१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

धूमिल कर्णालीको नयाँ चिनारी

कर्णाली के हो? कसैले कर्णालीलाई पीडा र दुःखैदुःखको खानी ठान्छन् त कसैले कर्णालीलाई सम्भावना र संस्कृतिले भरिपूर्ण स्थल मान्छन्। कर्णाली एउटा भौगोलिक क्षेत्र भए पनि यसको परिचय फरकफरक तरिकाले दिने गरिन्छ। कोही कर्णालीमा केवल सम्भावना नै सम्भावना देख्छन् त कोही कर्णालीमा अभाव नै अभाव पाउँछन्। आखिर जसले जे बुझे पनि कर्णाली भने आफ्नो ठाउँमा जे जस्तो अवस्थामा थियो, त्यसरी नै रहिरहेको छ। र, रहिरहने छ। कर्णाली फूलको आँखाले हेरे फूलै हो त। काँडाको आँखा हेरे काँडा नै हो।

अखबारका पानामा छापिने कर्णालीमा भोकमरी, अभावका समाचार शीर्षकलाई चुनौती दिँदै देवकोटाले कर्णालीमा भोकमरी नभएको जिकिर गरेका छन्। त्यस्तै, जुम्लालाई सुन्दर बनाउने साधनको रूपमा लेखकले स्याउ खेती, विद्युत् उत्पादन, पर्यटनको विकासलाई लिएका छन्।

नेपालको सर्वाधिक पिछडिएको क्षेत्र भनेर प्रचारित कर्णालीबारे व्यक्तिपिच्छे फरकफरक बुझाइ पाइन्छन्। कर्णालीको परिचयलाई फरकफरक तरिकाले बु‰नुमा व्यक्तिको दोष पनि होइन। दोष हो त व्यक्तिको ज्ञानको स्तर अझ भनौँ व्यक्तिको इच्छा र चाहनाको। कोही कर्णाली क्षेत्रमा बस्न पाउनुलाई पवित्र भूमिमा 'विराजमान' भएको ठान्छन् भने कसैलाई कर्णालीमा उकालीओराली गर्नुपर्दा विकासबाट वञ्चित भएको महसुस हुन्छ। कर्णालीमा जन्मेकोमा कतिपयलाई आत्मग्लानि हुँदो हो त कतिपयलाई त्यहाँ जन्मन नपाएकोमा भाग्य खोटो लाग्न सक्छ।

कर्णालीप्रति व्यक्तिका यस्ता सोच आउनु पक्कै पनि नराम्रो होइन। किनकि, कर्णाली आफैमा विविधताले भरिएको छ। त्यसैले कसैले पनि कर्णालीलाई एकै किसिमले परिचय दिन सक्ने अवस्था नआएको हो। अन्य स्थानमा नपाइने प्राकृतिक स्रोतसाधनले भरिपूर्ण कर्णालीमा अन्यत्र विरलै महसुस गर्न सकिने पीडा र अप्ठेरा पनि छन्।

सरसर्ती हेर्दा कर्णाली(जुम्लाबाहेक) भौगोलिक रूपमा विकट जस्तो देखिन्छ पनि। त्यसैले त कर्णाली भन्नेबित्तिकै कतिपयको नजरमा दुःखको खानी देखिँदो हो। सम्भावनाको आँखाबाट हेर्ने हो भने कर्णालीमा के छैन भन्ने पनि लाग्छ। नेपालमा अन्य स्थानमा नपाइने दुर्लभ जडीबुटीदेखि यार्सागुम्बा कर्णालीबासीका जिउने आधार हुन्। भाषा, संस्कृतिको कुरा गर्ने हो भने सिञ्जा सभ्यता नै नेपालको सर्वाधिक सभ्य सभ्यता हो भन्नेमा द्विविधा छैन। त्यस्तै  सिञ्जा क्षेत्रमै बोलिने खस भाषा नै अहिलेको नेपालको राष्ट्रिय भाषाको मूल रूप हो।

हरेक व्यक्तिलाई प्राथमिक रूपमा चाहिने भनेको नै सभ्यता, संस्कृति र आर्थिक स्रोत नै हो। कर्णाली मान्छेका लागि जे चाहिन्छ ती स्रोतले भरिपूर्ण भएकाले कुनै पनि हालतमा कमजोर छ भन्न मिल्दैन। यति हुँदाहुँदै पनि यसको व्यावहारिक पक्ष हेर्ने हो भने कर्णालीबासीले अझै पनि भातका लागि संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ। गुणस्तरीय जीवनको त के कुरा, सामान्य खानपिनको अभावमा कर्णालीबासीले अल्पायुमै ज्यान गुमाउनुपर्ने बाध्यता छ। विभिन्न अध्ययनको निष्कर्षअनुसार देशको औसत आयु भन्दा अझै पनि कर्णालीबासी १० वर्ष कम बाँच्छन्।

