१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

आनन्दबजारमा अपहरित आनन्द

भारतीय हेपाहा नीतिको पछिल्लो उदाहरण बन्न पुगेको छ- कैलालीको सीमावर्ती पुनर्वास नगरपालिकास्थित आनन्दबजार। भारतीय प्रहरीले हानेको गोलीले नेपाली युवक गोविन्द गौतमको मृत्युले नेपाल–भारत सम्बन्धको अवस्था पुनः सम्भि्कन बाध्य बनाएको छ।

नेपालमा हुने प्रायः छलफलमा भारतका कारण यहाँ कहिल्यै शान्ति नआउने चर्चा चल्ने गर्छ। भूगोलले निकटतम त्यस छिमेकी कुनै न कुनै रूपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर यो शान्त भूमिलाई अस्थिर बनाइरहन चाहन्छ, यो डिस्कोर्स नयाँ होइन। भारत स्वयं अनेकन स्वार्थले गाँजिएकाले उसका कारण कुनै न कुनै वितण्डा भइरहन्छ।

सप्तरीमा चार नेपालीको ज्यानमात्र गएन, हाम्रो मनसमेत खण्डित हुने अवस्था छ। यो परिस्थितिमा हामी नेपाली नै आपसमा मिलौं। आन्तरिक मामिलामा भारत वा अन्य कुनै मुलुकलाई प्रवेश गर्न नदिऔं।

सीमावर्ती पुनर्वास नगरपालिका-८ आनन्दबजारनजिक कल्भर्ट निर्माणको विवादमा भारतीय प्रहरीले गौतममाथि गोली प्रहार गरेपछिका घटनाले दुई देशबीचको सम्बन्ध अहिले फेरि चर्चाको विषय बन्न पुगेको हो। त्यस क्षेत्रका आक्रोशित नेपालीले कञ्चनपुर र कैलालीमा बिहीबार र शुक्रबार निरन्तर आक्रोशपूर्ण प्रदर्शन गरेका छन्।

सरकारले गौतमलाई सहिद घोषणा गर्ने भएपछि मात्र आक्रोश केही मत्थर भएको देखिन्छ। यसपटकको भारतीय हस्तक्षेपले यसअघि उसले गर्दै आएको बलमिच्याइँलाई स्मरण गराइदिएको छ। त्यतिमात्रै नभएर हाम्रो राजनीतिक नेतृत्वको अक्षमतासमेत प्रकट भइरहेको छ।

सीमामा विवाद भएर एक व्यक्तिको ज्यान गइसक्दा पनि भारतीय दूतावासले टि्वटरमार्फत भन्यो, …त्यहाँ एसएसबी (भारतीय सीमा सुरक्षा बल) ले गोली चलाएको प्रस्टरूपमा अस्वीकार गर्छ।' भारतीय दूतावासका अधिकारीको यस अभिव्यक्तिले उनीहरूको मिचाहापन थप उदांग पारिदिएको छ। आधा वर्षजति नेपालमा अनाहकमा लगाएको नाकाबन्दीलाई पनि उनीहरूले यसरी नै निरन्तर अस्वीकार गर्दै आएका थिए। भारतले अहिलेसम्म आफूले नाकाबन्दी नगरेको बताउँदै आएको छ। तर, नाकाबन्दीकै बेला भारतको माथिल्लो संसद् राज्यसभामा भएको छलफलमा विदेशमन्त्री सुष्मा स्वराजले बाध्य भएर 'यो नै पहिलो नाकाबन्दी होइन' भन्नुपरेको थियो। विपक्षी सांसदको आलोचना खप्न नसकेर यसअघि पनि नाकाबन्दी लगाइएको थियो भन्ने जबाफबाट पछिल्लो पटकको नाकाबन्दीलाई ढाकछोप गर्ने प्रयास गरिएको थियो। 

सीमा क्षेत्र व्यवस्थित नबनाएर नेपाली भूमि हडप्ने रणनीति भारतले अपनाएको पटकपटक देखिएको छ। भारतीय सुरक्षाकर्मीको कुटाइ खाने व्यक्ति सीमा क्षेत्रमा धेरै छन्। कतिपय खबर राष्ट्रिय रूपमा आउँदैनन्, सूचना ढिलो प्राप्त हुन्छ। आइपुगे पनि अहिलेको जस्तो संवेदनशीलता देखिँदैन। अहिलेसम्म भारतीय हेपाइ जति हुँदा पनि नेपालीले छिमेकी भएका नाताले सामान्य घटनाका रूपमा लिँदै आएका हुन्। तर, गत वर्षको नाकाबन्दीले नेपालीलाई हदैसम्म पीडित तुल्याएको छ। त्यस घटनाले सारा नेपालीको चित्त दुःखेको छ। यस्तो परिस्थितिमा देशको सीमाभित्रै आएर भारतीय प्रहरीले गोली चलाउने र हत्यासम्म गर्ने घटनालाई कुनै अर्थमा पनि एउटा सार्वभौम मुलुकले स्वीकार गर्न सक्दैन।

