त्रिभुवन र एरिकाको मार्गचित्र

शुक्रबार, ०६ फागुन २०७३, १० : ३० भीमलाल लामिछाने


प्रजातन्त्रको शाब्दिक अर्थ खोज्दा प्रजाको अर्थ राजाद्वारा शासित देशका जनता अर्थात् राजतन्त्रात्मक देशका जनता भन्ने हुन्छ भने प्रजातन्त्रको अर्थ प्रजाद्वारा निर्वाचित जनप्रतिनिधिद्वारा चलाइएको शासन व्यवस्था भन्ने हुन्छ। नेपालमा २००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा देशवासीका नाममा जारी गरिएको ऐतिहासिक घोषणापछि मनाउन थालिएको प्रजातन्त्र दिवस २०४६ सालको आन्दोलन हुँदै २०६२/०६३ को आन्दोलनसम्म कायम रह्यो। यो आन्दोलनपछि राजा ज्ञानेन्द्रले सहज र शान्तिपूर्णरूपले राजगद्दी छाडेर सामान्य नागरिक जीवन बिताउने भएपछि साविकको प्रजातन्त्र दिवस लोकतन्त्र दिवसमा रूपान्तरण भएको छ। तर मूलरूपमा राजा त्रिभुवन सपरिवार आफ्नो राजगद्दी छाडेर नेपालस्थित भारतीय दूतावास शीतलनिवासमा २००७ साल कात्तिक २१ गते शरण लिन गएपछि नेपालमा जहानिया राणा शासन हटाइ प्रजातन्त्र प्राप्त गर्ने अभियान सुरु भएको हो। यसरी राजपरिवारका सम्पूर्ण सदस्य भारतीय दूतावासमा जाँदा त्रेतायुगमा भगवान् श्रीरामचन्द्र पिता दशरथको आज्ञाले वनवासमा जाँदा उनका साहिँलो भाइ भरत मावलीमा रहेर छुटेजस्तै राजा त्रिभुवनका नाति तथा तत्कालीन युवराज महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र पनि मावलीमा रहेका कारण भारतीय दूतावासमा जान छुटेका थिए।

नेपालमा प्रजातन्त्र आउन सक्नुमा राजा त्रिभुवन र सुश्री एरिकाको योगदान समान देखिन्छ। तर एरिकाको भूमिका र योगदानबारे सही मूल्यांकनचाहिँ हुन सकेको पाइन्न।

राजा त्रिभुवनलाई नारायणहिटी दरबारमा फर्काउन राणा प्रधानमन्त्री मोहनशमशेरले गरेको प्रयत्न विफल भएपछि भोलिपल्ट कात्तिक २२ गते ज्ञानेन्द्रलाई मावली घरबाट झिकाइ राजगद्दीमा राखी गद्दीको प्रतीक ‘श्रीपेच’ पहिर्‍याए। तर यसको मान्यता भारतसहित अन्य मुलुकबाट पनि भएन। शीतलनिवासस्थित भारतीय दूतावासमा शरणमा गएका राजा त्रिभुवन सपरिवार नेपालको गौचर हवाई मैदान हुँदै भारतीय दुइटा डकोटा जहाजबाट दिल्लीको पालम हवाई मैदानमा उत्रे। त्यहाँ पुग्दा भारतीय प्रधानमन्त्री पं.जवाहरलाल नेहरूद्वारा स्वागत गरियो र दिल्लीस्थित हैदरावाद भवनमा सरकारी अतिथिका रूपमा राखियो। यो नै विश्वमा प्रजातन्त्र प्राप्तिका लागि राजाले आफ्नो गद्दी नै त्यागेर सपरिवार विदेशी भूमिमा शरण लिएको पहिलो उदाहरण हो।