यस्तै धूमिल कर्णालीको परिचयलाई प्रष्ट पार्ने गरी कर्णालीको वास्तविकता बुझेका पुरीचन्द्र देवकोटाले 'कर्णाली दर्पण' पुस्तक सार्वजनिक गरेका छन्। कर्णालीलाई दुःखको खाडल, पीडाको सागर या सम्भावनाको खानी के भन्ने भनेर अलमलमा परेका सर्वसाधारण मात्र नभई नीति निर्मातालाई समेत बुझाउने उद्देश्यले लेखकले उक्त पुस्तक तयार पारेको देखिन्छ।

पुस्तकमा कर्णालीको इतिहासदेखि वर्तमान अवस्थासम्म मिहीन तरिकाले केलाइएकाले देशको करिब १५ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली के हो भन्ने प्रष्ट हुन्छ। विकासको गतिलाई अन्य क्षेत्रसँग तुलना गर्ने हो भने किन कर्णाली पछि पर्‍यो भन्नेदेखि लिएर अन्नबाली उत्पादनको दृष्टिकोणले उर्वर कर्णालीमा किन भाते प्रवृत्ति देखियो भन्ने रहस्य पनि देवकोटाले खोलेका छन्।

अहिलेसम्म देशका अधिकांश व्यक्तिले सोच्ने कर्णालीले किन सधैँ केन्द्रको आशा गरिहन्छ भन्ने प्रश्नको समेत उक्त पुस्तकमा जवाफ पाउन सकिन्छ। राज्यको सहयोगबिना नै यतिखेर कर्णाली आफ्ना उत्पादन देशभित्र/बाहिर निर्यात गर्न सफल भइसकेको लेखकले नयाँ तथ्य खोलेका छन्। कर्णालीमा धान उत्पादन हुँदैन भन्ने हल्ला पिँ्कजाइएका बेला आर्थिक वर्ष २०७२/७३ मा खाद्य संस्थानले जुम्लाबाट दुई सय क्विन्टल कालोमार्सी धान खरिद गर्ने निर्णय गरेको देवकोटाले पुस्तकमा उल्लेख गरेका छन्। त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा जुम्ला, मुगु र कालिकोटबाट मात्रै एक करोड रुपैयाँबराबरको सिमी र फापर खरिद गरेको तथ्य पुस्तकमा छ।

कर्णालीको आर्थिक मेरुदण्ड मानिएका यार्सागुम्बा, अन्य जडीबुटीको उत्पादनको त मूल्य कति हो कति! एउटै पुस्तकमा सबै कुरा समेट्न पक्कै पनि सम्भव छैन। कर्णाली के हो त? केन्द्रीय शाषनप्रणालीमा बसेर नौरंगी कुरा गर्नेले समेत ठोस धारणा बनाउन असफल भइरहेको बेला एउटा पत्रकार–लेखकले जुन उत्साह र मेहनतका साथ 'कर्णाली दर्पण' सार्वजनिक गरे, त्यो निकै प्रशंसायोग्य छ। सरकारी/गैरसरकारी संस्थाको ठूलो लगानीमा हुने काम देवकोटाले एक्लै गरेका छन्। आफैले भोगेको आधारमा पुस्तक तयार गरिएकाले पनि यसको विश्वनीयता पक्कै पनि बढी हुनुपर्छ। 'पढेर भन्दा परेरै जानिन्छ' भन्ने सनातनी उखान देवकोटाको मेहनतले सार्थक पारेको देखिन्छ। 

संक्षेपमा भन्नु पर्दा 'कर्णाली दपंण' सजिलो रूपमा कर्णाली बुझाउने पुस्तक हो। जुन पुस्तकमा कर्णालीको वर्तमान अवस्थादेखि १० वर्षे माओवादी द्वन्द्वमा त्यस भेगले भोगेका विषयवस्तुसम्मलाई लेखकले व्याख्या गरेका छन्। हामीले पटकपटक सुन्ने गरेका कर्णालीमा किन हवाई र सडक दुर्घटना हुन्छन् भन्ने प्रसंग पनि उल्लेख गरिएको छ।

अखबारका पानामा छापिने कर्णालीमा भोकमरी, अभावका समाचार शीर्षकलाई चुनौती दिँदै देवकोटाले कर्णालीमा भोकमरी नभएको जिकिर गरेका छन्। त्यस्तै, जुम्लालाई सुन्दर बनाउने साधनको रूपमा लेखकले स्याउ खेती, विद्युत् उत्पादन, पर्यटनको विकासलाई लिएका छन्।