सीमा क्षेत्रमा भारतीय प्रहरीले आफूखुसी नेपालीलाई अपहरणको शैलीमा उठाएर लगेका घटना पनि छन्। नेपालगन्ज वा अन्य सीमावर्ती सहरका कतिपय नागरिक यस्तो घटनाको सिकार बन्दै आएका छन्। नेपालगन्जका मुसलमान समुदायका केही व्यक्तिले आफूमाथि यस्तो ज्यादती भएको यो पंक्तिकारलाई बताएका थिए।

भारतीय प्रहरी बन्दुकसहित नेपाली सीमाभित्र प्रवेश गर्नु त सामान्य घटनाजस्तो भइसकेको छ। कतिपय बेलामा सर्वसाधारणले आपत्ति प्रकट गरी भारतीय प्रहरीलाई पक्राउ गरेपछि मात्र हाम्रो सुरक्षानिकाय सक्रिय हुन्छ। तर, तिनमाथि कुनै कारबाही नगरी सकुशल फर्काउने गरेको देखिन्छ। केही वर्षअघि राजधानी काठमाडौंको नयाँबानेश्वरस्थित सिडिओ टोलमा भारतीय प्रहरीले आएर छापा मारेको घटना अहिले पनि धेरैको सम्झनामा छ।

प्रायः नेपालीमाथि भारतीय सुरक्षाकर्मीले ज्यादती गरे पनि त्यसमाथि नेपाल सरकारले सशक्त ढंगले कुरा उठाउँदैन। आनन्दबजार घटनामा समेत नेपाल सरकारले बलियोसँग आफ्ना कुरा राखेको छैन। यसबारे आपत्ति प्रकट गर्नसमेत उसले समय लगायो। त्यतिमात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रस्ट शब्दमा यसको विरोध गर्नुपर्ने थियो। तर, उनी मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग कुरा गरेर पन्छिए। नेपालका प्रधानमन्त्रीले मोदीका सुरक्षा सल्लाहकारसँग कुरा गर्ने होइन, आफ्नो पदीय मर्यादाको पनि ख्याल राख्नुपर्छ।

नेपाल सरकार र नेपाली नेताले मर्यादाको ख्याल नगरेकै कारण भारतीय हेपाइ कहिल्यै नरोकिएको हो। धेरै पटक हाम्रा मन्त्री झन्डा हल्लाउँदै भारतीय दूतावासका कर्मचारीले आयोजना गरेको रात्रिभोजमा हाजिर हुन पुगेका छन्। छक्क पर्ने दृश्य देखिन्छ त्यहाँ। हामी अलग देश हौं भन्ने भान हुनु आवश्यक छ। भारतीय दूतावासलाई जुन तहको सुविधा र पहुँच दिइएको छ, त्यसले यहाँ कूटनीतिक रूपमा भन्दा पनि शासकीय एकाइका रूपमा काम गरिरहेको प्रस्ट देखिएको छ।

भारतले नेपालभित्रका ठूला आयोजना ओगटेर बस्छ, तिनलाई सम्पन्न गर्नतिर लाग्दैन। तर, चार–पाँच करोडसम्मका आयोजना ऊ आफैंले गाउँगाउँसम्म पुगेर कार्यान्वयन गर्छ। भारत आफैंलाई एम्बुलेन्सको अभाव छ। केही अघि एकजना आदिवासीले १० किलोमिटरसम्म पत्नीको लास बोकेर हिँडेको दारुण दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। भारतबाट नेपालले किन एम्बुलेन्स लिने? सानातिना सहयोग किन लिने? यस्तो दृश्यले यस्तै प्रश्न उब्जाउँछ। नेपालले आफ्ना आवश्यकता हेरेर–बुझेर आफैं पूरा गर्दै जान सक्नुपर्छ।

नेपाल-भारतबीचको सम्बन्धलाई परम्परागत हिसाबमा होइन, अब नयाँ परिस्थितिलाई हेरेर एउटा सार्वभौम मुलुकले गर्ने व्यवहारअनुसार परिभाषित गर्नुपर्छ। भारतले जहिल्यै पनि खुला सीमाका कारण नेपालीलाई फाइदा भएको बताउँदै आएको छ। यथार्थमा हामीलाई फाइदा भएको छ वा घाटा? यसको पनि अध्ययन र छिनोफानो गर्ने बेला आएको छ। हामी दुई देश हौं भने दुई देशकै रूपमा व्यवहार पनि हुनुपर्छ। भारतसँगै छुट्टिएर गएका बंगलादेश र पाकिस्तानका सीमा व्यवस्थित छन् भने नेपालले खुला राखिराख्नुपर्ने आवश्यकता छैन।

नेपालीले भारतमा गएर सजिलै काम गर्न पाउँछन्, त्यसैले सीमा खुला राख्नुपर्छ भन्ने सोचको कुनै अर्थ छैन। हाम्रा नेपाली उता जानु र उताका यता आएर काम गर्नुलाई बराबरीको रूपमा हेर्नुपर्छ। तथ्यांकले पनि देखाइसकेको छ, भारतबाट नेपालमा जति रेमिट्यान्स आउँछ त्योभन्दा धेरै गुणा बढी उता जान्छ। त्यसैले नेपालीले नै यहाँ काम गरे भने अरबको तातोमा गएर परिवारका लागि कमाइ गर्नुपर्ने बाध्यता पनि हट्छ।

