१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

संकटा उपाधिनजिक

धरान- अनिल गुरुङले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि सिएमजी क्लब संकटा बुधबार रुपन्देही ११ लाई हराउँदै धरानमा जारी १९औं बूढासुब्बा रेडबुल गोल्डकपको फाइनल प्रवेश गरेको छ।

अनिलले समय सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बन्दा संकटा उदयपुर गोल्डकपको विजेता अग्नि रुपन्देही ११ माथि २–१ को जित हासिल गर्न सफल भएको थियो। शनिबार हुने फाइनलमा संकटाले नेपाल पुलिस वा आयोजक धरान नीलोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। 

रुपन्देहीका सौरभ मगरले दीपेश श्रेष्ठलाई लडाएपछि रेफ्री नवीन्द्र महर्जनले संकटालाई पेनाल्टीको अवसर दिएका थिए। खेलको म्यान अफ दी म्याचसमेत भएका अनिलले पेनाल्टीको मौका खेर फालेनन्। 

यसअघि अत्यन्तै प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा अनिलले नै गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। सजिन थापाको पासमा अनिलले रूपन्देहीका गोलकिपर दिलीप क्षेत्रीलाई बिट गर्दै संकटाको खाता खोलेका थिए। ४३औं मिनेटमा दीपक राईले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए। अमर डंगोलको पासमा उनले दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।  १–१ को बराबरीमा रहेको खेलको निर्णय हुन ८० मिनेट कुर्नुपरेको थियो।

 संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनीतिअनुसार खेलाडीहरूले खेलेको भन्दै सन्तुष्टि व्यक्त गरे। 'खेलाडीहरुले सोचजस्तै खेले र अपेक्षा गरेजस्तै रिजल्ट आयो। तर, रेफ्रीको निर्णय चित्त बुझेन। इन्टेन्स्नली ट्याकल गर्दा सीधै रेड कार्ड दिनुपर्ने थियो तर दिएनन्'–उनले भने। रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेल बराबरीको स्थितिमा भए पनि संकटाले पेनाल्टी पाउनु नै हारको कारण रहेको बताए। मिडफिल्डको कमजोरीले दोस्रो हाफमा दबाबमा खेल्नुपरेको उनको भनाइ थियो।

संकटाले यो सिजनमा नारायणगढमा विकास रनिङ सिल्ड र आठौं सिमरा गोल्डकप जितिसकेको छ। संकटाले शनिबार हुने फाइनलमा नेपाल पुलिस क्लब र आयोजक धरान नीलोबीच शुक्रबार हुने सेमिफाइनलको विजेताको सामना गर्नेछ।

बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल चार पटकको विजेता नेपाल पुलिस क्लब र आयोजक धरान नीलोबीच खेल हुनेछ।

दर्शकलाई माउन्टेन बाइक

टिकट काटेर बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल खेल हेर्न पुगेका एक दर्शकलाई आयोजकबाट माउण्टेन बाइक उपहार पाएका छन्। प्रतियोगितामा दर्शकलाई आकर्षित गर्न आयोजकले घोषणा गरेअनुरुप बुधबार धरान १६ का शंकर लिम्बुले माण्टेनबाइक पाएका हुन्। टिकट काटेका दर्शकहरुमध्ये लक्की ड्रमार्फत उनी विजेता भए।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App