१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिक्का छाप्न पनि विदेशकै भर

काठमाडौं- ठूला दरका कागजी नोट मात्रै होइन, मुलुकको केन्द्रीय बैंकले एक–दुई दरका सिक्का पनि विदेशमै छाप्ने गरेको छ। स्वदेशमा सिक्का छाप्दा महँगो पर्ने भएकाले पनि विदेश जाने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ।

एक रुपैयाँको सिक्का छाप्दा दुई रुपैयाँ पर्ने भएकाले पनि साना दरका सिक्का विदेशमा छपाउने गरेको नेपाल राष्ट्र बैंकका उच्च अधिकारी बताउँछन्। 'विगतमा आल्मुनियमका सबै दरका सिक्का नेपालमै छापिन्थ्यो। अहिले सबै सिक्का विदेशमै छापेर ल्याइन्छ,' ती अधिकारीले भने, 'नेपालमा महँगो पर्ने भएकाले पनि विदेश जान बाध्य भएका हौं।' हाल अल्मुनियमका सिक्का चलन चल्तीमा छैन।

राष्ट्र बैंकले ०६५–६६ सालदेखि सबै सिक्का विदेशमा छाप्दै आएको छ। नेपालले चीन, दक्षिण अफ्रिका लगायत देशमा एक र दुई रुपैयाँ दरका सिक्का छाप्दै आएको छ।

राष्ट्र बैंकले सिक्का छाप्न दक्ष जनशक्तिको अभाव हुन थालेकाले पनि सिक्का विदेशमा छाप्न थालेको बताएको छ। नेपालमा छापेका सिक्का राम्रा नहुने भएकाले पनि विदेशमा छाप्न बाध्य भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए।

'एकपटक छाप्दा ५–७ वर्षलाई पुग्छ,' उनले भने, 'प्रत्येक वर्ष छाप्नु पर्दैन।' एक रुपैयाँ दरको सिक्का साढे दुई वर्षलाई र दुई रुपैयाँको सिक्का चार वर्षलाई पुग्ने मौज्दात रहेको जानकारी पनि मुद्रा व्यवस्थापन विभागका प्रमुख कँडेलले दिए।

राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका नयाँ सिक्का निष्कासन गर्ने तयारी थालेको छ। नयाँ सिक्का निष्कासनका लागि प्रिक्यालिफाइङ टेन्डर आह्वान गर्ने तयारीमा केन्द्रीय बैंक लागेको छ। 'गभर्नर चिरञ्जीवी नेपालले त्यस्तो डकुमेन्ट स्वीकृत गरेपछि टेन्डर आह्वान गर्नेछौं,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने।

अहिले नेपालमा स्मारिका, असर्फीलगायत वस्तुमात्र छाप्ने गरेको छ। राष्ट्र बैंकले सिक्कासम्बन्धी सबै जिम्मेवारी टक्सार विभागलाई दिएको छ। 

गत वर्ष वैशाखको भूकम्पले राष्ट्र बैंकको सुन्धारास्थित टक्सार विभागको भवनमा क्षति पुर्‍याएपछि सिक्का राख्न समस्या छ। नोटको दाँजोमा सिक्काले ठाउँ बढी ओगट्ने गर्छ।

'ठूलो परिमाणमा सिक्का राख्ने ठाउँ नै छैन,' टक्सार विभागका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, 'विदेशमा छापेर ल्याउँदा ठूलो ड्रममा राखिएको हुन्छ र त्यसलाई खुला ठाउँमा राख्न मिल्दैन, राख्यो भने खिया लाग्छ र चल्तीमा ल्याउन समस्या हुन्छ। त्यही भएर अहिले हामीलाई मौज्दात सिक्का पनि जोगाउन मुस्किल छ।'

भूकम्पले केन्द्रीय बैंकको टक्सार विभागका भवनमा बढी क्षति पुर्‍याएको थियो। यही विभागबाट राष्ट्र बैंकले सिक्का निष्कासन तथा बिक्री वितरण गर्ने गर्छ।