 यो कार्य त्रिभुवनको एक्लो प्रयासले भएको भने होइन। राजा त्रिभुवनका २ बडामहारानीमध्ये जेठी कान्तीराज्यलक्ष्मीले मालिस उपचार (फिजियोथेरापी) गराउनका लागि प्रधानमन्त्री मोहनशमशेरले २००६ साल फागुनमा भारतको सिमलामा कार्यरत फिजियोथेरापिस्ट सुश्री एरिका ल्युकट्यागलाई नेपाल झिकाएका थिए। ती एरिकाको मूलघर बेलायतमा भए पनि जर्मनीमा जन्मेकी, हम्वर्गको स्वेडिस मेडिकल संस्थामा शारीरिक चिकित्सा तालिम लिएकी तथा भारतको  सिमलामा ५ वर्षदेखि उनकी आमासँगै स्वास्थ्य क्षेत्रमा कार्यरत थिइन्। नेपालमा आएपछि उनी ५ महिनासम्म कान्तीराज्यलक्ष्मीको उपचारमा संलग्न रहिन्।

 राजाको नारायणहिटी दरबारभित्र रहेर बडामहारानीको उपचार गर्दा राजा त्रिभुवनसँग पनि सहजरूपमा भेटेर कुरा गर्ने मौका एरिकाले पाइन्। राजा दरबारको भित्री कोठामा एक्लै बस्नुपर्ने, त्यसको बाहिरपट्टि ४–५ ढोकामा अरुले भेट गर्न नपाउन् भनेर सुरक्षाकर्मीले पहरा दिइरहने, दरबारबाहिर बस्ने आफ्ना छोरालाई भेट गर्न जान नपाइने, दरबारबाहिर अन्य कामका लागि पनि बाहिर जान नपाइने, कुनै विदेशी व्यक्तित्वलाई भेट गर्न नपाइने, राजा भएर पनि प्रधानमन्त्रीको खटनपटनअनुसार चल्नुपर्ने, हरेक बिहीबार प्रधानमन्त्रीकहाँ गएर दरबारको साप्ताहिक गतिविधि बुझाउनुपर्ने, राजाको दैनिकी खर्चपर्च पनि प्रधानमन्त्रीको निगाहाले प्राप्त हुने जस्ता गतिविधि देख्दा सुश्री एरिकालाई निकै चिन्ता लागेछ। राजा भनेका देशका प्रमुख शासक हुन् र देश उनैको आदेशअनुसार चल्छ भन्ने सोचेकी सुश्री एरिकालाई नेपालका राजाको कैदी जीवन देख्दा उनको मन करुणाले भरिएछ।

 यी सुश्री एरिका उपचार गर्न आएकै समयमा एक अमेरिकी चित्रकार चार्ल्स वास्करमिल पनि राजा त्रिभुवनको चित्र बनाउन काठमाडौंमा बोलाइएका रहेछन्। ती चित्रकारले नारायणहिटी दरबारको वरण्डामा बसेर राजालाई हेर्दै उनको चित्र बनाउँथे रे। चित्रकारले राजासँग कस्तो आकारको चित्र बनाउने भनेर सोध्ने अनुमति पनि थिएन रे र राजाले पनि आफ्नो मनमा लागेका कुरा चित्रकारलाई भन्ने अनुमति पनि थिएन रे। यो कुरा चित्रकार स्वयम्ले यी सुश्री एरिकालाई भनेका थिए भनेर एरिकाले आफ्नो किताबमा लेखेकी छन्।

 १९६८ सालमा ५ वर्षे बालक त्रिभुवन राजा भएकामा १२ वर्षको हुँदा राणा प्रधानमन्त्रीले राजा त्रिभुवनका लागि भारतका दुई दिदीबहिनी कान्ती र ईश्वरीसँग एकैचोटि विवाह गरी विलासी जीवन बिताउन लगाएका रहेछन्। त्यतिमात्र होइन, राणा प्रधानमन्त्रीले राजा त्रिभुवनका लागि विलासी जीवन बिताउन भनेर अनेकौं देशी, विदेशी दासीहरु र पेयपदार्थसमेत दरबारमा उपलब्ध गराइदिँदा रहेछन्। यसबाट राजाले विलासी जीवन बिताएर बस्छन् र राज्यसत्ता आफूहरुले सहजरूपमा चलाउन पाइन्छ भन्ने राणा प्रधानमन्त्रीमा लागेको रहेछ। 

