१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानीको धुलो हटाउन टेरेनन् ठेकेदारले

काठमाडौं- मेलम्ची पाइप बिछ्याउने जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाहीका कारण राजधानीमा धुलो बढेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार ठेकेदार कम्पनीले सम्झौता पालना गर्दै व्यवस्थित ढंगबाट पाइप बिछ्याउने कार्य  गरेको छैन। पटकपटक निर्देशन दिए पनि ठेकेदार कम्पनीले धुलो नियन्त्रणमा ध्यान नदिएको पिआइडी निर्देशक तिरेश खत्रीले बताए।

‘हामीले धुलो कमी गर्दै काम गर्न पटकपटक पत्राचार र चेतावनी दिएका छौं,’ उनले भने, ‘तर, ठेकेदार कम्पनीले मनलागी ढंगले काम गरिरहेको छ।’

अटेर गर्ने कम्पनीलाई कारबाही गरिने खत्रीले बताए। उनका अनुसार जेआइटिएफ वाटर इन्डिया कम्पनीले सम्झौता पालना गरेको छैन। उसले आफूले काम नगरी बिकोई कम्पनीलाई ठेक्का दिएको छ। बिकोईले सम्झौताअनुसार काम गरिरहेको छैन।

बिकोई कम्पनीका मालिक होमनाथ कोइराला हुन्। उक्त कम्पनीले चुच्चेपाटी–गौशाला–बानेश्वर, चावहिल–चक्रपथ–बाँसबारी सडकखण्डमा पाइप ओछ्याउने जिम्मा लिएको छ। पिआइडीले कम्पनीलाई दुई–तीनपटक पत्र पठाई पछिल्लोपटक कारबाहीको चेतावनी दिएको जनायो। सम्झौताअनुसार काम गर्ने हो भने धुलो निकै कम हुने खत्रीको भनाइ छ।

बिकोई कम्पनीले दुई महिनाअघि नै चावहिल खण्डको सडक खने पनि अझै अस्थायी कालोपत्रे गरेको छैन। साता दिनभित्र कालोपत्रे गर्नुपर्ने सम्झौता छ।

पिआइडीले सम्झौताबमोजिम नगर्ने कम्पनीको ठेक्का रद्द गर्न पनि सक्छ। अर्को ठेकेदार छान्न झन्टिलो र समय लाग्ने भएकाले ठेक्का रद्द नगरी कारबाही गरिने पिआइडीले जनायो। ‘ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छौं,’ खत्रीले भने, ‘तत्कालका लागि भुक्तानी पनि रोकेका छौं।’

यता, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले ठेकेदार कम्पनीलाई जति दबाब दिए पनि सम्झौता पालन नगरेको बताए। ‘हामीले जति राम्रो गराउन खोजे पनि कम्पनीले नगरेपछि केही नलाग्दो रहेछ,’ उनले भने, ‘सम्झौता पालन नगर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’ उपत्यकामा जेआइटिएफ वाटर इन्डिया, तेन्जिङ रमन जेभी, जेआइटिएफ शर्मा जेभी, हान्जोउ आशिस जेभी मुल कम्पनीले पाइप बिछ्याउने ठेक्का लिएका छन्। यी कम्पनीले पनि अन्य कम्पनीलाई  काम दिएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App