हाम्रा नेताको लुब्ध प्रवृत्तिले नेपाललाई जहिल्यै समस्या परेको छ। तिनैका कारण जहिल्यै नेपाल हेपिएको छ। कुनै गतिलो नेताले शासनसत्ताको बागडोर लिने र भारतलाई एउटा छिमेकी मुलुकको हैसियतजति मात्रै पहुँच दिने हो भने अहिलेको अवस्थामा सुधार आउँछ।

काठमाडौंस्थित भारतीय कूटनीतिक कर्मचारीह प्रायः नेपालको चिन्ता गरेको जस्तो देखाउँछन्। पूर्वराजदूत रन्जित रेले जाने बेलामा पनि सोधे, 'अबको १० वर्षमा नेपालको अवस्था कस्तो होला?' नेपालीले आपसमा मिलेर काम गर्ने हो भने अबका १० वर्षमा नेपालको अवस्था भारतको भन्दा उम्दा हुन्छ। तर, यहाँको राजनीति गिजोलेर भारतले जहिल्यै समस्या बढाइरहन्छ!

जहिलेजहिले नेताहरू मिलेर अघि बढेा छन्, राजनीति पनि सफलतातर्फ उन्मुख भएको देखिन्छ। नेपालले प्रगति गर्न सक्ने छाँटकाँट पनि देखिएको छ। तर, भारतीय इसारामा सरकार परिवर्तनका खेल भएपछि त्यसले जहिल्यै यहाँको राजनीति सङ्लिन समय लागेको छ। हाम्रा नेताहरू भारतले उचालेकै आधारमा उचालिन्छन्। तिनले विरोधीलाई पनि सरकारमा रहेर काम गर्न दिए भने कम्तीमा अर्को पटक आफूले सहज रूपमा सरकार चलाउन पाउने थिए। यो सोच र समझदारीको अभावले भारतलाई जहिल्यै नेपालमा गिर खेल्ने मौका दिएको छ।

हाम्रा नेताले भारतलाई प्रस्ट शब्दमा तिमीले नेपालभित्र के गर्ने भन्ने चिन्ता गर्नुपर्दैन भन्न सक्नुपर्छ। जसरी भारतीय नेता र कर्मचारीले आफ्नो स्वार्थ हेर्छन्, नेपाली नेता र कर्मचारीतन्त्रले पनि मुलुकका निम्ति त्यत्तिकै स्वार्थी हुनु जरुरी छ। एउटा सार्वभौम मुलुकभित्र पसेर नागरिकमाथि गोली हानी हत्या गरिएको यो मुद्दालाई सामान्य घटनाका रूपमा चित्रण गर्ने होइन, कडाइका साथ प्रस्तुत हुनुपर्छ। भारतीय दूतावासका कर्मचारी जसले त्यहाँ गोली चलेको होइन भनेका छन्, तिनलाई …पर्सना ननग्राटा' घोषित गरी फर्काउने पहल गर्न सक्नुपर्छ। भारतको गोलीले मारिएकालाई सहिद घोषणा गरेर मात्र पुग्दैन।

नेपालमा शान्ति कायम गर्ने हो भने भारतसँगको सीमा विवाद टुंग्याउने र सीमालाई व्यवस्थित गर्नतिर लाग्नुपर्छ। खुला सीमाको अवधारणाबाट नेपाल अघि बढ्ने बेला भइसकेको छ। नेपालले भूपरिवेष्टित मुलुकका रूपमा पाउने सीमा नाकाको सुविधामात्र लिए पुग्छ। आफ्ना नागरिकका निम्ति यहीं रोजगारी सिर्जना गर्नतिर लाग्न सक्दा पनि भारतीय हेपाइ कम हुँदै जान्छ।

यही खुला सीमाका कारण हाम्रो मधेसका समस्याप्रति मुलुकको ध्यान गएको छैन। आन्तरिक समस्यामा भारतले बढ्ता भूमिका खोजेका कारण ती समस्या हाम्रा होइनन् जस्तो भएको छ। मधेसकै समस्यामा भारतले नाकाबन्दी लगाएपछि आन्तरिक दूरी बढाउन बल मिलेको छ। अहिले सप्तरीको मलेठमा एमाले सभाको सिलसिलामा चार नेपालीको ज्यानमात्र गएन, हाम्रेा मनसमेत खण्डित हुने अवस्था आएको छ। यो परिस्थितिमा हामी नेपाली नै आपसमा मिलौं। आन्तरिक मामिलामा भारत वा अन्य कुनै पनि मुलुकलाई प्रवेश गर्न नदिऔं। यसो गर्न सकेमा यहाँको आनन्दमा कुनै किसिमको ग्रहण लाग्ने छैन।

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App