देशमा बहुदलीय व्यवस्थाको आगमनअघि होस् या पछि प्रायः सीमित व्यक्तिको हालीमुहाली भइरहेको केन्द्रीय राजनीतिमा कर्णालीको प्रतिनिधित्व भने निकै कम हुनुलाई लेखकले कर्णालीप्रतिको अत्याचारको रूपमा उल्लेख गरेका छन्। ६५ वर्षमा देशमा ६३ वटा सरकार बन्दा कर्णालीबाट १९ जना मात्र मन्त्री हुन सकेको विवरण पुस्तकमा छ। १९ जनामध्ये क्याबिनेट स्तरीय मन्त्री हुनेको संख्या भने निकै न्यून रहेको लेखकले देखाएका छन्। जबकि, केन्द्रीय शाषनप्रणालीमा एउटै व्यक्ति चार/पाँच पटकसम्म प्रधानमन्त्री, ८/१० पटक मन्त्री हुनु सामान्य भइसकेको छ। हुन त एउटै व्यक्ति पटकपटक मन्त्री हुँदैमा मात्र केही उपलब्धि हुँदैन भन्ने कुरा आफूलाई कर्णालीबासी भन्न रूचाउने प्रेमबहादुर सिंहकै उदाहरण पर्याप्त छ। जुन कुरा लेखकले लुकाएका छन्। मन्त्री भएकै कारण विकास भइसक्ने भए सिंह ४/५ पटक मन्त्री हुँदा कर्णालीबासीले पक्कै फरक अनुभूति गर्नुपर्ने हो, तर त्यसो हुन पाएको छैन।

कर्णालीको भूगोल, सम्भावना, धर्म, संस्कृतिबारे बुझाउन 'कर्णाली दर्पण' सफल भएको छ। तर, लेखकले उक्त पुस्तकमा कर्णालीको नाम भजाएर स्वार्थपूर्ति गर्नेहरूबारे भने केही खुलाएका छैनन्। अपार सम्भावना बोकेको कर्णालीमा जति विकास र आर्थिक उन्नति हुनुपर्ने हो त्यति हुन नसक्नुमा जति राज्यको केन्द्रिकृत नीति दोषी छ त्यति नै कर्णालीको नाममा 'व्यापार गर्नेहरू' को दोष र अत्याचार कम छैन।

देवकोटा एउटा पत्रकार भएको नाताले पनि कर्णालीको मुहार फेर्ने नाममा देशी/विदेशी दाताबाट उठाइएको अर्बौं रुपैयाँ कहाँ गयो भनेर खोजेको भए पुस्तकको ओज अझै बढ्थ्यो। भौगोलिक रूपमा विकट छ भनेरै कर्णालीमा देशी/विदेशी दाताबाट अर्बौं रुपैयाँ लगानी गरिएको सरकारी/गैरसरकारी तथ्यांकमा देख्न पाइन्छ। के त्यति ठूलो रकम कर्णालीबासीको हितमा प्रयोग गरियो? या ती निकायको नेतृत्व गर्नेले कर्णालीबासीको अनुहार फेर्न छुट्याइएको रकम कर्णालीबाहिर नै थुपारे? कर्णालीको सुन्दर भविष्य देख्न चाहने हरेक व्यक्तिले यो प्रश्न गर्नु आवश्यक छ। त्यो विषयलाई नउठाएर कर्णालीबासीप्रति न्याय गर्न लेखक चुकेका छन्। साथै, उक्त पुस्तकमा विकास निर्माणमा कर्णाली कहाँ चुक्यो भन्ने प्रश्न उठाउन पाएको भए सधैँ एउटै ढर्रामा काम गर्ने कर्मचारीतन्त्रलाई पनि पाठ हुन्थ्यो।

लाखौँ/करोडौँ खर्च गरिएका अनुसन्धानका प्रतिवेदन भन्दा देवकोटाले व्यक्तिगत तवरले तयार पारेको 'कर्णाली दर्पण' वास्तविक रूपमा कर्णाली बु‰ने र विकासको आधार तय गर्ने सूचना प्राप्तिमा पर्याप्त छन्। ती सूचनालाई कसरी प्रयोग गर्ने भन्ने जिम्मा भने सम्बद्ध निकायकै हो।

पुस्तक :  कर्णाली दर्पण

लेखक :  पुरीचन्द्र देवकोटा

सम्पादक :  रघुनाथ लामिछाने

प्रकाशक :  कमलादेवी देवकोटा

मूल्य :  रु ४२५/

प्रकाशित: २१ फाल्गुन २०७३ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App