१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘ज्यानकै बाजी’ लाएर नलसिंहगाड तर्छन् स्थानीय

नलसिंहगाड जलविद्युत आयोजनाको पहूच मार्ग निर्माणका क्रममा हिँड्ने वाटो बन्द भएपछि जोखिमपूर्ण यात्रा गर्दै स्थानीय।

जाजरकोट– जिल्लाको पूर्वी गाविस लहको गिरेनीस्थित नलसिहगाड नदी  स्थानीयहरु ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य छन्।

कालीमाटी सिर्के सडक निर्माण भइरहेको उक्त क्षेत्रमा  स्थानीय हिँड्ने बाटो सडक निर्माणका कारण बन्द भएपछि भीर र नदीमा ज्यानको जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य भएका हुन्।

नलसिंहगाड जलविद्युत आयोजनाको ड्याम साइडसम्मको पहूँच मार्ग निर्माणअन्तर्गत निर्माणाधीन कालीमाटी सिर्के सडकका कारण स्थानीयहरु ज्यानको बाजी लगाएर भीर र नदीमा यात्रा गर्न बाध्य भएको स्थानीय लक्ष्मी खड्काले बताइन्।
सडक निर्माण भइरहेको  स्थानमा चट्टान फुटाल्न बम पड्काउने काम भइरहेकोले  अर्कै मार्ग प्रयोग गरेर एक गाउबाट अर्काे गाउँमा यात्रा गर्ने मात्र होइन, पुरै बारेकोट क्षेत्रमा आवातजावात गर्ने सयौं सर्वसाधारणले निकै जोखिमको यात्रा गर्ने गरेको खड्काले बताइन्। दिनहुँ सयौं मान्छे यो बाटो हिँड्छन् तर  यात्रा गर्दा बाँचिने हो कि मरिने हो भनेर उनीहरु हैरान हुने गरेको लक्ष्मीले बताइन्।

माथिबाट ढुंगा खस्ने खतरा एकातिर भएको र अर्काेतिर खोला पार गर्नका लागि राखिएको सानो लठ्ठी जस्तो काठका कारण आफूहरुले निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको अन्य स्थानीयहरुको गुनासो छ।

भीरको बाटो र नदी पार गर्ने समस्याका कारण स्थानीयहरु ठुलो मर्कामा परेको  स्थानीयहरुको भनाइ छ ।

नलसिंहगाड नदी  पार गर्न राखिएको स्याकु अर्थात् खोला तर्न राखिएको एक सरो काठमा पुग्दा ज्यानको आसै मर्ने गरेको जिल्ला विकास समितिका योजना अनुगमनमा गएका स्थानीय विकास कोषका सचिव प्रकाशकुमार शाहीले बताए ।

उक्त स्थानमा यात्रा गर्दा भीरमा हातले चट्टान समातेर हिडनुपर्ने र फुत्किएर नदीमै खस्न सकिने सम्भावना धेरै रहेको  उनले बताए । नदीको सानो साँघुरो काठमा पनि अतिकति हल्लिए नदीमै खस्ने जोखिम मोलेर आफूहरुले  यात्रा गरेको  उनले बताए ।

जनताले निकै सास्ती पाएपनि सरोकारवाला निकायले कुनै चासो नदिएको  उनले  बताए । शाहीले गिरेनी क्षेत्रमा जनताले निकै कष्ठ र जोखिमपूर्ण ढंगले  खोला तर्ने गरेको र जतिबेला पनि अप्रिय घटना घटनसक्ने प्रवल सम्भावना रहेको बताए ।
जिल्ला विकास समितिका योजना अनुगमन तथा  प्रशासकीय अधिकृत गणेशप्रसाद खनालले यो विषयमा आफूहरुले आवस्यक छलफल गरिरहेको र समस्या समाधानका लागि छिट्टै पहल गरिने बताए ।

आयोजनाका अधिकारीहरुसँग छलफल गरी हुन्छ कि के गरेर हुन्छ यसबारे जिविसले पहल लिने  उनले बताए । त्यस्तै नलसिंहगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले स्थानीय हिड्ने वैकल्पिक बाटो निर्माणका लागि आवश्क बजेट मन्त्रालयमा मागिएको र बजेट स्वीकृत नभएका कारण ढिलाइ भएको बताए ।

स्थानीयलाई सहज रुपमा सडक बाहेकको बाटोमा हिँड्ने व्यवस्था मिलाउन आफूहरुले पहल गरिरहेको उनको भनाइ छ । विकास समिति विघटन गरेर  कम्पनीमा लिनका लागि उर्जा मन्त्रीले पहल लिइरहेका कारण समस्या परेको पनि बताइएको छ  ।

 

प्रकाशित: ७ फाल्गुन २०७३ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App