१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नयाँले धान्दै रेकर्डिङ स्टुडियो

काठमाडौं- संगीतसम्बन्धी अधिकांश कार्यक्रममा संगीतको बजार खस्किएको गुनासो गर्छन्, स्रष्टाहरु। पैसा खर्च गरेर गायकगायिकाले एल्बम निकाले पनि त्यसले बजार लिन नसकेको चिन्ता उनीहरूको छ। स्रष्टाले गुनासो गरिरहे पनि राजधानीका केही स्टुडियोमा गीत रेकर्डिङको चाप उच्च रहेको पाइएको छ।

पुतलीसडकस्थित ड्रिम्स स्टुडियोका प्रोपाइटर प्रकाश केसी १५ देखि २० दिनसम्मका लागि स्टुडियो अग्रिम बुकिङ भइसकेको बताउँछन्। 'पुरानाभन्दा नयाँ अनुहार गीत रेकर्ड गर्न आउँछन्,' उनी भन्छन्, '६० गीत रेकर्ड गर्दा आधा भन्दा बढी नयाँ गायकगायिका हुन्छन्, नाम चलेका गायकगायिकाले भने कलेक्सन एल्बममा मात्र स्वर दिइरहेका छन्।'

प्रकाशका अनुसार पुरानाले 'संगीतको बजार छैन' भने पनि नयाँमा गायनको सोख उच्च छ। नामसँगै विदेशमा गएर कार्यक्रम गर्ने चाहनाले पनि नयाँ अनुहार संगीत क्षेत्रमा आकर्षित हुने गरेको उनको बुझाइ छ। निकै महँगो स्टुडियोका रुपमा लिइने यो स्टुडियोमा आधुनिक र फिल्मी गीत बढी रेकर्ड हुन्छन्।

अनामनगरस्थित गुञ्जन स्टुडियोमा पनि गीत रेकर्डिङको चाप उस्तै छ। संगीतकार आलोकश्रीको यो स्टुडियोमा पनि गीत रेकर्ड गर्न नयाँ अनुहारकै बाहुल्य छ। 'चलेका अनुहारको अहिले कमै मात्र गीत रेकर्ड भएको छ, संगीतमा सोखिन नयाँ अनुहारले नै गीत रेकर्ड गराइरहेका छन्,' स्टुडियोका सिनियर रेकर्डिस्ट कृष्णकुमार महर्जन भन्छन्, 'पुराना गायक–गायिकाले गीत गाएपछि त्यसको प्रतिक्रिया नपाइने र आर्थिक रुपमा पनि बोझ मात्र हुने गुनासो गरे पनि नयाँ उत्साहित नै छन्।'

गुञ्जनमा लोकगीत कम, आधुनिक र फिल्मी गीत बढी रेकर्ड हुन्छ। दैनिक दुईदेखि तीन गीत रेकर्ड हुने यो स्टुडियोमा हाल यम बरालको नयाँ गीति एल्बमको काम भइरहेको महर्जनले बताए।

अनामनगरस्थित म्युजिक नेपालमा रेकर्डिस्टका रुपमा काम गरिरहेका प्रकाश खरेल हिट हुने चाहनाले पनि नयाँ कलाकारको चाप बढेको बताउँछन्। 'गीत–संगीत क्षेत्रमा लागेपछि सबैलाई हिट हुने रहर हुन्छ, यहाँ आउने नयाँ गायकगायिकाको चाहना पनि त्यस्तै पाएको छु,' उनले भने। उनले

एक वर्षयता स्टुडियोमा कामको चाप बढेको बताए। बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने यो स्टुडियोमा प्रायः आधुनिक गीत रेकर्ड हुन्छन्।

पुतलीसडकमा रहेको म्युजिसियन स्टुडियोका प्रोप्राइटर, रेकर्डिस्ट तथा साउन्ड इन्जिनियर किशोर थापा नयाँ अनुहारले संगीत उद्योग धानेको बताउँछन्। 'नयाँलाई नाम, दाम र चर्चा चाहिएको छ, त्यसकारण पनि उनीहरूको गायनमा आकर्षण बढी छ,' किशोर भन्छन्, 'तर पुराना गायकगायिका विदेशमा हुने कार्यक्रममा व्यस्त हुने भएकाले पनि विशेष डान्सिङ फर्मुलाको एक–दुई गीत मात्र रेकर्ड गराउँछन्, गीत–संगीतमा आउँदा चर्चासँगै मिडियामा पनि छाइने भएकाले नयाँको चासो संगीत क्षेत्रमा धेरै छ।' आफ्नो स्टुडियोमा कामको अभाव नभएको किशोर सुनाउँछन्।