टक्सारले छाप्दा आवश्यकता हेरिन्थ्यो तर विदेशबाट एकैचोटि ठूलो परिमाणमा ल्याउँदा राख्ने ठाउँ अभाव देखिएको ती अधिकारीले बताए। टक्सारसँग रहेका पुराना भवन २०४० सालमा सरकारले दिएको थियो। तीमध्ये अधिकांश गत वर्षको भूकम्पका कारण भत्किएका छन्।

आर्थिक वर्ष ०६६/६७ मा राष्ट्र बैंकले दक्षिण अफ्रिकाबाट एक रुपैयाँ र  फिनल्यान्डबाट दुई रुपैयाँ दरका सिक्का छापेर ल्याइएको थियो। फिनल्यान्डबाट २१ करोड ९८ लाख रुपैयाँ बराबरका र दक्षिण अफ्रिकाबाट ५२ करोड रुपैयाँ बराबरका सिक्का ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

टक्सार विभागबाट राष्ट्र बैंकले केही वर्षअघिसम्म पाँच पैसा, १० पैसा, २५ पैसा, ५० पैसा, एक रुपैयाँ, दुई रुपैयाँ, पाँच रुपैयाँ र १० रुपैयाँ दरका सिक्का निष्कासन गरेको थियो। तर, ६ वर्षअघि विदेशबाट एक र दुई रुपैयाँ दरका सिक्का मात्र छपाएर ल्याइएको थियो। त्यसयता सिक्का निष्कासन गरिएको छैन।

'बैंक तथा वित्तीय संस्था, धार्मिक संघ–संस्था, सार्वजनिक सवारी साधन सञ्चालक समेत ठूलो मात्रामा साट्न को सिक्का साट्न आउने गर्छन्,' सम्बद्ध अधिकारीले भने, 'एकैपटक ठूलो परिणाममा सिक्का खरिद हुने गर्छ।'

राष्ट्र बैंकले एक रुपैयाँ दरका सिक्का कम मात्रै बजार पठाउने गरेेको छ। एक रुपैयाँ दरको सिक्का छाप्दा बढी घाटा हुने भएकाले पनि दुई रुपैयाँको सिक्का बढी दिनुपरेको उसको भनाइ छ।

एक र दुई रुपैयाँको सिक्का बैंक तथा वित्तीय संस्थामा फिर्ता आउँदैनन्। राष्ट्र बैंकले कागजी नोट पुराना भएपछि फिर्ता लिने गरे पनि पुराना सिक्का फिर्ता लिँदैन। 'धेरै ठाउँमा प्रयोग भएपछि सिक्का कालो हुने र पहिचान गर्न समेत कठिन हुने गरेका कारण त्यस्तो सिक्का फिर्ता लिइँदैन,' उनले भने।

सबैभन्दा बढी सिक्काको प्रयोग तुलादानका बेला हुने गर्छ। तुलादान भनेको व्यक्तिको तौलबराबर सिक्का (एकापट्टि मानिस र अर्कोपट्टि सिक्का राखेर) तौलिएर गरिने दान हो। यस्तो धार्मिक कार्यमा सिक्का प्रयोगमा आउने गरेको केन्द्रीय बैंकको भनाइ छ।

मन्दिरमा भेटी चढाउने चलन, चौरासी पूजालगायत धार्मिक कार्यले पनि सिक्का बढी खपत हुने गरेको उसको भनाइ छ। केही वर्षअघिसम्म बस, माइक्रोबस, टेम्पोले ग्राहकलाई फिर्ता गर्न एक र दुई रुपैयाँका सिक्का साटेर लाने गर्थे। अहिले उनीहरू पनि सिक्का साट्न आउन छाडेेेेका छन्।

बस, माइक्रोबस, टेम्पोलगायत सार्वजनिक सवारी साधन चढ्ने सर्वसाधारणले बढी भाडा तिर्न बाध्य छन्। सरकारले न्यूनतम १३ रुपैयाँ भाडा दर तोके यात्रुबाट सवारी साधनले १५ रुपैयाँ असुल्दै आएका छन्।

खाद्यान्न, कपडालगायत वस्तुमा उच्च मूल्य वृद्धि भएपछि एक र दुई रुपैयाँ दरका सिक्काका साथै कम मूल्य अंकित दरका नोटको औचित्य समाप्त हुन थालेको बताइन्छ।

प्रकाशित: ९ फाल्गुन २०७३ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App