काठमाडौं- कवियित्री पवित्रा सुनारको कवितासंग्रह 'युगको आवाज' शुक्रबारदेखि पाठक माझ आएको छ। संग्रहको विमोचन शुक्रबार वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले गरे। पवित्राले एक किसिमले विद्रोह र सामाजिक असन्तुष्टि कविताबाट पोखेको प्रमुख अतिथि दिवसले उल्लेख गरे। 'परिवार, समाजमा जो देखिएको, सुनिएको छ, त्यसविरुद्ध आवाज उठाउने एक कवि सुनार बनेकी छिन्,’ दिवसले भने, 'चित्त नबुझेका कुरा ठाउँठाउँमा सीधै भनिदिएकी छिन्।’
संग्रहको टिप्पणी गर्दै समालोचक तथा कवि राजेन्द्र पराजुलीले विकृत राजनीति, विसंगति र समाजभित्र लड्ने कविता संग्रहमा अटाएको जनाए। 'यो युग मान्छेको युग हो,’ उनले भने, 'मान्छेले मान्छेलाई गर्ने शोषणका रुप फेरिए तर सार फेरिएनन्, त्यसैको विद्रोह कविले गरेकी छिन्।’
केही कलात्मक कमजोरी र सम्पादकीय कमजोरी रहे पनि कविता यो युग सापेक्ष रहेको दाबी पराजुलीले गरे। अर्का टिप्पणीकार डा. भगवान्चन्द्र ज्ञवालीले जीवनलाई हेर्ने भिन्न दर्शन कविताभित्र रहेको बताए। कवयित्री गीता त्रिपाठीले लैंगिक, जातीय र वर्गीय विभेद आजको युगको चेतनामा आउनुपर्ने विषय कविताभरि छाएको औंल्याइन्।
साहित्यकार जितेन्द्र रसिकले सामाजिक हिंसाबाट युगदेखि पिछडिएको वर्ग कविताका शब्दभरि छरिएको पाठकले भेटाउने बताए। 'आमपाठकले खोज्ने कृतिको आधार नै उनीहरूको भावना कविताले भन्छ वा भन्दैन भन्ने हो, उनी यो अन्योलता मेटाउन सफल छिन्,’ रसिकले भने।
साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले पवित्रा आफैँ महिला र दलित समुदायको प्रतिनिधित्व गर्ने हुनाले पनि उनीहरूका आवाज कवितामा ल्याउन आग्रह गरे।
विभिन्न पत्रपत्रिकामा आफ्ना रचना प्रकाशन गर्दै आएकी कवि सुनार कविता लेखेरै पुरस्कृत भइसकेकी छिन्। उनको कवितासंग्रह युगको आवाजमा ६४ कविता समावेश छन्। पुस्तकको मूल्य एक सय ५० रुपैयाँ रहेको छ।
प्रकाशित: २९ माघ २०७३ ०५:०२ शनिबार