 यता त्रिभुवन भने शारीरिकरूपमा बलवान्, अति सुन्दर जीउडाल, जुडोको भिक्षा लिएका, एकै पटकमा दुईवटा घोडा हाँक्न सक्ने कला भएका, कुशल खेलाडी, किताब पढ्न र अध्ययन गर्र्न अति शौखिन रहेछन्। राणा प्रधानमन्त्रीसँग पढ्ने किताब माग गर्दा सरकारलाई किन पढ्ने झन्झट गर्नुपर्‍यो र? काम गर्ने हामी छँदै छौं। सरकार आराम गरिबक्स्योस् भन्ने जवाफ दिन्थे रे। किताब दिँदैनथे रे। यसैले राजा त्रिभुवनले १९६८ सालदेखि २००७ सालसम्म कैदी राजाका रूपमा रहँदा जम्मा २ पटक भारतमा तीर्थ गर्न जाने अनुमति राणा प्रधानमन्त्रीसँग लिएर गएकामा साथमा गएका राणा अङ्गरक्षकको आँखा छली केही किताब किनेर ल्याएछन्। यसरी किताब किन्ने काममा कलकत्ताको होटेल रोयलका म्यानेजर मिस्टर बोरिसले सहयोग गरेकाले पछि त्रिभुवनले मेरो भारत भ्रमणमा एउटैमात्र सच्चा मित्र मिस्टर बोरिसलाई फेला पारें भनेका रहेछन्।

 बडामहारानी कान्तीको उपचार गर्न आएकी सुश्री एरिकाले राजालाई बन्दी रूपमा देखेपछि नेपालस्थित बेलायती राजदूतावास र भारतीय राजदूतावासमा गएर राजा त्रिभुवन नेपालमा प्रजातन्त्र स्थापना गरी बेलायतका राजा जर्ज छैटौंजस्तै संवैधानिक राजा भएर बस्न चाहेकाले बेलायत तथा भारत सरकारको सहयोग आवश्यक परेको कुरा अवगत गराएकी रहिछन्।

 नेपालस्थित भारतीय राजदूत सुरजीतसिंह मजिठिया भारतको पटियाला निवासी रहेछन्। सुश्री एरिका सिमलामा रहँदा यी सुरजीतसँग एरिकाको एकअर्कामा चिनजान रहेछ। नेपालमा रहेको समयमा भेट गर्दा पुरानो चिनजानलाई नवीकरण गरेछन्। त्यसैले यी एरिकाले राजदूत सुरजीतलाई नेपालका राजा त्रिभुवनलाई दरबारको बन्दी जीवनबाट संवैधानिक राजा बनाउन भारतका प्रम पं.नेहरुसँग आवश्यक पहल गरिदिन अनुरोध गरिछन्। राजदूत सुरजीतले यो काममा सहयोगी वचन दिए पनि उनको राजदूतको समयावधि सकिएको र अर्को नयाँ राजदूत आउने हुनाले मानसिकरूपमा एरिकाको भनाइलाई समर्थन गर्दै राजदूतावासबाट बिदाइ भएर भारततर्फ गएछन्।

 नयाँ आएका अर्का राजदूत चन्द्रेश्वरप्रसादनारायण सिंहसँग पनि सुश्री एरिकाले सोही बेहोरा व्यक्त गरिछन्। पहिला राजदूत सुरजीतसँग एरिकाको सम्पर्क हुँदा राजदूत कार्यकाल सकिएर भारततर्फ गएका र दोस्रा राजदूत आउँदा एरिकाको ५ महिनाको कार्यकाल सकिएर आफैं आफ्नी आमा कार्यरत रहेको स्थान भारतको सिमलामा जानुपर्ने भएछ। यसरी सिमलामा जाँदा सुश्री एरिकाले राजदूत चन्द्रेश्वरलाई भारतका प्रम पं.नेहरुलाई चिठी पठाएर वा भेटेर राजा त्रिभुवनका बारेमा सबै वृत्तान्त बताउने र पं.नेहरुबाट राजा त्रिभुवनलाई नेपालमा पत्र लेखेर नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गर्ने वातावरण मिलाइदिने वाचा गराएकी रहिछन्।

