१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

परिवर्तनका लागि निर्भिक बन

२०१७ मार्च ८ को अन्तर्राष्ट्रिय नाराका रूपमा ‘परिवर्तनका लागि निर्भिक बन महिलाहरू’ तय भएको छ । सृष्टिकर्ता महिला, मातृत्व महिला, अस्तित्वले दिएको गुण निर्भिक बनाएर प्रदान गरेको छ महिलालाई । सबै गुण सन्तान सुखका निम्ति होस् या घर व्यवहार र श्रीमान्को खुशीका लागि, हरेक घरमा, हरेक परिवारमा महिलाको निर्भिकताले नै काम गरेको हुन्छ । त्यसैले अस्तित्वले सहनशीलता, सुन्दरता, धीरता । माधुर्य सबै गुण महिलालाई सुम्पेको छ । पुरुषलाई सुन्दर, प्रेमल, निर्भिक, मधुर भन्नुभन्दा  तार्किक, निडर, बुद्धिमान, विद्वान्, नेता जस्ता विशेषणले सम्बोधन गर्दा उपयुक्त मानिन्छ र पुरुष स्वभावलाई त्यसले शोभायमान बनाएको ठान्छ । त्यसैले अस्तित्वले घरबाहिरको जिम्मा पुरुषलाई दियो र घरभित्रको जिम्मा महिलालाई ।
घरभित्रै रमाउनु, आफ्नो अन्तर्मनमा डुब्नु, भित्रको खुशी महसुस गर्न सक्नु र भित्रको शान्ति र आनन्दमा रमाउनु महिला गुण हुन् । देश चलाउने, चन्द्रमामा पुग्ने, राजनीतिको चिन्ता, नेतृत्व सम्हाल्ने र ठूला ठूला आयोजनाको डिजाइन गर्ने काम मेरो हो भन्ने ठान्छ पुरुष स्वभाव । जति बाहिरको प्रगतिमा सफलता हात पारे पनि घरभित्र पुगेर श्रीमतीको हातले बनाएको तातो चियाको चुस्कीमा भेट्ने मिठास र आनन्द अनि छोराछोरीको प्रेमल अंकमाल र तिनीहरूको निर्दोषपनाले दिने खुशी कुनै चुनाव जितेभन्दा कम ठूलो खुशी हुने छैन । एक कप चियाले खुशी दिन सक्ने, एउटा स्पर्शले आनन्द दिन सक्ने, एउटा मुस्कानले संसार बिर्साउन सक्ने महिलाको प्रेम ऊर्जा के निर्भिकता होइन ? महिलाको यही निर्भिकता पहिचान गरकाले होला, विश्व सम्राट बन्ने महत्वाकांक्षा बोकेका फ्रेन्च सम्राट नेपोलियन बोनापार्टले आमाहरूलाई आग्रह गरेका थिए– मलाई असल सन्तान देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु ।
तर अहिलेका महिलालाई यतिले मात्र खुशी र आनन्द दिन नसकेको तथ्य एकातिर छ भने कुनै अवसर र पहुँच नपाएका महिला वर्ग अझैं यही समाजमा भएकाले महिलाद्वारा प्रतिपादित नारा हो– निर्भिक बन महिला । विभिन्न हिंसा भोग्न बाध्य, घरेलु हिंसादेखि लिएर ठूला, सभ्य, खानदानी र विशिष्ट मानिने परिवार, घर र समाजमा पनि महिला हिंसाको सिकार भइरहेका उदाहरण प्रशस्त भेटिन्छन् । महिला श्रमिकको गणना नहुने, उस्तै कामको पारिश्रमिक महिला भएकै कारण महिलाले कम पाउने आदि आदि विभेद कायम रहिरहेको प्रसंगमा महिला अधिकारकर्मीले आफ्ना लागि, आफ्नो अधिकार र आफ्नो पहिचानका लागि आवाज उठाउन निर्भिक बन भनेर प्रेरणा प्रदान गर्न यो नारा तय भएको हुनुपर्छ ।
घर खुशी राख्ने, घर नै मन्दिर बनाउने हाम्रा नेपाली महिला सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक हरेक क्षेत्रमा त्यत्ति नै अगाडी छन् । इतिहास हेर्ने हो भने पनि नेपाल र विश्वमा महिला सशक्तीकरण र निर्भिक महिलाका धेरै उदाहरण छन् । मेडम क्युरी, फ्लोरेन्स नाइटिंगेल, मदर टेरेसा, हिलारी क्लिन्टन, सोनिया गान्धीदेखि लिएर मंगलादेवी सिंह, सहाना प्रधान, पासाङल्हामु शेर्पा, अनुराधा कोइराला, पुष्पा बस्नेत, दिलशोभा श्रेष्ठ जस्ता उदाहरणीय महिला लिन सकिन्छ जसले आफ्नै मेहनत, प्रेम, लगन र कर्मका साथ समाजलाई योगदान दिए र दिएका छन् । हुन त अहिले धेरै कार्यक्रम महिला सुविधालाई ध्यानमा राखेर गरिएका हुन्छन्, महिला आरक्षणको व्यवस्था गरिएको छ सबै  क्षेत्रमा । महिला हुनाका कारणले गरिने भेदभाव हटेको छ । महिलाले अवसर र सम्मान पाउन थालेका छन् । महिला सक्षम हँुदा घर, परिवार, राष्ट्र र विश्वमा परिवर्तन आएको छ । हरेक क्षेत्रबाट विकासका ढोका खुलेका छन् । नेपालका उच्च तहमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला छन् । २९ प्रतिशत महिला संसद्मा सहभागी छन् । सरकारी सेवामा ३६ प्रतिशत महिला सहभागी छन् भने राजनीतिक सहभागिता हेर्ने हो भने पनि एसियाली मुलुकमा अग्रस्थान नेपालकै देखिन आउँछ ।
