२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

स्वास्थ्यमैत्री होली : कसरी?

असत्यमाथि सत्यको विजयलाई आधार मान्दै शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयम् भष्म भएको तर शिवभक्त प्रह्लाद सकुशल रहेको किवदन्तीअनुसार होली पर्व मनाउने गरिन्छ। यसै दिनको सम्झनामा हरेक वर्षझै यस वर्ष पनि नेपालका सबै हिन्दु धर्मावलम्बीले रंगहरूको पवित्र पर्व होली मनाउने छन्। मित्रता, एकता तथा सद्भावरूपी रंगहरूको पावन पर्व होली नेपालको पहाडी भू–भागमा यही २९ गते र तराईमा ३० गते खुशी आदान–प्रदान गर्दै मनाइँदैछ। रंगीन जीवनमा रम्ने धेरै हुन्छन्, त्यही भएर धेरैले रंगको यस पर्वलाई महत्वका साथ लिने गरेका छन्। विशेषगरी होली पर्व तराईका जिल्लामा विशेष महत्वका साथ मनाइएको पाइन्छ। होलीको अवसरमा शुभकामना आदान–प्रदान मात्र नभई विभिन्न व्यंग्यात्मक कार्यक्रम तथा मटकाफोर जस्ता कार्यक्रमले होलीलाई सुसज्जित बनाउनु तराईको होलीको मुख्य विशेषता हो। धार्मिकस्थल जनकपुरमा होली पूर्णिमालाई लक्षित गरी परिक्रमा पनि गर्ने गर्छन्। बृहत् परिक्रमा १५ दिनअगावै सुरु भएकामा पूर्णिमाको दिन परिक्रमा पूरा गरी समाप्त हुनेछ। पूर्णिमाको दिन जनकपुरको परिक्रमा गरिने प्रचलन परापूर्वकालदेखि नै छ। तसर्थ पहाडको तुलनामा तराईका २२ जिल्लामा होलीलाई विशेष महत्वका साथ मनाइने गरिएको छ।

होलीका रंगको असर शरीरमा कम परोस् भन्नका लागि उपयुक्त तेल लगाएर खेल्नु राम्रो हुन्छ। कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रंग लगाउन कसैलाई पनि दिनुहुन्न्। होलीको रंगको एलर्जी भएमा रंग नखेल्नु नै उचित हुन्छ।

होलीलाई पर्वका रूपमा मनाउनुपर्छ। पर्वका रूपमा खुशी आदान–प्रदान तथा रंग अविर तथा खानपानको उपयुक्त प्रयोग गरेर मनाउने धेरै व्यक्ति भए पनि पछिल्लो समयमा होलीको नाममा धेरै नै विकृति भित्रिएको छ। होलीलाई गलत ढंगले प्रयेाग गरिएका उदाहरण प्रशस्त छन्। नशालु पदार्थ, भाङ, रक्सी सेवन नियतबस गर्ने गर्छन् साथै कतिले यसलाई जुवा तास खेल्ने आधार पनि बनाएका हुन्छन्। अत्यधिक तैलीय (चिल्लो) तथा मसालेदार पदार्थ प्रयोग गर्नाले पनि शरीरलाई हानि पुग्न जान्छ फलस्वरूप बिरामी भएर अस्पताल आउन बाध्य हुन्छन्। वास्तवमा होली पर्व खुशियालीको आधार बन्नुपर्छ, कुनै अप्रिय घटना नहोस्, कोही बिरामी नपरोस् भन्ने उद्देश्यका साथ मनाइनुपर्छ।

स्वास्थ्यका हिसावले सतर्क रहँदै होली मनाउनु जरूरी छ। होलीमा गलतरूपमा प्रयोग गरिने मादक पदार्थ सेवनले कति झगडा हुने गरेको उदाहरण प्रशस्त छ। मोबिल, मोसो, हानकिारक रंग, नालाको पानी, जाँडका थैला तथा दूषित पानीले शरीरलाई नकारात्क असर पुर्‍याउन सक्छ तसर्थ होली खेल्दा स्वास्थ्यमा असर नपर्ने गरी वा कमभन्दा कम असर पुग्ने गरी मनाउनुपर्छ।

हामीले रक्सी सेवन गरी कुटपिटका घटना, हात खुट्टा भाँच्चिएर अस्पताल भर्ना भएका धेरै घटना सुनेका/देखेका छौँ। होली खेल्दा स्वास्थ्यलाई कम असर गर्ने तरिकाले खेल्न भाङ–रक्सी जस्ता नशालु पदार्थ सेवन गर्नुहुन्न। गरिहाले पनि संयमिततवरले घरमै बसेर गर्नुपर्छ। ती नशालु वस्तु सेवन गरेपश्चात होली खेल्न बाहिर जाँदा आफू आफ्नो नियन्त्रणबाहिर गई दुर्घटनासमेत हुन सक्छ र साथीभाइमाझ झैझगडा पनि हुन सक्छ।

