१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड

राजविराज– मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। 

मोर्चा कार्यकर्ताहरुले गाडीमा आगजनीको प्रयाससमेत गरेका थिए।  उनीहरूले राजविराज–४ स्थित भूमिसुधार कार्यालयमा आगजनी गरेका छन्।

मृतकका पीडित परिवारहरुसँग भेटेर मलेठबाट फर्किंदै गर्दा मोर्चा कार्यकर्ताहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए। तोडफोडका कारण गाडीको सिसा फुटेको छ भने अन्य पार्टपूर्जाहरुमा समेत क्षति पुगेको छ। 

प्रहरीले गोली चलाउँदा मानवाधिकार आयोगका अधिकारीहरुले गोली चलाउन रोक्न कुनै काम नगरेको भन्दै मोर्चा कार्यकर्ताहरुले गाडीमा तोडफोड गरेका हुन्। उनीहरुले गाडीमा आगजनीको प्रयाससमेत गरेका थिए। 

स्थानीय सञ्चारकर्मी तथा अधिकारकर्मीहरुले रोकेपछि उनीहरुले गाडीमा आगजनी भने गरेनन् । पछि सुरक्षाकर्मीसहितको टोलीले गाडीसहित आयोगका पदाधिकारीहरुलाई सुरक्षित निकालेका थिए। हाल गाडी र पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेको प्रशासन स्रोतले जनाएको छ । 

यसअघि मंगलबार पनि राष्ट्रिय मानवाधिकार आयोगको बा ७ च ७४७३ नम्बरको गाडीमा समेत मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका थिए। सोमबार एमालेको मेची–महाकाली अभियान सप्तरीको मलेठस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा कार्यक्रम गरिरहँदा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन जनाको ज्यान गएको थियो। त्यतिबेला प्रहरीले दमन गर्दा मानवअधिकारकर्मीहरु कुनै प्रतिक्रिया नजाएको उनीहरुको गुनासो छ। 

यसैविच मोर्चा कार्यकर्ताले राजविराज–४ स्थित भूमिसुधार कार्यालयमा आगजनी गरेका छन्। आगजनीका कारण कार्यालय कोठाका फर्निचर समेत नष्ट भएका छन्।

त्यस्तै बिहीबार बिहानै मोर्चा कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा दर्जनभन्दा बढी गाडीहरुमा तोडफोड गरेका छन्। बन्दको अवज्ञा गर्दै गाडी चलाएको भन्दै उनीहरुले तोडफोड गरेका हुन्। तोडफोडपछि राजमार्ग क्षेत्रमा गाडी भने चल्न पाएको छैनन्। 

लगातार चौथो दिनको बन्दले सदरमुकाम राजविराजसहित जिल्लाको जनजीवन प्रभावित भएको छ। मोर्चाले आह्वान गरेको अनिश्चितकालिन सप्तरी बन्दका कारण बुधबार पनि जिल्लाका सम्पूर्ण  शैक्षिक संस्थाहरु ठप्प रहे। 

लामो तथा छोटो दूरीका सवारी साधनहरु समेत चल्न सकेका छैनन्।  बजार, पसल तथा व्यापारीक 
प्रतिष्ठानहरु समेत बन्द छन्। 

बिहानैदेखि मोर्चाका कार्यकर्ता सदरमुकाम राजविराजका सडकहरुमा टायर बालेर प्रदर्शन गरिहेका छन्। राजविराजका अतिरिक्त हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, शम्भुनाथ, कल्याणपुर, बिस्नुपुरसहितका ठाउँमा समेत मोर्चाका नेता कार्यकर्ताहरु प्रदर्शनलाई निरन्तरता दिएका छन् । 

मोर्चा कार्यकर्ताले तोडफोड गरेको राष्ट्रिय मानवाधिकार आयोगको गाडी, साथमा केन्द्रीय प्रवक्ता मोहना अन्सारी । तस्बिरः जितेन्द्रकुमार झा 
 
    
 

प्रकाशित: २६ फाल्गुन २०७३ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App