विदेशमा बस्ने बढी

रोजगारीका लागि विदेश गएका हुन् या लामो समयदेखि प्रवासमै बस्दै आएका नेपालीको संगीत क्षेत्रमा विशेष रुचि भएको पाइएको छ। स्टुडियोमा रेकर्ड भएका गीतमध्ये अधिकांश गीत विदेशमै बस्ने नेपालीका छन्। 'मेरो स्टुडियोमा महिनामा ६० गीत रेकर्ड गर्दा झन्डै २० विदेशमा बस्ने नेपालीका रेकर्ड हुन्छन्, त्यसमा ३० जति नेपालकै नयाँ अनुहारका र १० जति पुराना र फिल्मका गीत छन्,' ड्रिम्सका प्रकाश भन्छन्, 'विदेश बस्ने नेपाली सोखिन किसिमका हुन्छन्, नेपाल आएको मौका पारी उनीहरूले गीत रेकर्ड गराउँछन्।'

गुञ्जनका रेकर्डिस्ट कृष्ण आफ्नो स्टुडियोमा मासिक रेकर्ड हुने गीतमा झन्डै ३० प्रतिशत विदेशमा बस्ने नेपालीको हुने बताउँछन्। 'कोहीले गीत पठाउँछन्, कोहीले संगीत पठाउँछन्, त्यसैअनुसार हामीले यहाँ गीत तयार पार्छौं, अनि त्यो गीतलाई विदेशमै पठाएर उनीहरूले सुनेपछि यहाँ फाइनल गर्छौं,' कृष्णले भने, 'विशेषतः खाडी मुलुकमा बस्ने नेपालीको कमाई थोरै नै हुन्छ, त्यहाँ रेकर्ड गर्दा स्टुडियोको भाडा पनि महँगो पर्छ, त्यसैले उनीहरु आफ्नै देशमा गीतको रेकर्ड होस् भन्ने चाहना राख्छन्।'

म्युजिक नेपालका रेकर्डिस्ट प्रकाश विदेशमा बस्ने नेपालीको संगीतमा लगाव देखेर आफू अचम्भित भएको सुनाउँछन्। 'केही गायकगायिका म तास पनि खेल्दिनँ, जाँडरक्सी पनि खान्नँ, तर गीत रेकर्ड गराउँछु भन्दै आउँछन्,' उनी भन्छन्, 'संगीतमा लागेर चर्चामा आउनेसँगै विदेशमा हुने सांगीतिक कार्यक्रममा आफूलाई उभ्याउन पनि गीत रेकर्ड गराउँछन्।'

म्युजिसियनका रेकर्डिस्ट किशोर विदेशमा बस्ने नेपाली चर्चा कमाउने खालको चाहने बताउँछन्। 'उहाँहरू चल्ने खालको गीत चाहियो भन्नुहुन्छ, तर कस्तो फ्लेबरको चल्ने भन्ने ज्ञान चाहिँ हुन्न, विशेषत आधुनिक, परम्परागत र डान्सिङ शैलीका गीतमा उहाँहरूको रुचि देखिन्छ,' उनले भने।

रेकर्डिङ स्टुडियोको छाता संगठन म्युजिक रेकर्डिस्ट एसोसिएसन अफ नेपाल अध्यक्ष दीप तुलाधरले विशेषतः नाम चलेका स्टुडियोमा गीत रेकर्डिङको चाप बढ्ने गरेको बताए। 'सबै किसिमका गीतको रेकर्डिङ चाप उच्च छ, गायकगायिका राम्रा स्टुडियोमा रेकर्ड गराउन चाहने भएकाले पनि चलेका स्टुडियोमा कामको अभाव छैन,' उनले भने, 'मेरो अनुमानमा राजधानीका स्टुडियोमा मासिक एक सय ५० को हाराहारीमा गीत रेकर्ड हुन्छ।' उनका अनुसार संस्थामा सदस्यका रुपमा दर्ता भएका रेकर्डिङ स्टुडियोको संख्या झन्डै ६५ छ।

प्रकाशित: २७ माघ २०७३ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App