१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

चर्चित बन्ने चेष्टा

पहाड भोजपुर सानोदुम्बाकी मीरा राई र मधेस रुपन्देही जिल्ला रुद्रपुर निवासी तेरिया मगर केही दिनयता विश्वभरका खेल र नृत्यप्रेमीबीच निकै चर्चामा रहे। नेपाल र नेपालीका लागि यी दुवै गौरवशाली व्यक्तित्व बने। मिरा ‘अल्ट्र म्याराथुन’ जस्तो साहसी दौडमा आफ्नो अद्भूत क्षमता प्रदर्शन गरेर नेपाललाई विश्वभर अझ नजिकबाट चिनाउन सफल भइन्। त्यसैगरी तेरियाले भारतको एक लोकप्रिय कार्यक्रममा आफ्नो अलौकिक नृत्य खुबी देखाएर दुनियालाई चकित पारिन्।

मीरालाई मुलुकभित्र पूर्वलडाकुको ‘अयोग्यको बिल्ला’ भिराए पनि विश्वका लागि उनी योग्यमात्र होइन अब्बल साहसी व्यक्ति सावित भइन् । लुकेर बसेका दुवै प्रतिभा र खुबी विश्वसामु उजागर भए । मीरा ‘नेसनल जोग्राफिक च्यानल’ ले हरेक वर्ष प्रदान गर्ने ‘वर्षकै साहसी व्यक्ति’ को उपाधि जितिन् । यसैगरी तेरियाले भारतको यस वर्ष झलक दिखलाजाको ‘डान्स रियालिटी सो’ मा सवा अरबभन्दा बढी जनसंख्या भएको मुलुकमा सबै सहभागीलाई उछिन्दै सर्वश्रेष्ठ भइन् । यी दुवै जितमा नेपाल र संसारभर छरिएर बसेका नेपाली एवं शुभचिन्तकका ‘एसएमएस’ र ‘अनलाइन भोटिङ’ को समेत अहं भूमिका रह्यो ।

त्यसैगरी नेपालले गर्व गर्नुपर्ने अब्बल समाजसेवी व्यक्तित्व बने अनुराधा कोइराला र पुष्पा बस्नेत । यी दुवै होनहार नेपालीले ‘सिएनएन हिरो’ को उपाधि यही ‘भोटिङ’ विधिबाट जिते । यिनले पनि नेपाललाई विश्वसामु चिनाए । पुष्पा यही प्रक्रियाबाट ‘सिएनएन सुपर हिरो’ समेत भइन् । अनुराधा यस वर्ष भारतको ‘पद्मश्री पदक’बाट उच्च सम्मान पाउने पहिलो विदेशी नागरिक बनिन् । दार्जिलिङका प्रशान्त तामाङ ‘तामाङ’ थर भएकै नाताबाट नेपालीले उनलाई गायन क्षेत्रको ‘इन्डियन आइडल’ को उपाधि जिताउन स्वतस्फूर्त उर्लिए । नपत्याउँदा प्रशान्तले त्यस ‘सो’ मा जित हासिल गरे । त्यस जितमा नेपाली भोटरलाई धन्यवाद दिन र सम्मान प्रकट गर्न उनकी आमा रूपा तामाङले नेपाली ढाका टोपी प्रशान्तको शिरमा लगाइदिइन् । यस कार्यबाट प्रायः सबै नेपालीको मन गर्वले फुल्यो र उच्च बनायो पनि।

यी केही सार्वजनिक भएका प्रतिनिधिमूलक घटना नेपाली समाजको वास्तविकता हो । उल्लिखित यी सफल व्यक्ति केही प्रतीकात्मक र प्रतिनिधि पात्र मात्र हुन् । यिनलाई त्यस स्थानमा पु¥याउन र सफल पार्न मधेस–पहाड–हिमालका प्रायः सबै नेपालीले साथ दिए । यी व्यक्तिका बासस्थान, जात, राजनीतिक आस्था र धर्मबारे कसैले प्रश्न गरेनन् । तिनलाई जिताउन सबै एकाकार भए । नेपाली मनभित्र गडेर बसेको एकताको भावना र सन्देश स्वयमेव प्रकट भयो ।

