२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बर्सेनि राष्ट्रिय गौरवका आयोजना सुस्त

काठमाडौं- सरकारी कर्मचारी र ठेकेदारको लापरबाहीले बर्सेनि राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य सुस्त हुने क्रम जारी छ। काममा लापरबाही गर्दा कुनै पनि राष्ट्रिय गौरवका आयोजना अझै तोकिएको समयमा सकिने छाँट देखिँदैन। सरकारले आफैंले ठेक्का दिएका आयोजनामा ढिलासुस्ती भइरहँदासमेत निर्माण कार्यलाई चुस्त बनाउन कुनै पहल नगरेपछि जनताको सरकारप्रतिको विश्वास घट्दो छ।

निर्माण कार्य सुरु गर्ने बेला नै अघिल्लो वर्ष सक्ने लक्ष्य लिइएको बाँकेस्थित सिक्टा सिँचाइ आयोजनाको काम यतिखेर जारी भए पनि अझै कहिले सकिन्छ भन्ने सकिने अवस्था छैन। उक्त आयोजनाले चालु आर्थिक वर्षमा बल्ल ३५ किलोमिटरको मूल नहरको निर्माण कार्य सकेको छ।

सहायक नहरको निर्माण कार्य सकिएपछि मात्र किसानको पानी पाउने आशा पूरा हुनेछ। समयमा निर्माण कार्य हुन नसकेपछि सिक्टा सिँचाइ आयोजनाले निर्माण कार्य सकिने अवधि बढाएर आर्थिक वर्ष ०७६/७७ सम्म पुर्‍याएको छ। उक्त आयोजना आर्थिक वर्ष ०६१/६२ मा सुरु गरिएको हो।

चालु आर्थिक वर्षका लागि एक अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उक्त आयोजनाले पछिल्लो ६ महिनाको अवधि (साउन–पुस) मा समेत विनियोजित बजेट खर्च गर्न सकेन। जसले गर्दा उक्त आयोजनाको निर्माण कार्यमा फेरि ढिलाइ हुने खतरा बढेको किसानको भनाइ छ। हरेक वर्ष तोकिए अनुसार भौतिक प्रगति र विनियोजित बजेट खर्च गर्न नसकेका कारण सिक्टा करिब पाँच वर्ष पछि धकेलिएको हो। तैपनि पुरानो शैलीमा काम गर्ने शैलीलाई भने आयोजनाले अझै सुधार नगरेको किसानको गुनासो छ। जसल गर्दा पुनः आयोजनाको निर्माण अवधि लम्बिने खतरा बढेको छ ।

बाँकेको करिब ३५ हजार खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने गरी निर्माण कार्य थालिएको उक्त आयोजनामा हालसम्म करिब १२ अर्ब रुपैयाँ खर्च भइसकेको बताइन्छ। निर्माण कार्य सम्पन्न हुँदासम्म २५ अर्ब रुपैयाँ जति खर्च हुने बताइएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सिक्टा सिँचाइ आयोजनाले विनियोजित बजेटमध्ये ४२.३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

सरकारले राष्ट्रिय गौरव भनेका अधिकांश आयोजनाको हालत सिक्टाको जस्तै छ। चालु आर्थिक वर्षको ६ महिनामा २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये रानीजमरा–कुलरिया सिँचाइ आयोजनाबाहेक अन्य कसैले पनि ५० प्रतिशत बजेट खर्च गर्न सकेेनन्। उक्त आयोजनाका लागि छुट्ट्याइएको एक अर्ब ४१ करोड ५७ लाख ५२ हजार रुपैयाँमध्ये ६ महिनाको अवधिमा ५८.२८ प्रतिशत अर्थात ८२ करोड ४९ लाख ८३ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

सरकारले तामझामपूर्ण तरिकाले राष्ट्रिय गौरवको रूपमा प्रचार गरे पनि तिनलाई समयमै सक्न चासो नदेखाएको सर्वसाधारणले गुनासो गर्दै आइरहेका छन्। सरकारको काम गर्ने शैलीले गर्दा वर्षौंदेखि विकास पाउने आसमा रहेका सर्वसाधारण निराश हुँदै छन्।

सिँचाइ विभागका प्रवक्ता अशोक सिंह भने राष्ट्रिय गौरवको पहिचान बोकेका सिँचाइका आयोजनाको चालु आर्थिक वर्षको काम सन्तोषजनक भएको बताउँछन्। पहिलो ६ महिना भएकाले एउटा आयोजनाबाहेक सबैको खर्च ५० प्रतिशतभन्दा कम देखिए पनि वर्षको अन्त्यसम्म छुट्ट्याइएको रकम अपुग हुने सिंहको भनाइ छ। उनले हालसम्म आयोजनाको निर्माण कार्यमा ढिलाइ हुनुको कारण रुख कटान, निर्माण सामग्रीको अभाव, नदीजन्य पदार्थ सहजै नपाउनु तथा राजनीतिक दलले गर्ने बन्दलाई लिए। राष्ट्रिय गौरव घोषणा गरिएका पाँचवटा आयोजनाको खर्च प्रतिशत शून्य छ। दक्षिण–एसिया पर्यटन पूर्वाधार विकास आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बूढीगण्डकी जलविद्युत आयोजना र काठमाडौं–तराईं द्रुत मार्ग बजेट खर्च गर्न असमर्थ रहे।

प्रकाशित: २ फाल्गुन २०७३ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App