रंगहरू शरीरमा असर पुर्‍याउनेखालका त हुन्छन् तर गुणस्तरीय कम्पनीका रंगले शरीरमा त्यति असर पुर्‍याउँदैनन्। गुणस्तरीय रंग वैज्ञानिक दृष्टिकोणबाट शरीरलाई कम असर पुग्ने किसिमले बनाइएका हुन्छन्, रंगमा पाइने विषाक्त रसायनका अणु एकअर्कासँग कस्सिएर बाँधिएका हुन्छन् जसका कारण शरीरमा असर पर्दैन। निलो रंगमा हुने विषाक्त साइनाइड, आइरनसँग कस्सिएर बाँधिएको हुन्छ तसर्थ शरीरमा विषको कुनै प्रभाव हुँदैन। तर यी रंगले शरीरमा एलर्जी उत्पन्न गराउने प्रचुर सम्भावना रहन्छ। होलीको नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एलमुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ। त्यस्तै होलीमा गलत नियतका साथ प्रयोग गरिने मोसो, मोबिल, फोहर पानी विकृतिमात्र होइन्, यिनले शरीरमा गम्भीर नकारात्मक असरसमेत पार्न सक्छन्। फोहोर पानीले शरीरमा घातक जीवाणुको संक्रमण हुन सक्छ साथै छिटै नै एलर्जी पनि हुन सक्छ।

कसरी बच्ने?

होली खेल्दा स्वास्थ्यका दृष्टिकोणबाट आफू बच्ने र अरूलाई बचाउने भरपुर प्रयास गर्नु उचित हुन्छ, यसो गर्नाले मात्र सौहार्द्रपूर्ण वातावरणमा होली खेल्न सबैलाई आकर्षित गर्नेछ अन्यथा विनायासै व्यक्ति बिरामी हुने र झैझगडा बढ्ने सम्भावना बढ्छ। होलीका रंगको असर शरीरमा कम परोस् भन्नका लागि उपयुक्त तेल लगाएर खेल्नु राम्रो हुन्छ। कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रंग लगाउन कसैलाई पनि दिनुहुन्न्। होलीको रंगको एलर्जी भएमा रंग नखेल्नु नै उचित हुन्छ। एलर्जी भएमा तुरून्त रंगबाट टाढिने तथा स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उपचार गराउनुपर्छ।

साथै होली खेल्दा घरका भित्ता नबिग्रने गरी एक खुला ठाउँमा, त्यो पनि आफूले चिनेका साथीभाइ तथा आफन्तसँग मात्र खेल्नु उपयुक्त हुन्छ, नचिनेको व्यक्तिलाई, होली खेल्न नचाहने व्यक्तिलाई होलीको रंगले रंग्याउनु हँुदैन। यसले विवाद बढ्न गई झगडा पर्न सक्छ भने यो कानुनका हिसाबले पनि गलत हुन जान्छ।

अभिभावकले हेक्का राख्नुपर्ने विषय

बालबालिका कतै खुला छतमा त होली खेलिरहेका छैनन्? छन् भने तुरुन्त खुला चौरमा होली खेल्न सम्झाउनुहोस्!

कतै साथीहरूको लहैलहैमा मादक पदार्थ त सेवन गरेका छैनन्? छन् भने रोक्नुहोस्, अनि घरमा नै आराम गर्न सम्झाउनुहोस्।

घरमा कतै अत्यधिक चिल्लो प्रयोग गरी परिकारहरू तयारी हँुदैछन्? छन् भने सतर्क हुनुहोस्। संयमितरूपमा यसको सेवन गरौं।

होली खेल्ने क्रममा बालबालिका कतै घाइते त भएका छैनन् वा एलर्जी त भएको छैन्? छन् भने तुरुन्त अस्पताल लैजानुहोस्।

रंग किन्दा चनाखो हुनुहोस्। गुणस्तरीय रंगमात्र खरिद गर्नुहोस्।

अन्त्यमा, होलीलाई एकता, मित्रता, मेलमिलाप, सद्भावको आधार, सत्यको प्रतीक तथा खुशियालीको पर्वका रूपमा लिएर संयमित भई स्वास्थ्यमा असर नपुग्ने गरी, भौगोलिक, धार्मिक, साम्प्रदायिक तथा जातीय सहिष्णुता कायम रहने गरी राष्ट्र शान्तिको कामनासहित मनाउनु नै आजको आवश्यकता हो। यसलाई सबैले मन्न गर्न जरूरी छ।

निम्स नेसनल हस्पिटल दमकमा कार्यरत

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App