तर यसको ठीक विपरित बसोबास, जात, राजनीति तथा धर्मका आधारमा नेपालीबीच विभाजन ल्याउन खोज्ने विद्यमान राजनीतिक शैलीसँग यी परिदृष्य मेल खाँदैनन् । किनभने हाम्रो मुलुकको राजनीतिक अभ्यास जात, भाषा र क्षेत्रका आधारमा नागरिकबीच खाडल खन्ने र पर्खाल लगाउन खोजिएको छ पहिचान र अधिकारको आवरणमा । तथापि माथिका यी दृष्टान्त नेपाल र विश्वभरका नेपालीको वास्तविक ‘मन’ र ‘लुकेर बसेको अभिव्यक्ति’ हुन् । सबैखाले पहिचान जोड्न चाहने यो एक सन्देश हो । यसलाई नकार्न किमार्थ मिल्दैन भन्ने हो ।

संभवतः यो विषय यहाँ उठाउँदा समाजमा ‘घृणा छर्ने प्रवृत्ति’ मा लागेका केही ‘वादी’ अभियानकर्ताका मन अमिल्लिएला । चाहे ती तराई–मधेसका हुन् अथवा पहाड–हिमालका । यसखाले समूहले अमुक ‘पुर्खा’ का हवाला दिँदैं ‘संभ्रान्त’ र ‘नश्ल’ का संज्ञा दिएर दिनरात सत्तोसराप गर्ने गरेका छन् । यसबाट सामाजिक सद्भाव बिथोल्ने र राष्ट्रलाई विखण्डन गर्नेसमेत नियत राख्नेले प्रश्रय पाउँदै आएका छन् । राष्ट्रलाई विभाजन गर्ने धेरैअघिदेखिका सुनियोजित प्रयासमा बल पुगेको छ । तथापि यो निश्चित छ कि  यस प्रवृत्तिले कसैको भलो भने गर्दैन ।

२००७ सालमा पनि वेदानन्द झाले नेपाल तराई कांग्रेस गठन गरेर हिन्दी भाषासहित ‘स्वतन्त्र तराई’ बनाउने विचार बोके । तर त्यस विचारलाई २०१५ सालको आमचुनाबबाट जनताले अस्वीकार गरे । उनका २१ जना उम्मेद्वारमध्ये स्वंसमेत कसैले चुनाव जितेनन् । तिनका दलले मात्र २ प्रतिशत मत पायो । उनका विचारलाई जनताले मतदानद्वारा परास्त गरे ।

वर्तमान मधेसकेन्द्रित दलहरुले दोस्रो संविधानसभाको चुनावमा ठूलो हार भर्खरै बेहोरे । त्यस पराजय पहिलो संविधानसभामा तिनले मधेसका नागरिकका भावना विपरित खेलेको भूमिकाको प्रतिविम्ब थियो । अहिले आएर विगतमा तराई कांग्रेसले बोकेको अजेन्डा सिके रावतमा सरेको छ । फरक यतिमात्र हो, यिनले मधेसी र पहाडी समुदायबीच घृणा छर्ने क्रियाकलापबाट बढी राजनीतिक लाभ उठाएका छन्् ।

यस गलत राजनीतिले सामाजिक न्यायको स्थापना र राजनीतिक समाधान भेट्दैन । द्वेषको राजनीति बढ्छ । अनन्तकालसम्म नटुङ्गिने अकल्पनीय द्वन्द्वमा मुलुक फस्छ । देशको राजनीति गलत दिशातिर मोडिन्छ । हेक्का राखौं, एक पटक राष्ट्रिय राजनीतिले गलत मोड लिएपछि त्यसलाई फेरि ठीक ठाउँमा फर्काउन धेरै गाह्रो हुन्छ ।

किनभने यस प्रवृत्तिलाई मलजल गर्न विदेशीको चलखेल अझ बढ्नेछ । निहीत स्वार्थ बोकेका स्वदेशी र विदेशी शक्ति नेपालीबीच नमेटिने भाँजो ल्याउनेछन् । तर यिनले बुझ्नुपर्छ कि विद्यमान सूचनाको युगमा नेपाली नागरिक त्यति बेबकुफ छैनन् भनेर । किनभने नेपालको द्वन्द्वकाल र त्यसपछिका संक्रमणकालमा धेरैखाले निहीत स्वार्थ एवं प्रवृत्ति भेटिए । जतिसुकै ठूला र आदर्शका कुरा छाँटे पनि तिनका धरातलीय यथार्थता उजागर भएका छन् । तथापि यस गलत प्रवृत्तिलाई निस्तेज पार्ने दूरदर्शी नेतृत्वको खडेरी भने मुलुकमा परेको छ ।