 सुश्री एरिका आफ्नो कार्यकाल सकेर भारततर्फ जाँदा राजा त्रिभुवनसँग भएको विदाइ वार्ताअनुसार एकापसमा पत्राचार गर्दै सहमति गरिछन्। तर राजा त्रिभुवनलाई बाहिरबाट कुनै व्यक्ति, संस्था वा राष्ट्रले पठाएको पत्र त्रिभुवनकहाँ नदिएर सोझै सिंहदरबारमा राणा प्रधानमन्त्रीकहाँ दिने व्यवस्था भएकाले बाहिरबाट आएका चिठीपत्र राजा त्रिभुवनले नपाउने रहेछन्। त्यसैले पत्र आदान–प्रदान गर्दा त्रिभुवन र सुश्री एरिकाको नाम नलेखेर अर्कै गुप्त नाम लेख्ने सहमति गरिछन्। गुप्त नाम लेख्दा राजा त्रिभुवनलाई ‘एच.लाल’, एरिकालाई ‘लक्ष्मी’, जेठी बडामहारानीलाई ‘हब्सी’, कान्छी बडामहारानीलाई ‘सानो हब्सी’, पूर्व राजदूत सुरजीतलाई ‘धोर्की,’ राजदूत चन्द्रेश्वरलाई ‘चरा’, नेपालका प्रमलाई ‘ठूलो सर्प’, भारतका प्रम नेहरुलाई ‘डाक्टर’, भारतका गभर्नर जनरललाई ‘भेटेनरी सर्जन’, नारायणहिटी दरबारलाई ‘घर’, सिंहदरबारलाई ‘तबेेला’, हवाईजहादलाई ‘चङ्गा’ भनी लेख्ने सहमति गरिएको रहेछ।

 सुश्री एरिकाले राजदूत चन्द्रेश्वरलाई राजा त्रिभुवन स्वतन्त्रता चाहन्छन्, त्यसैले भारतका प्रम पं. नेहरु र त्रिभुवनको बीचमा गोप्यरूपमा पत्राचार गर्ने व्यवस्था चन्द्रेश्वरमार्फत् गराउन दिएको सुझाव अनुसार राजा त्रिभुवनले लेखेको पत्र चन्द्रेश्वरमार्फत् पं.नेहरुलाई र पं.नेहरुले लेखेको पत्र राजा त्रिभुवनलाई प्रदान गर्ने कार्य राजदूत चन्द्रेश्वरले गरिदिएछन्। यही पत्राचारकै कारणले राणा प्रमको सहमति लिएर राजा त्रिभुवनले २००७ साल कात्तिक २१ गते नागार्जुन वा गोकर्णमा सिकारमा सपरिवार जाने बहानामा भारतीय राजदूतावास रहेको स्थान शीतलनिवासमा शरण लिन गएका रहेछन्। भारतीय राजदूतावासकै सहयोगमा दिल्ली गएर भारतीय प्रम पं.नेहरुको रोहवरमा राजा त्रिभुवनलाई मुलुकको संवैधानिक राजाका रूपमा स्वीकार गर्ने, बालिग मताधिकारका आधारमा चुनिएको संविधानसभा गठन गर्ने, राणा प्रमका तर्फबाट ७ जना र राजनीतिक दलका तर्फका ७ जना प्रतिनिधि रहने गरी अन्तरिम सरकार गठन गर्ने, सबै राजवन्दीलाई आममाफी दिनेसमेतको निर्णय राजा त्रिभुवन र राणा प्रतिनिधिबीच भएछ। यसपछि मात्र राजा त्रिभुवन नेपाल फर्केर गरेको ऐतिहासिक घोषणाबाट नेपालमा प्रजातन्त्र प्राप्त भएको हो। राजा त्रिभुवनबाट यी कार्य गर्न सुश्री एरिकाबाट भएको सहयोग अतुलनीय भएको कुरा भुल्न सकिँदैन। नेपालप्रति सुश्री एरिकाको यस्तो सहयोग देखेर त्रिभुवनले उनलाई एउटा सुनको बाला उपहार दिएछन्। त्यसै सिलसिलामा सुश्री एरिकाले 'युवक राजा र सुनको बाला' भन्ने कथा लेखेकी रहिछन्। यसकारण नेपालमा प्रजातन्त्र प्राप्त हुनुमा राजा त्रिभुवन र सुश्री एरिकाको योगदान समान रहेको देखिन्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...