका कतिपय विषयका थेसिस लेख्दा विद्यार्थीले नयाँ खोज तथा अनुसन्धान नगरेको र पूर्वकार्य विवरणबाट सारेको आरोप लाग्दै आएको छ। त्यतिमात्र होइन, चिकित्सा विज्ञानजस्तो तुलनात्मक रूपमा गम्भीर विषयमा समेत विद्यार्थी थेसिस किन्नतिर लाग्नुले समस्या विकराल बन्न पुगेको छ। विद्यार्थीले यसरी कमजोर ढंगमा थेसिस तयार पारेर वा किनेर–अरुको सारेर बुझाउँदा पनि अनुत्तीर्ण हुनुपरेको छैन। एक जना निर्देशकको जिम्मामा वार्षिक १५–२० जना विद्यार्थी हुनु अनि कतिपय प्राध्यापक विश्वविद्यालयमा भन्दा अन्य निजी शिक्षणसंस्थामा संलग्न हुनुले पनि समस्या जटिल बन्न पुगेको छ। यो अवस्थाका कारण निर्देशकले थेसिसको गहिरो अध्ययन गर्ने समय पाएका हुँदैनन्। निर्देशकले नै थेसिस राम्ररी पढ्ने समय नपाउँदा त्यसभित्रका कमीकमजोरी हेरेर सुधार गर्ने सल्लाह दिन भ्याउँदैनन्, 'क्रस क्वेस्चन' गरेर विद्यार्थीभित्रको क्षमता जाँच्ने समय त झनै हुँदैन। यही कारण विद्यार्थीले निर्देशकलाई नटेर्ने अवस्था पनि निम्तन्छ। यसले थेसिस लेखनजस्तो गम्भीर तथा बौद्धिक कामलाई 'झारा टार्ने' काममा सीमित बनाइदिएको छ।

थेसिसको अवधारण लागु गर्नुको मुख्य उद्देश्य भनेको विद्यार्थीलाई सम्बन्धित विषयवस्तुबारे अनुुसन्धान गरेर व्यवहारमा उतारी सक्षम बनाउनु हो। सही ढंगमा गरिएका कतिपय अनुसन्धानले देश विकासमा सहयोग पुग्नुका साथै सम्बद्ध विषयको एउटा इतिहास नै तयार पार्नमा समेत सघाउ पुर्‍याउँछ। तर, विद्यार्थीमा जसरी पनि तह उत्तीर्ण हुने र प्रमाणपत्र हात पार्ने मानसिकता तथा शिक्षकमा व्याप्त पढाउन मेहनत नगर्ने आदतले थेसिसमा विकृति बढेको हो। थेसिस किनेर अध्ययन पूरा गरी प्रमाणपत्र लिने कार्यमा जति विद्यार्थी दोषी देखिन्छन्, यसमा शिक्षकलाई पनि कम दोषी मान्न सकिँदैन। किनकि, थेसिस बेच्ने कार्य शिक्षकको संलग्नता वा मिलेमतोबिना सम्भव छैन। कुन स्तरको थेसिसलाई कति नम्बर दिने भन्ने कुरो पूर्णतः निर्देशकहरूमा निर्भर रहन्छ। विद्यार्थीले कमजोर वा अरुको सारेर ल्याएको थेसिसबारे जानकारी निर्देशकलाई नहुने कुरै भएन। त्यसमाथि थेसिसमा शोधनिर्देशकको हस्ताक्षर अनिवार्य हुन्छ। यसकारण पनि थेसिस विकृति नियन्त्रणमा पाइला चाल्न सर्वप्रथम शिक्षकमाथि नै निगरानी राख्नु आवश्यक छ। थेसिस विकृतिले मेधावी तथा मेहनती विद्यार्थी बढी मर्कामा परेका छन्। बौद्धिक चोरी भौतिक चोरीभन्दा ठूलो हो। विश्वविद्यालयले यसमा संलग्नलाई कडा कारबाही गर्न सक्नुपर्छ। थेसिस विकृतिबारे धेरै गुनासो आउन थालेपछि एक छानबिन समिति पनि विश्वविद्यालयले गठन गरेको छ। समितिले के हेक्का राख्नु जरुरी छ भने, जब किनेर वा अर्काको सारेर थेसिस लेख्ने विद्यार्थी अनुत्तीर्ण हुँदैनन्, गहिरो अध्ययन–अनुसन्धान गर्ने विद्यार्थीकै हाराहारीमा नम्बर पाउँछन् भने थेसिसको औचित्य नै किन? समितिले सर्वप्रथम थेसिस बेचबिखनमा संलग्न शिक्षकमाथि अनुसन्धान गरेर आवश्यक कारबाही गर्न सक्दा विकृति नियन्त्रणमा सहयोग पुग्छ।

प्रकाशित: २३ माघ २०७३ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App