‘हेटरेट राजनीति’ को उपज हो सिके राउत र उनको प्रवृत्ति । उनको ‘स्वतन्त्र मधेस’ मागप्रति युवाहरुको आकर्षण बढ्दो छ । यसको विकास विगत १० वर्षदेखि मूलधारको राजनीतिमा रहेका प्रमुख तीन दल र मधेसकेन्द्रित नेतृत्व वर्गका अकर्मण्यताबाट उत्पन्न भएको हो । तथापि यस प्रवृत्तिलाई निस्तेज पार्न राज्यले प्रशासनिक भन्दा राजनीतिक हल खोज्नु वेस हुन्छ । रावतलाई थुनेर उनको आवाज दबाउन सकिन्छ भन्ने सोच भ्रमपूर्ण हो । बरु यसले उनको पृथकतावादी अभियान र सोचलाई अझ बलियो पार्छ । फेरि पनि उनको यो गिरफ्तारी कहीँबाट प्रायोजित त भएको होइन भन्ने शंका पनि त्यत्तिकै छ ।

किनभने स्मरण रहोस्, रावत यस अभियानमा लागेको करिब १० वर्ष (सन् २००७ देखि) पुगेको छ । उनी सुरुका दिनमा त्यति चर्चित व्यक्ति थिएनन् । तर दुई वर्षअघि मात्र मोरङ रंगेलीको एक सानो कोठाको कार्यक्रमबाट जब प्रहरीले गिरफ्तार ग¥यो त्यसपछि मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनले चर्चा पाए। अन्तर्राष्ट्रिय मानव अधिकारका मान्यता र राष्ट्रिय कानुनतः शान्तिपूर्ण अभिव्यक्ति दिन पाउने पक्षमा आवाज उठेका थिए । यसलाई ‘पृथकतावादी’ उनको विचारलाई समर्थन गरेको भ्रामक एवं दुष्प्रचार गरियो। जुन गलत थियो । तथापि उनलाई चर्चित बनाउन त्यसबेला ‘रंगेली गिरफ्तारी नाटक’ रचिएको त थिएन ? भन्ने शंका यथावत छ ।

नभुलौं, मुलुकमा स्थानीय सरकारको निर्वाचन नभएको आज २० वर्ष पुग्न लागेको छ । नागरिकका घर–दैलो सरकारबिहीन भएको कैयौं वर्ष बितिसकेको छ । विगत दश वर्षदेखिको राष्ट्रिय राजनीति उराठलाग्दो बनेको छ । स्थानीय तह पुनर्संरचना आयोगले सर्वसम्मतबाट सरकारलाई बुझाएको प्रतिवेदनमाथि प्रश्न गरिएको छ । त्यसलाई कार्यान्वयन नगर्ने प्रपञ्च रचिँदैछ । स्थानीय तहको निर्वाचन हुन नदिने खेलमा स्वयं सरकार लागेको छ ।

राजनीति सीमित दल र नेताका बक्स्यौनी जस्तो भएको छ । परिवर्तनका लागि नागरिकले गरेका योगदान र बलिदानलाई बिर्सेका छन् तिनले । आपसी लेन–देन र भागबन्डाको दुष्चक्रमा फसेको छ राष्ट्रिय राजनीति । दक्षिण छिमेकीसँगको सम्बन्ध फेरि ‘लम्पसारवाद’ को शैलीमा अड्केको छ । जनताको मनोभावना भन्दा दक्षिण र स्वार्थरत राजनीतिज्ञलाई रिझाउन जुटेका छन् बागडोर सम्हालेका नेतृत्व ।

अन्त्यमा, जनताको मनोभाव बुझ्न चुनावको विकल्प छैन । यसको अपरिहार्यता नेताले बिर्सिएका छन् । ‘रावत प्रवृत्ति’ लाई चलखेल गर्ने राजनीतिक मैदान खुला छाडेका छन् । विदेशी शक्तिलाई खेल्ने ऊर्वर भूमि बनाइदिएका छन् । नागरिकबीचमा रहेका ‘एकताको भावना र सन्देश’ लाई ठेस पु¥याउने काम गरेका छन् । मीरा र तेरियाप्रति दर्शाएका  ‘नेपाली मन’ का अभिव्यक्तिलाई ‘रावत प्रवृत्ति’ ले चकनाचुर पार्न खोज्दासमेत एक अर्कालाई दोषारोपण गर्न छाड्दैनन् । ‘पानीमाथि ओभानो’ भएजस्तो गरेका छन् । यस प्रवृत्तिको हल राजनीतिकभन्दा प्रशासनिक हिसाबबाट खोज्दैछन् । अनि ‘कागतीको बोट रोपेर सुन्तला फलाउने’ चेष्टा गर्दैछन् । 

प्रकाशित: २६ माघ २०७३ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App