महिलाहरुमा भएको निर्भिकता कायम राख्न समाजले महिलालाइ उपेक्षा नगर्ने र  कमजोर नठान्ने बरु  सिर्जनात्मक, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील, बाहिरी तथा भित्री सौन्दर्यले भरपुर अनि घरायसी एवं बाहिरी सबै क्षेत्रमा खट्न सक्ने साहसीरूपमा कदर गर्न सिकेमा मात्र समाज र राष्ट्रले महिलामाथि गरेको सच्चा सम्मान ठहरिनेछ । राष्ट्रले आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक सबै क्षेत्रमा विकास पाउनेछ । आजसम्म आइपुग्दा सबै क्षेत्रमा महिला सक्षम भइसकेका छन् । एउटा महिला सक्षम हँुदा उसले अवसर पाउँदा, विकासका काममा निर्णयको भूमिका पाउँदा समाजलाई, देशलाई कति सजिलो भएको छ, कति सकारात्मक परिवर्तन आएका छन् भन्ने कुरा हाम्रै सामु छर्लंग भएको कुरा हो । यसको अर्थ सबै महिला सक्षम भइसके भन्ने स्थिति भने छैन । हाम्रा राष्ट्रका कुना–कुनासम्मका, विकट क्षेत्रका महिलालाई यी सबै क्षेत्रमा सुरक्षित गर्न नसक्दासम्म अधिकार र अवसरको मूल्य रहँदैन ।
बर्सेनि महिला दिवस मनाइरहँदा र महिलाकै निम्ति विभिन्न कार्यक्रम आयोजना गरिरहँदा अनि  सडकमै उत्रेर अनेकौं नारा र ब्यानरको प्रस्तुति दिइरहँदा, मानव अधिकार र महिला अधिकारका लागि खुलेका कैयौं संस्था यसमा लागिरहँदा पनि महिलामाथिको विभेद घटेका छैनन् बरु विभेदका रूप फेरिएर प्रस्तुत भएका छन् । किन त ? किनकि विभेद रोकिने शिक्षा हामीले दिन सकेनौँ । मानव चेतनामा जागरण ल्याउने कार्यक्रम प्रस्तुत गर्न सकेनौं । हामीले सरकारलाई सराप्ने र कानुनको सहारा लिने अनि समानता भन्दै विभेदलाई बढी प्राथमिकतामा राख्यौँ ।
विभेद छैन, हुनुहँुदैन भनेर मानिसलाई मानिस नै हुने शिक्षा हामीले दिएनौंँ । शिक्षा त्यो समूह र त्यो प्रवृत्तिलाई चाहिएको छ जसले आफू मानिस हुँ, चेतना हुँ, करुणा हुँ, प्रेम हुँ र परोपकारले भरिएको व्यक्ति हुँ भन्ने थाहा पाएको छैन र आफ्नो क्षणिक स्वार्थ पूरा गर्नका लागि विभेदमा उत्रन सक्छ । त्यसो हो भने कस्तो शिक्षा र ज्ञान मानिसभित्र जाग्न सकेमा विभेद निर्मूल हुन्छ त ? विभेद घटनामा होइन, मनस्थितिबाट उत्पन्न हुन्छ । विभेद परिस्थितिले सिर्जना हुँदैन, मनस्थितिमा अहंकार र महत्वाकांक्षा उत्पन्न भएपछि र बेहोसी भएपछि मनस्थितिबाट विभेद जाग्छ  । मनस्थितिमा नकारात्मक विचार उत्पन्न भएपछि त्यो व्यक्तिले आफूले विभेद गरेको छु भन्नेसम्म थाहा पाउँदैन । त्यो मनस्थितिलाई शान्त पार्ने शिक्षा जरुरी छ । मनस्थितिलाई शान्त र प्रेमल बनाउने शिक्षा जरुरी छ । चेतनाको स्तर उकास्ने शिक्षा खाँचो छ तबमात्र विभेद निर्मूल हुनेछ । अहोभावमा जिउने कला सिकाउन सके विभेद निर्मूल हुनेछ ।
भेदभाव मानवीय स्वभाव होइन । नम्रपना, मीठो बोली, कर्मशील, इमान्दारिता, कल्याणकारी आदि मानिसले जन्मिँदै लिएर आएका गुण हुन् । यी गुणले पूर्ण हुन थप केही प्रयास गर्नुपर्दैन । मात्र उसमा भेदभावको भावना विकास नभए पुग्छ । मानवीयताको गुणले भरिएको व्यक्तिमा धन्यवादको भावना विकास भएको हुन्छ । धन्यवादमात्र होइन, ऊ परम शान्तिको अवस्थामा पुग्छ र अहोभावमा जिउन थाल्छ । आफ्नो स्वभाव पहिचान गराउनेखालका आध्यात्मिक या जीवन रूपान्तरणका के शिक्षा दिएका छौं हामीले विभेद नजागोस् व्यक्ति या समाजमा भनेर ? आचार, स्वभाव र व्यबहार नसुध्रेसम्म विभेद निर्मूल हुँदैन । हाम्रो संस्कार, शिष्ट व्यवहार र अनुशासन अनि प्रेमको शिक्षा समाजमा फैलन सके महिलाका लागि कुनै नारा र कार्यक्रम जरुरी पर्दैन । किनकि महिला निर्भिक छन्, महिलाले गर्न सक्छन् । अवश्य सक्छन् ।

प्रकाशित: २५ फाल्गुन २०७३ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App